सीधै सामग्रीमा जाने

विपत्ति आउँदा अरूलाई मदत गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्छ

विपत्ति आउँदा अरूलाई मदत गर्न प्रेमले हामीलाई उत्प्रेरित गर्छ

यहोवाका साक्षीहरू आवश्‍यक परेको बेला आफ्ना विश्‍वासी दाजुभाइ दिदीबहिनी र छिमेकीहरूलाई सहायता गर्छन्‌। उनीहरूलाई यसो गर्न प्रेमले उत्प्रेरित गर्छ, जुन साँचो ख्रीष्टियनहरूको प्रमुख चिनारी हो।—यूहन्‍ना १३:३५.

सन्‌ २०११ देखि सन्‌ २०१२ को बीचसम्म लगभग १ वर्षको अवधिमा हामीले दिएको मदतमध्ये केही तल उल्लेख गरिएका छन्‌। हामी भौतिक मदत दिनुका साथै आध्यात्मिक र भावनात्मक मदत पनि दिने गर्छौं। शाखाले खटाएका ‘प्राकृतिक प्रकोप राहत समिति’-ले राहत कार्यलाई व्यवस्थित गर्ने काम गर्छ। साथै, स्थानीय मण्डलीहरूले पनि राहत कार्यमा आफ्नो हात बढाउँछन्‌।

जापान

जापान: मार्च ११, २०११ मा आएको विनाशकारी भूकम्प र त्यसलगत्तै आएको सुनामीले जापानको लाखौं मानिसलाई प्रत्यक्ष असर गरेको थियो। संसारभर रहेका यहोवाका साक्षीहरूले उदार भई पैसा, सीप र चाहिने कुराहरू अनुदान गरे।

ब्राजिल: बाढी र पहिरोले गर्दा सयौं मानिसले ज्यान गुमाए। यहोवाका साक्षीहरूले तुरुन्तै प्रभावित क्षेत्रमा ४२ टन तयारी खानेकुरा, २०,००० बोतल पिउने पानी, १० टन लुगा र ५ टन सरसफाइका सामान, औषधी र चाहिने सामग्रीहरू पठाएका थिए।

कङ्‌गो (ब्राजाभिल): विस्फोटक पदार्थ तथा हातहतियार भण्डार गर्ने ठाउँ पड्‌कँदा यहोवाका साक्षीहरूको ४ वटा घर पूरै तहसनहस भयो भने २८ वटा घरमा क्षति पुग्यो। प्रभावित भएकाहरूलाई खानेकुरा र लुगाको प्रबन्ध गरियो। स्थानीय साक्षीहरूले प्रभावित दाजुभाइ दिदीबहिनीलाई आफ्नो घरमा आश्रय दिए।

कङ्‌गो (किन्शासा): हैजाले प्रभावित भएकाहरूलाई औषधी वितरण गरियो। भीषण झरीले गर्दा आएको बाढीबाट थुप्रै मानिस प्रभावित भए। उनीहरूलाई लगाउने लुगा अनुदान दिइयो। शरणार्थी शिविरमा बस्नेहरूको लागि पनि आवश्‍यक औषधी उपचार, बिउ बिजन अनि लत्ताकपडाको प्रबन्ध गरियो।

भेनेजुएला: भारी वर्षाको कारण बाढी र पहिरो गयो। प्राकृतिक प्रकोप राहत समितिले प्रभावित २८८ साक्षीहरूलाई मदत प्रदान गऱ्‍यो। त्यहाँ ५० वटाभन्दा बढी नयाँ घरहरू निर्माण गरिए। अर्को तर्फ, भ्यालेन्सीया तालको पानीको सतह बढ्‌दै गएकोले थुप्रै घर परिवार जोखिममा परे। राहत समितिले ती विस्थापित परिवारहरूलाई मदत गर्न आवश्‍यक कदम चाल्यो।

फिलिपिन्स

फिलिपिन्स: आँधीबेहरीले गर्दा देशको विभिन्‍न भागमा बाढी गयो। शाखा कार्यालयले खाद्य-सामग्री र लुगाफाटाको प्रबन्ध गरेर पीडितहरूलाई मदत गऱ्‍यो। पानी घटेपछि स्थानीय साक्षीहरूले बाढीले लिएर आएको फोहोर, टुक्राटाक्रीहरू सफा गर्न मदत गरे।

क्यानाडा: अल्वर्टाको जङ्‌गलमा भीषण आगलागी भयो। साक्षीहरूले प्रभावित क्षेत्रको सरसफाइको लागि स्लेभ लेक मण्डलीलाई निकै रकम अनुदान दिए। सबै पैसा आवश्‍यक नपरेकोले मण्डलीले कुल रकमको आधा भन्दा धेरै पैसा संसारको अरू ठाउँमा विपत्ति आउँदा सहयोग गर्न अनुदान दिए।

कोट डे’भ्वा: युद्ध अघि, युद्‌घको दौडान र युद्ध पछि विभिन्‍न मदत प्रदान गरियो। मानिसहरूलाई दैनिक उपभोग्य सामग्री, बास र औषधी उपचारको प्रबन्ध गरिएको थियो।

