सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सृष्टि या संयोग?

मौरीको अवतरण गर्ने तरिका

मौरीको अवतरण गर्ने तरिका

मौरीहरू प्रायः जुनसुकै कोणमा पनि सजिलै अवतरण गर्न सक्छन्‌। तिनीहरूले कसरी यसो गर्छन्‌?

विचार गर्नुहोस्: सुरक्षित अवतरणको लागि मौरीले कुनै थोकमा बस्नुअघि आफ्नो गतिलाई लगभग शून्य बनाउनुपर्छ। यसो गर्न मौरीले दुई वटा कुरा विचार गर्नुपर्छ—आफ्नो उडाइको गति र गन्तव्यसम्मको दूरी। अनि आफ्नो गतिलाई त्यही क्रमअनुसार घटाउँदै लैजानुपर्छ। तर धेरैजसो किराको आँखा नजिक-नजिक हुने भएकोले र टाढाको वस्तु ठम्याउन नसक्ने भएकोले तिनीहरूलाई त्यसो गर्न गाह्रो हुन्छ।

मानिसको आँखाले आफू र कुनै वस्तुबीचको दूरी पत्ता लगाउन सक्छ। तर मौरीको दृष्टि भने फरक छ। कुनै वस्तुको जति नजिक गयो, उक्त वस्तुको आकार त्यति नै छिटो ठूलो देखिन्छ। मौरीहरू पनि यही तरिका अपनाएर आफू र कुनै वस्तुबीचको दूरी तय गर्छन्‌। अस्ट्रेलियाको एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले देखाएअनुसार मौरीले आफू अगाडिको वस्तुको आकार झन्‌-झन्‌ ठूलो नदेखियोस् भनेर त्यस वस्तुको नजिकै पुग्दा आफ्नो उडानको गति घटाउँछ। मौरी गन्तव्यमा पुग्दासम्म यसले आफ्नो गति लगभग शून्य बनाउँछ जसको कारण यसले सुरक्षित अवतरण गर्न सक्छ।

प्रोसिडिङस अफ द नेशनल एकाडेमी अफ साइन्सेस पत्रिकामा यस्तो लेखिएको छ: “मौरीको अवतरण गर्ने यस्तो सरल शैली, उड्‌न बनाइएका रोबोटहरूको नियन्त्रण प्रणालीमा सुधार ल्याउन साँच्चै उपयोगी छ।”

तपाईंको विचार कस्तो छ? मौरीको अवतरण गर्ने यो विशेष शैली क्रमविकासको उपज हो या सृष्टि?