सीधै सामग्रीमा जाने

परिवारका लागि

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?

 तपाईँको छोरा वा छोरी स्कुल जान खोज्दैन; उसलाई पढ्‌न, होमवर्क गर्न पनि मन पर्दैन। नतिजा कस्तो हुन्छ? अङ्‌क झन्‌झन्‌ घट्‌दै जान्छ र पढाइप्रति उसको रुचि पनि हराउँदै जान्छ। त्यसोभए तपाईँ उसलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत दिन सक्नुहुन्छ?

 तपाईँले के बुझ्नुपर्छ?

 दबाब दिँदा समस्या झनै बढ्‌छ। आफ्नो छोरा वा छोरीलाई बढी नै दबाब दिनुभयो भने उसलाई स्कुल र घर दुवै ठाउँमा तनाव हुन्छ। आफ्नो तनाव कम गर्न उसले झूट बोल्न सक्छ, जाँचमा नराम्रो अङ्‌क आएको कुरा आमाबुबाबाट लुकाउन सक्छ, रिपोर्ट कार्डमा तपाईँको हस्ताक्षरको नक्कल गरेर लैजान सक्छ वा स्कुल छुटाउन सक्छ। यसरी समस्या झनै बढ्‌छ।

 इनाम दिँदा नतिजा सोचेजस्तो नहुन सक्छ। आन्ड्रे नाम गरेका एक बुबा यसो भन्छन्‌: “छोरीले जाँचमा राम्रो अङ्‌क ल्याउँदा उसलाई अझ हौसला दिन हामी उसलाई केही इनाम दिने गर्थ्यौँ। तर त्यसो गर्दा उसको ध्यान खालि इनाममै मात्र गयो। पछि त जाँचमा राम्रो अङ्‌क आएन भने राम्रो अङ्‌क ल्याउन नसकेकोमा होइन, बरु इनाम नपाउने भएँ भन्‍ने कुरामा पो बढी चिन्ता गर्न थाली।”

 शिक्षकहरूलाई दोष दिएर केही फाइदा हुँदैन। यसो गर्दा तपाईँको छोरा वा छोरीलाई जाँचमा राम्रो अङ्‌क ल्याउन परिश्रम गर्नु आवश्‍यक छैन भन्‍ने भान पर्न सक्छ। उसले आफ्नो गल्तीको दोष अरूमाथि थोपर्न समेत सिक्न सक्छ अनि आफ्नो समस्या अरूले सुल्झाइदिएको आस गर्न थाल्छ। छोटकरीमा भन्‍नुपर्दा, वयस्कहरूमा हुनै पर्ने एउटा सीप विकास गर्नदेखि ऊ चुक्न सक्छ; त्यो हो: आफ्नो कामको लागि आफै जिम्मेवार हुने।

 तपाईँ के गर्न सक्नुहुन्छ?

 आफ्नो भावनालाई काबूमा राख्नुहोस्‌। छोरा वा छोरीले जाँचमा राम्रो अङ्‌क नल्याउँदा रिस उठ्यो भने त्यसबारे तुरुन्तै कुरा गर्नुको साटो पछि कुरा गर्नुहोस्‌। ब्रेट नाम गरेका एक बुबा यसो भन्छन्‌: “पछि शान्त भएको बेला अनि छोराछोरीको ठाउँमा आफूलाई राखेर कुरा गर्दा नतिजा असाध्यै राम्रो भएको हामीले पाएका छौँ।”

 बाइबलको सिद्धान्त: “सुन्‍नलाई सधैँ तयार हुनुपर्छ, बोल्न हतार गर्नु हुँदैन अनि हतपती रिसाउनु हुँदैन।”याकुब १:१९.

 वास्तविक समस्या पत्ता लगाउनुहोस्‌। केटाकेटीले जाँचमा राम्रो अङ्‌क ल्याउन नसक्नुका कारणहरू यी हुन सक्छन्‌: स्कुलमा दादागिरीको सिकार भएकोले, स्कुल फेरेकोले, जाँचअघि वा जाँचको दौडान अत्यन्तै डराएकोले वा आत्तिएकोले, पारिवारिक समस्याले, निद्रा नपुगेकोले, राम्रो तालिका नभएकोले वा एकाग्र हुन नसकेकोले। त्यसैले आफ्नो छोरा वा छोरी अल्छी भएकोले राम्रो अङ्‌क ल्याउन नसकेको हो भन्‍ने अड्‌कल नकाट्‌नुहोस्‌।

 बाइबलको सिद्धान्त: “समझ प्रयोग गर्ने मानिस सफल हुन्छ।”हितोपदेश १६:२०.

 पढूँ-पढूँ लाग्ने वातावरण सृजना गर्नुहोस्‌। होमवर्क गर्न र पढ्‌नको लागि राम्रो तालिका बनाइदिनुहोस्‌। तपाईँका छोरा वा छोरीलाई होमवर्क गर्न कुनै कुराले नअलमलाउने (टेलिभिजन र मोबाइल पनि) ठाउँ छुट्ट्याउनुहोस्‌। होमवर्क एकैचोटि गर्न लगाउनुभन्दा अलि-अलि गरेर गर्न लगाउनुहोस्‌। यसो गर्दा उनीहरूले पढाइमा राम्ररी ध्यान दिन सक्छन्‌। जर्मनीमा बस्ने हेक्टर नाम गरेका एक बुबा भन्छन्‌: “छोराछोरीको जाँच आउँदै छ भने हामी उनीहरूलाई अन्तमा गएर घोटाउनुभन्दा उनीहरूले पढेका कुराहरू पहिलेदेखि नै अलि-अलि गर्दै सम्झन मदत गर्छौँ।”

 बाइबलको सिद्धान्त: “सबै कामको लागि उचित समय छ।”उपदेशक ३:१.

 राम्ररी पढ्‌न हौसला दिनुहोस्‌। स्कुलमा अहिले सिक्ने कुराहरूले भविष्यमा कस्तो फाइदा पुऱ्‍याउँछ भनेर छोराछोरीले जत्ति राम्ररी बुझ्यो, उनीहरूलाई पढाइमा ध्यान दिन त्यत्ति नै सजिलो हुन्छ। जस्तै: तपाईँ छोराछोरीलाई गणित विषयले पछि आफ्नो पकेट खर्च बुद्धिमानीपूर्वक चलाउन मदत गर्छ भनेर बुझाउन सक्नुहुन्छ।

 बाइबलको सिद्धान्त: “बुद्धि हासिल गर; समझ हासिल गर। . . . बुद्धिलाई अनमोल ठान।”हितोपदेश ४:५, .

 सुझाव: छोराछोरीलाई होमवर्क गर्न सघाउनुहोस्‌ तर आफैले गरिदिने चाहिँ नगर्नुहोस्‌। आन्ड्रे यसरी स्विकार्छन्‌: “हाम्री छोरी होमवर्क गर्दा केही आएन भने आफैले सोचेर जवाफ भेट्टाउने कोसिस गर्नुको साटो हामीमा भर पर्ने गर्थी।” छोराछोरीलाई आफैले होमवर्क गर्न सिकाउनुहोस्‌।