सीधै सामग्रीमा जाने

के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?

के परमेश्‍वरले मलाई क्षमा दिनुहुन्छ?

बाइबलको जवाफ

 हामीले उचित कदम चाल्यौं भने परमेश्‍वरले हाम्रो पाप क्षमा गर्नुहुन्छ। बाइबलमा यहोवा “क्षमा गर्नुहुने परमेश्‍वर” हुनुहुन्छ र उहाँले “प्रशस्त गरी क्षमा” गर्नुहुन्छ भनेर बताइएको छ। (नहेम्याह ९:१७; भजन ८६:५; यशैया ५५:७) उहाँले पूर्णरूपमा क्षमा दिनुहुन्छ र हाम्रो ‘पाप मेटिदिनुहुन्छ।’ (प्रेषित ३:१९) साथै उहाँले सदाको लागि क्षमा दिनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ, “म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।” (यर्मिया ३१:३४) मतलब, उहाँ हाम्रो गल्ती कोट्ट्याइरहनुहुन्‍न; एक चोटि क्षमा दिएपछि बारम्बार दोष लगाउने र सजाय दिने गर्नुहुन्‍न।

 तर यसको अर्थ परमेश्‍वर भावनामा बहेर क्षमा दिनुहुन्छ भन्‍ने होइन। उहाँ आफ्नो स्तर कहिल्यै बदल्नुहुन्‍न। त्यसैकारण उहाँले कुनै-कुनै पाप क्षमा गर्नुहुन्‍न।—यहोशू २४:१९, २०.

परमेश्‍वरबाट क्षमा पाउन चाल्नुपर्ने कदमहरू

  1.   आफूले गरेको पापले परमेश्‍वरको स्तर उल्लङ्‌घन भएको छ भनेर स्वीकार्नुहोस्‌। हुन त तपाईंको गल्तीले गर्दा साथीभाइ र आफन्त दुःखी भएको हुन सक्छ। तर अझ महत्त्वपूर्ण कुरा, त्यस्तो गल्ती परमेश्‍वरविरुद्ध गरिएको पाप हो भनेर तपाईंले बुझ्नुपर्छ।—भजन ५१:१, ४; प्रेषित २४:१६.

  2.   परमेश्‍वरसामु आफ्नो गल्ती स्वीकार्नुहोस्‌।—भजन ३२:५; १ यूहन्‍ना १:९.

  3.   गल्ती गरेकोमा पछुतो मान्‍नुहोस्‌। “परमेश्‍वरको इच्छाअनुसार दुःखी हुँदा त्यसले पश्‍चात्ताप गर्न लगाउँछ।” (२ कोरिन्थी ७:१०) परमेश्‍वरको इच्छाअनुसार दुःखी हुनुमा पापतर्फ डोऱ्‍याउने गलत कदमहरूको लागि पश्‍चात्ताप गर्नु समावेश छ।—मत्ती ५:२७, २८.

  4.   खराब मार्ग त्याग्नुहोस्‌ र ‘परमेश्‍वरकहाँ फर्कनुहोस्‌।’ (प्रेषित ३:१९) यसको मतलब त्यस्तो पाप कुनै पनि हालतमा नदोहोऱ्‍याउनु हो। तपाईंले आफ्नो सोचाइ अनि बानी नै बदल्नुपर्ने पनि हुन सक्छ।—एफिसी ४:२३, २४.

  5.   गल्ती सच्याउन कदम चाल्नुहोस्‌। (मत्ती ५:२३, २४; २ कोरिन्थी ७:११) तपाईंको कारणले गर्दा कसैको चित्त दुखेको छ भने त्यस व्यक्‍तिसित माफी माग्नुहोस्‌। अथवा कसैको नोक्सानी भएको छ भने क्षतिपूर्ति दिन भरमग्दुर कोसिस गर्नुहोस्‌।—लूका १९:७-१०.

  6.   येशूको फिरौतीको बलिदानको आधारमा परमेश्‍वरसित माफी माग्नुहोस्‌। (एफिसी १:७) आफ्नो प्रार्थना परमेश्‍वरले सुनिदिएको चाहनुहुन्छ भने तपाईंले आफूविरुद्ध पाप गर्ने व्यक्‍तिलाई क्षमा दिनै पर्छ।—मत्ती ६:१४, १५.

