सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको भविष्य, तपाईँकै रोजाइ!

तपाईँको भविष्य, तपाईँकै रोजाइ!

के तपाईँ आफ्नो भविष्य कस्तो बनाउने भनेर रोज्न सक्नुहुन्छ? केही मानिसहरू जीवन व्यक्‍तिगत निर्णयले नभई भाग्यमा लेखिएको कुरामा भर पर्छ भनेर विश्‍वास गर्छन्‌। आफूले राखेको लक्ष्य हासिल गर्न नसक्दा तिनीहरू सिधै आफ्नो भाग्यलाई दोष दिन्छन्‌। तिनीहरू भन्छन्‌, “यो त मेरो भाग्यमै छैन।”

अरू कतिपयचाहिँ संसारमा भइरहेको अन्याय र अत्याचारले गर्दा आइपर्ने समस्याबाट उम्कन नसक्दा निराश हुन्छन्‌। तिनीहरूले आफ्नो जीवनलाई सुखमय बनाउन निकै प्रयास त गर्लान्‌। तर युद्ध, अपराध, प्राकृतिक प्रकोप र रोगबिमार जस्ता कुराहरूले तिनीहरूको योजना विफल पारिदिन्छ। त्यसैले तिनीहरू ‘जीवन यस्तै हो, किन टाउको दुखाउनु पऱ्‍यो र’ भन्छन्‌।

हो, जीवनमा आइपर्ने विभिन्‍न परिस्थितिले तपाईँको योजनालाई सिधै असर गर्न सक्छ। (उपदेशक ९:११) तर भविष्य कस्तो बनाउने भनेर तपाईँ आफै रोज्न सक्नुहुन्छ। वास्तवमा बाइबलले आफ्नो भविष्य कस्तो बनाउने तपाईँमै भर पर्छ भनेर सिकाउँछ। बाइबल के भन्छ, हेरौँ।

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नै लाग्दा तिनीहरूको नेता मोशाले यसो भने: “मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष्‌ र सराप राखेको छु। यसकारण जीवन नै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्दै, उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो।”व्यवस्था ३०:१५, १९, २०.

“मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष्‌ र सराप राखेको छु। यसकारण जीवन नै रोज।”—व्यवस्था ३०:१९

हो! परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटाउनुभयो। तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा स्वतन्त्र र आनन्दित जीवन बिताउने आशा दिनुभयो। तर यी सब आफसेआफ पूरा हुने थिएनन्‌। यी आशिष्‌हरू पाउन तिनीहरूले ‘जीवन नै रोज्नुपर्थ्यो।’ कसरी? ‘परमेश्‍वरलाई प्रेम गरेर, उहाँका आज्ञा मानेर र उहाँसँगै लीन भएर।’

आज तपाईँको अगाडि पनि रोज्ने यस्तै मौका छ। तपाईँको रोजाइले तपाईँको भविष्यलाई असर गर्छ। परमेश्‍वरलाई प्रेम गर्ने, उहाँका आज्ञा मान्‍ने र उहाँसँग लीन हुने अर्थात्‌ घनिष्ठ हुने बाटो रोज्नुहोस्‌। यसो गर्दा तपाईँले सुन्दर बगैँचारूपि पृथ्वीमा सधैँभरि बाँच्ने जीवन रोजिरहनुभएको हुनेछ। तर कसरी यसो गर्न सक्छौँ?

परमेश्‍वरलाई प्रेम गर्ने बाटो रोज्नुहोस्‌

प्रेम परमेश्‍वरको प्रमुख गुण हो। परमेश्‍वरबाट प्रेरणा पाएर येशूका चेला यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) त्यसैले प्रमुख आज्ञा कुन हो भन्‍ने प्रश्‍नको जवाफमा येशूले भन्‍नुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७) यहोवा परमेश्‍वरसितको सम्बन्ध प्रेममा आधारित हुनै पर्छ, डर वा सोचविचारै नगरी आज्ञा पालन गरेको आधारमा होइन। त्यसोभए हामीले किन उहाँलाई प्रेम गर्ने बाटो रोज्नुपर्छ?

जसरी आमाबुबाले छोराछोरीलाई साँचो माया गर्छन्‌, त्यसरी नै यहोवा परमेश्‍वरले मानिसजातिलाई माया गर्नुहुन्छ। छोराछोरीले गल्ती गरे तापनि मायालु आमाबुबाले तिनीहरूलाई सल्लाह, प्रोत्साहन, मदत र अनुशासन दिन्छन्‌। किनभने आमाबुबाले तिनीहरू आनन्दित र सफल भएको चाहन्छन्‌। बदलामा आमाबुबाले छोराछोरीबाट के आशा गर्छन्‌? छोराछोरीले आफूलाई माया गरेको र तिनीहरूको हितको लागि दिएको सल्लाहअनुसार चलेको आशा गर्छन्‌। हाम्रो परमेश्‍वर अर्थात्‌ स्वर्गमा बस्नुहुने त्रुटिरहित बुबाले पनि हाम्रो लागि थुप्रै कुरा गर्नुभएको छ। त्यसोभए के हामीले उहाँलाई धन्यवाद दिएको उहाँ आशा गर्नुहुन्‍न र?