फिजी: ठूलो झरीले गर्दा आएको बाढीले १९२ साक्षी परिवार प्रत्यक्ष रूपमा प्रभावित भए। उनीहरूले आफ्नो वस्तुभाउ, अन्‍नबाली र आम्दानीको स्रोत नै गुमाउनुपरेको थियो। उनीहरूलाई राहत दिन आवश्‍यक खाद्यान्‍न प्रदान गरियो।

घाना: देशको पूर्वीय इलाकामा आएको बाढीले प्रभावित भएका मानिसहरूलाई खानेकुरा, बिउ बिजन अनि नयाँ घरको प्रबन्ध गरियो।

अमेरिका: तुफानले गर्दा साक्षीहरूको ६६ घरमा क्षति पुग्यो भने १२ घर पूरै तहसनहस भयो। धेरैजसो घरधनीले घरको बिमा गरेको भए तापनि थप सहयोग गर्न आर्थिक मदत दिइयो।

अर्जेन्टिना: ज्वालामुखीले गर्दा देशको दक्षिणमा बस्ने मानिसहरूको घर क्षतिग्रस्त भयो। यहोवाका साक्षीहरूको मण्डलीहरूले आवश्‍यक मदत गरे।

मोजाम्बिक: खडेरीले प्रभावित १,००० भन्दा धेरै मानिसलाई खाद्य पदार्थको प्रबन्ध गरियो।

नाइजेरिया: बस दुर्घटनामा घाइते भएका दुई दर्जन यहोवाका साक्षीलाई आर्थिक सहायता प्रदान गरियो। देशको उत्तर भागमा जातीय अनि धार्मिक मतभेदको कारणले घरबारविहिन भएकाहरूलाई पनि आवश्‍यक मदत गरियो।

बेनिन: बाढी प्रभावित व्यक्‍तिहरूलाई औषधी, लगाउने लुगा, झल, सफा पानी र आवासको प्रबन्ध गरियो।

डोमिनिकन गणतन्त्र

डोमिनिकन गणतन्त्र: इरेन नामको तुफानपछि स्थानीय मण्डलीहरूले घर मर्मत गरे र भौतिक सरसामानको प्रबन्ध मिलाए।

इथियोपिया: खडेरीले असर पारेको दुई क्षेत्र र बाढीले प्रभावित एउटा क्षेत्रका मानिसहरूलाई आवश्‍यक आर्थिक मदत दिइयो।

केन्या: खडेरीले असर गरेकाहरूलाई मदत गर्न आवश्‍यक रकम पठाइयो।

मलावी: जालेका शरणार्थी शिविरमा बस्नेहरूलाई सहायता प्रदान गरियो।

नेपाल: पहिरोले एक जना साक्षीको घर क्षतिग्रस्त भयो। उनको लागि अस्थायी घरको प्रबन्ध गरियो र स्थानीय मण्डलीद्वारा आवश्‍यक मदत पनि दिइयो।

पापुआ न्यु गिनी: साक्षीहरूको आठ घरमा आगलागी भएको थियो। पुनर्निर्माण गर्ने प्रबन्ध मिलाइयो।

रोमानिया: बाढीको कारण केही साक्षीहरूले घरबार गुमाए। तिनीहरूको घर पुनर्निर्माण गर्न मदत गरियो।

माली: खडेरीको कारण खाद्य सङ्‌कट भएकोले नजिकैको सेनेगलबाट आवश्‍यक मदत दिइयो।

सियरा लियोन: युद्ध प्रभावित क्षेत्रमा फ्रान्सबाट आएका साक्षी डाक्टरहरूले चाहिने मदत गरे।

थाइल्याण्ड: विनाशकारी बाढीले थुप्रै प्रान्तमा असर गऱ्‍यो। राहत टोलीले सयवटा घर र छवटा राज्यभवन मर्मत गर्न र सफा गर्न मदत गरे।

चेक गणतन्त्र: चेक गणतन्त्रमा रहेका थुप्रै घरलाई बाढीले क्षतिग्रस्त बनाएपछि स्लोभाकियाका साक्षीहरूले राहत कार्यको लागि हात बढाए र मदत गरे।

श्रीलंका: सुनामीले गर्दा प्रभावित भएकाहरूलाई राहत दिने काम पूरा गरियो।

सुडान: देशमा भएको युद्धले गर्दा विस्थापित भएका साक्षीहरूलाई मदत गर्न आवश्‍यक खानेकुरा, लुगाफाटा, जुत्ता र प्लास्टिकहरू पठाइयो।

तान्जानिया: बाढीले गर्दा १४ परिवारले आफ्नो सम्पत्ति गुमाउनुपऱ्‍यो। त्यो इलाकाका मण्डलीहरूले लुगा अनि घरमा चाहिने सरसामानहरू अनुदान दिए। एउटा घर पुनर्निर्माण गरियो।

जिम्बावे: खडेरीले गर्दा एउटा क्षेत्रमा भोकमरी छायो। त्यसको चपेटामा परेकाहरूलाई आवश्‍यक रकम र खानेकुराको प्रबन्ध गरियो।

बुरूण्डी: शरणार्थीहरूलाई औषधी उपचार गरियो र राहत सामाग्री दिइयो।