  7.   यदि तपाईंको पाप गम्भीर प्रकृतिको हो भने कुनै परिपक्व व्यक्‍तिसित कुरा गर्नुहोस्‌। तिनी तपाईंलाई परमेश्‍वरसितको सम्बन्ध सुधार्न मदत गर्न सक्ने र तपाईंको लागि प्रार्थना गरिदिन सक्ने हुनुपर्छ।—याकूब ५:१४-१६.

परमेश्‍वरबाट क्षमा पाउने सन्दर्भमा गलत धारणाहरू

 “मैले यत्ति धेरै पाप गरेको छु कि म क्षमा पाउन लायककै छैनँ।”

अवैध यौनसम्बन्ध राखेका र हत्या गरेका दाऊदलाई परमेश्‍वरले क्षमा दिनुभयो

 बाइबलमा क्षमा पाउन चाल्नुपर्ने कदमहरूबारे बताइएको छ। ती कदमहरू चाल्यौं भने हामीले अवश्‍य क्षमा पाउँछौं। किनभने हाम्रो पाप जति नै गम्भीर भए पनि परमेश्‍वरले क्षमा दिन सक्नुहुन्छ। साथै उहाँले एक चोटि मात्र होइन, बारम्बार क्षमा दिनुहुन्छ।—हितोपदेश २४:१६; यशैया १:१८.

 उदाहरणको लागि, इस्राएलका राजा दाऊदले अर्काकी पत्नीसित यौनसम्बन्ध राखेका थिए र तिनको पतिको हत्या पनि गरेका थिए। तैपनि तिनले क्षमा पाए। (२ शमूएल १२:७-१३) प्रेषित (येशूका विशेष चेलाहरू) पावल, जो आफूलाई संसारकै सबैभन्दा ठूलो पापी सम्झन्थे, तिनले पनि क्षमा पाए। (१ तिमोथी १:१५, १६) येशू मारिनुमा यहूदीहरू दोषी थिए। यदि आफ्नो खराब मार्ग त्यागेका भए उनीहरूले पनि क्षमा पाउन सक्थे।—प्रेषित ३:१५, १९.

 “मैले पुजारी अथवा पास्टरकहाँ आफ्नो पाप स्विकारें भने मेरो पाप मेटिहाल्छ नि।”

 परमेश्‍वरविरुद्ध गरेको पापलाई क्षमा दिने अधिकार कुनै मानिससित छैन। हुन त दोषीले कसैसामु आफ्नो पाप स्विकाऱ्‍यो भने सुध्रिने मौका पाउँछ होला तर क्षमा भने पाउन सक्दैन। किनभने क्षमा दिने अधिकार परमेश्‍वरसित मात्र छ।—एफिसी ४:३२; १ यूहन्‍ना १:७, ९.

 येशूले आफ्ना प्रेषितहरूलाई यसो भन्‍नुभयो, “यदि तिमीहरूले कसैका पापहरू क्षमा गऱ्‍यौ भने ती क्षमा हुनेछन्‌; यदि तिमीहरूले कसैका पापहरू क्षमा गरेनौ भने ती रहिरहनेछन्‌।” (यूहन्‍ना २०:२३) यस पदअनुसार प्रेषितहरूले पवित्र शक्‍ति पाउँदा त्यससँगै एउटा विशेष अख्तियार पनि पाउने थिए।—यूहन्‍ना २०:२२.

 येशूले प्रतिज्ञा गर्नुभएजस्तै प्रेषितहरूले इस्वी संवत्‌ ३३ मा पवित्र शक्‍ति पाउँदा यस्तो विशेष अख्तियार पनि पाए। (प्रेषित २:१-४) प्रेषित पत्रुसले हननिया र सफीरा भन्‍ने व्यक्‍तिहरूको मामिला सुल्झाउन यो अख्तियार प्रयोग गरे। पत्रुसले पवित्र शक्‍तिको मदत पाएर उनीहरूले गरेको छलबारे थाह पाए। अनि उनीहरूले अक्षम्य पाप गरेका थिए भनेर फैसला सुनाए।—प्रेषित ५:१-११.

 पवित्र शक्‍तिको यस्तो वरदानका साथै बिरामीलाई निको पार्ने शक्‍ति र विभिन्‍न भाषा बोल्ने शक्‍ति पनि प्रेषितहरूको मृत्युसँगसँगै हराएर गयो। (१ कोरिन्थी १३:८-१०) त्यसकारण आज कुनै पनि मानिसले अर्को मानिसको पाप क्षमा गर्न सक्दैन।