सीधै सामग्रीमा जाने

किन प्रार्थना गर्ने? के ईश्‍वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?

किन प्रार्थना गर्ने? के ईश्‍वरले मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ?

बाइबलको जवाफ

 हो, उहाँले दिनुहुन्छ। बाइबल अनि थुप्रै मानिसहरूको अनुभवले देखाएअनुसार ईश्‍वरले पक्कै प्रार्थनाको जवाफ दिनुहुन्छ। बाइबल भन्छ: “उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।” (भजन १४५:१९) तर ईश्‍वरले तपाईंको प्रार्थनाको जवाफ दिनुहुन्छ कि दिनुहुन्‍न, त्यो कुरा धेरै हदसम्म तपाईं आफैमा भर पर्छ।

ईश्‍वरलाई कस्ता कुरामा चासो छ

  •   येशू, मरियम, सन्त, स्वर्गदूतहरू वा कुनै मूर्तिलाई नभई ईश्‍वरलाई प्रार्थना गरेको। किनकि यहोवा मात्रै ‘प्रार्थना सुन्‍नुहुने’ परमेश्‍वर हुनुहुन्छ।—भजन ६५:२.

  •   ईश्‍वरको इच्छाबमोजिम प्रार्थना गरेको। उहाँको इच्छा बाइबल पढेर थाह पाउन सक्छौं।—१ यूहन्‍ना ५:१४.

  •   येशूको अख्तियारको आदर गर्दै उहाँको नाममा प्रार्थना गरेको। येशूले भन्‍नुभयो: “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—यूहन्‍ना १४:६.

  •   पूर्ण विश्‍वासका साथ प्रार्थना गरेको। आवश्‍यक छ भने अझ विश्‍वास बढाइदिन आग्रह गर्नुपर्छ।—मत्ती २१:२२; लूका १७:५.

  •   नम्र भई निष्कपट प्रार्थना गरेको। बाइबल भन्छ: “परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ।”—भजन १३८:६, NRV.

  •   निरन्तर प्रार्थना गरेको। येशूले भन्‍नुभयो: “मागिरहो अनि तिमीहरूलाई दिइनेछ।”—लूका ११:९.

ईश्‍वरलाई कस्ता कुरामा चासो छैन

  •   तपाईंको जात र राष्ट्रमा। “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।”—प्रेषित १०:३४, ३५.

  •   तपाईंको आसनमा। तपाईं बसेर, निहुरिएर, घुँडा टेकेर वा उठेर प्रार्थना गर्न सक्नुहुन्छ।—१ इतिहास १७:१६; नहेम्याह ८:६; दानियल ६:१०; मर्कूस ११:२५.

  •   चाहे आवाज निकालेर गर्नुहोस्‌ वा मनमनै। अरूले नसुन्‍ने गरी मनमनै गरेको प्रार्थनाको पनि ईश्‍वर जवाफ दिनुहुन्छ।—नहेम्याह २:१-६.

  •   चाहे तपाईंको चिन्ता सानो होस्‌ वा ठूलो। ईश्‍वरले यस्तो आग्रह गर्नुभएको छ: “सारा फिक्री उहाँमाथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”—१ पत्रुस ५:७.