सीधै सामग्रीमा जाने

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ​—भाग २: इलेक्ट्रोनिक डिभाइसबाट कि किताबबाट?

छोराछोरीले पढ्‌ने बानी बसाल्नु किन महत्त्वपूर्ण छ​—भाग २: इलेक्ट्रोनिक डिभाइसबाट कि किताबबाट?

 तपाईँका छोराछोरीलाई केबाट पढ्‌न मन पर्छ: किताबबाट कि इलेक्ट्रोनिक डिभाइसबाट?

 थुप्रै केटाकेटीलाई मोबाइल, ट्याबलेट चलाउन मन पर्छ। डाक्टर जिन एम. ट्‌विन्जि यस्तो लेख्छिन्‌: “आजकालका केटाकेटीलाई सानैदेखि मोबाइल, ट्याबलेट चलाउन सिकाइन्छ। उनीहरूलाई एक क्लिक गरेर लिङ्‌क खोल्न वा स्क्रोल गरेर अर्को पेजमा जान सजिलो लाग्छ। त्यसैले उनीहरूलाई किताबबाट पढ्‌न झ्याउ लाग्छ।” a

 इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌नुका फाइदाहरू पक्कै छन्‌। बीस वर्षका जोन यसो भन्छन्‌: “मेरो स्कुलमा डिजिटल किताबबाट पढाइन्थ्यो। म आफूलाई चाहिने जानकारी सर्च गरेर तुरुन्तै भेट्टाउन सक्थेँ।”

 इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌नुका अरू फाइदा पनि छन्‌। जस्तै: तपाईँले औँला चलाएकै भरमा शब्दको अर्थ भेट्टाउन, अडियो बजाउन, भिडियो हेर्न वा कुनै लिङ्‌क थिचेर थप जानकारी पाउन सक्नुहुन्छ। तर के त्यसको मतलब छापिएको किताबबाट पढ्‌नुको कुनै फाइदा छैन भन्‍ने हो?

 केही मानिसलाई गहिरिएर अध्ययन गर्नको लागि छापिएको किताबबाट पढ्‌न मन पर्छ। किन?

  •   ध्यान दिन सजिलो। किशोरावस्थाका नेथन यसो भन्छन्‌: “मोबाइल, ट्याबलेटबाट पढ्‌दा मेसेज अनि नोटिफिकेसनहरू आइरहन्छ, जसले गर्दा म ध्यान दिएर पढ्‌नै सक्दिनँ।”

     बीस वर्षकी कारेनलाई पनि त्यस्तै हुन्छ। तिनी भन्छिन्‌: “मोबाइल वा ट्याबलेटबाट पढ्‌न भनेर बस्दा म अरू-अरू एपहरू चलाउन वा गेमहरू खेल्न पुग्छु।”

     बाइबलको सिद्धान्त: ‘समयको पूर्ण सदुपयोग गर।’—कलस्सी ४:५.

     यसबारे सोच्नुहोस्‌: इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌दा वा अध्ययन गर्दा ध्यान भङ्‌ग हुने कुरा आयो भने तपाईँका छोराछोरी के गर्छन्‌? त्यसमै अलमलिन्छन्‌ भने तपाईँ तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ?

     सुझाव: होमवर्क गर्ने बेला छोराछोरीले डिभाइसमा अरू कुराहरू चलाउन थाले भने होमवर्क सकाउन अझ धेरै समय लाग्छ र चाहेको कुरा गर्नलाई समय नै बाँकी रहँदैन भनेर तिनीहरूलाई बुझाउनुहोस्‌।

  •   बुझ्न सजिलो। साँचो आमाबुबा बन्‍नुहोस्‌ (अङ्‌ग्रेजी) किताब यसो भन्छ: “थुप्रै अध्ययनले देखाएअनुसार छापिएको किताबबाट पढ्‌दा जत्ति राम्ररी बुझ्न सकिन्छ, इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌दा त्यत्ति राम्ररी बुझ्न सकिँदैन।”