परमेश्‍वरको आज्ञा मान्‍नुहोस्‌

बाइबलमा सुन्‍नु र मान्‍नु शब्दलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गरिएको छ। हामीले केटाकेटीलाई “आमाबुबाको कुरा सुन” भन्दा उनीहरूलाई आमाबुबाको कुरा मान्‍नुपर्छ भनिरहेका हुन्छौँ। तसर्थ परमेश्‍वरको कुरा सुन्‍नु भनेको उहाँले भन्‍नुभएको कुरा बुझ्नु र मान्‍नु हो। हुनत परमेश्‍वरले भन्‍नुभएको कुरा सिधै सुन्‍न त सक्दैनौँ तर उहाँको वचन बाइबल पढेर र त्यसमा दिइएका निर्देशन पालन गरेर उहाँको कुरा सुन्‍न सक्छौँ।—१ यूहन्‍ना ५:३.

परमेश्‍वरको आज्ञा मान्‍नुको महत्त्वलाई जोड दिँदै येशूले यसो भन्‍नुभयो: “मानिस रोटीको भरमा मात्र बाँच्नुहुँदैन तर यहोवाको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।” (मत्ती ४:४) जीवनको लागि खाना खानु जति महत्त्वपूर्ण छ, परमेश्‍वरको ज्ञान लिनु त्योभन्दा महत्त्वपूर्ण छ। किन? बुद्धिमान्‌ राजा सुलेमानले यसो भने: “जसरी रुपियाँपैसा एउटा आश्रय हो, त्यसरी नै बुद्धि पनि एउटा आश्रय हो तर बुद्धिको लाभ यही हो कि बुद्धिले बुद्धिमान्‌ मानिसको प्राण जोगाइराख्छ।” (उपदेशक ७:१२, NRV) परमेश्‍वरबाट आएको ज्ञान र बुद्धिले अहिले पनि हामीलाई जोगाउँछ। साथै यसले हामीलाई बुद्धिमानी भई सही बाटो रोज्न मदत गर्छ, जसले गर्दा भविष्यमा सधैँभरि बाँच्ने जीवन पाउन सक्छौँ।

परमेश्‍वरसँग घनिष्ठ भइरहनुहोस्‌

अघिल्लो लेखमा उल्लेख गरिएको एउटा उदाहरणमा येशूले यसो भन्‍नुभएको थियो: “जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ती ७:१३, १४) यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुग्न अर्थात्‌ सधैँभरि बाँच्ने जीवन पाउन हामीले अनुभवी गाइडको मदत लिनुपर्छ र तिनको नजिक भइरहनुपर्छ। त्यसैगरि परमेश्‍वरसित नजिक भइरहँदा हाम्रै भलो हुन्छ। (भजन १६:८) हामी कसरी त्यसो गर्न सक्छौँ?

हरेक दिन हामीले गर्नै पर्ने र गर्न मन लागेका कामहरू थुप्रै हुन्छन्‌। यस्ता कामहरूले हामीलाई व्यस्त बनाउन वा अलमल्याउन सक्छ। त्यसैले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ, त्यसबारे सोच्न त्यति समय नहुन सक्छ। बाइबल पनि यसो भन्छ: “कसरी हिँडिरहेका छौ, होसियार भई ध्यान देओ, तिमीहरू निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान्‌ मानिस जसरी हिँड, समयको पूर्ण सदुपयोग गर, किनभने हामी खराब समयमा बाँचिरहेका छौँ।” (एफिसी ५:१५, १६) त्यसैले परमेश्‍वरसित नजिक भइरहन हामी उहाँसित घनिष्ठ हुनुपर्छ र यसलाई नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्‍नुपर्छ।—मत्ती ६:३३.

रोजाइ तपाईँकै हो

तपाईँले आफ्नो विगतलाई चाहेर पनि परिवर्तन गर्न सक्नुहुन्‍न। तर आफ्नो र आफूले माया गर्ने व्यक्‍तिहरूको भविष्य सुनिश्‍चित पार्न के गर्ने, त्यो निर्णय भने तपाईँ आफैले गर्न सक्नुहुन्छ। बाइबलले हाम्रो मायालु बुबा यहोवा हामीलाई औधी माया गर्नुहुन्छ र हामीबाट के चाहनुहुन्छ भनेर स्पष्टै बताउँछ। भविष्यवक्‍ता मीकाले लेखेको कुरा विचार गर्नुहोस्‌:

“ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू, र तेरा परमेश्‍वरसित नम्र भएर हिँड्‌नू।”मीका ६:८.

के तपाईँ यहोवाले आफूसँगै हिँड्‌न दिनुभएको निम्तो स्विकार्नुहुन्छ? आफूसँगै हिँड्‌नेहरूलाई भविष्यमा दिनको लागि साँचेर राख्नुभएका आशिष्‌हरू पाउन चाहनुहुन्छ? रोजाइ तपाईँकै हो!