     यसो हुनुको एउटा कारण हो, इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌दा मानिसहरू प्रायजसो सोचविचार गरेर पढ्‌नुको सट्टा सरसरती पढ्‌ने गर्छन्‌। लेखक निकोलस कार यसो भन्छन्‌: “हामी इन्टरनेट चलाउँदा सकेसम्म छोटो समयमा धेरै जानकारी पाउन चाहन्छौँ।” b

     हुनत कहिलेकाहीँ सरसरती पढ्‌नु फाइदाजनक हुन सक्छ। तर त्यसो गर्दा एउटा समस्या हुन सक्छ। निकोलस भन्छन्‌: “हामीलाई सरसरती मात्र पढ्‌ने बानी बस्न सक्छ।” तपाईँका छोराछोरीलाई पनि यस्तै बानी बस्यो भने तिनीहरूले पढेको कुरा राम्ररी बुझ्न सक्दैनन्‌।

     बाइबलको सिद्धान्त: “हरहालतमा समझ हासिल गर।”—हितोपदेश ४:७.

     यसबारे सोच्नुहोस्‌: तपाईँ छोराछोरीलाई इलेक्ट्रोनिक डिभाइस वा किताबबाट कुनै विषयमा गहिरिएर अध्ययन गर्न कसरी मदत गर्न सक्नुहुन्छ?

     सुझाव: सन्तुलित हुनुहोस्‌। किताबबाट पढ्‌नु नै राम्रो हो वा इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌नु नै राम्रो हो भन्‍ने सोचाइ नराख्नुहोस्‌। दुवैका आ-आफ्नै फाइदाहरू छन्‌। भन्‍ने नै हो भने कुनै कुरा बुझिएन भने इलेक्ट्रोनिक डिभाइसमा त्यसको अर्थ खोज्न सकिने फिचर हुन्छ। त्यसैले छोराछोरीलाई किताब र इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌नुका फाइदा र बेफाइदाबारे बताउनुहोस्‌। यो कुरा पनि नबिर्सनुहोस्‌, प्रत्येक बच्चाको सिक्ने क्षमता फरक हुन्छ।

  •   सम्झन सजिलो। साइन्टिफिक अमेरिकन पत्रिकामा छापिएको एउटा लेखमा फरस जेबरले यसो भने: किताबबाट पढ्‌दा भन्दा इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌दा “दिमाग अझ धेरै थाक्छ ... अनि यसले गर्दा पढेको कुरा सम्झन गाह्रो हुन्छ।”

     जस्तै: किताबबाट पढेको कुरा हाम्रो दिमागमा चित्रको रूपमा बस्छ। पछि त्यही कुरा खोज्नुपऱ्‍यो भने पानाको कतातिर त्यो कुरा थियो भनेर सम्झन सक्छौँ।

     साथै अनुसन्धानकर्ताहरूले के पत्ता लगाएका छन्‌ भने किताबबाट पढ्‌दा पढेको जानकारी दिमागमा ठप्प बस्छ र सम्झन सजिलो हुन्छ। किनभने मानिसहरूलाई किताबबाट सिक्न सजिलो लाग्छ।

     बाइबलको सिद्धान्त: “बुद्धि र सोच्ने क्षमता जोगाइराख।”—हितोपदेश ३:२१.

     यसबारे सोच्नुहोस्‌: के तपाईँका छोराछोरीलाई पढेको कुरा बुझ्न वा सम्झन गाह्रो लाग्छ? लाग्छ भने तिनीहरूलाई कसरी मदत गर्न सक्नुहुन्छ? किताबबाट पढ्‌न दिँदा बेस हुन्छ कि?

     सुझाव: छोराछोरीलाई केबाट पढ्‌न मन पर्छ भन्‍ने कुरामा होइन बरु तिनीहरूले पढेको कुरा कत्तिको राम्ररी बुझ्दै छन्‌, त्यसमा ध्यान दिनुहोस्‌। इलेक्ट्रोनिक डिभाइसबाट पढ्‌नु नै राम्रो हो भनेर कोही-कोही बढाइचढाइ गरेर भन्छन्‌ तर वास्तविकता अर्कै हुन्छ।

a iGen भन्‍ने किताबबाट।

b The Shallows भन्‍ने किताबबाट।