सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई धन्यवाद चढाउनुहोस्‌ र आशिष्‌ पाउनुहोस्‌

यहोवालाई धन्यवाद चढाउनुहोस्‌ र आशिष्‌ पाउनुहोस्‌

“परमप्रभुमा धन्यवाद चढाओ। किनकि उहाँ भला हुनुहुन्छ।”—भज. १०६:१.

१. हामीले यहोवालाई किन धन्यवाद दिनुपर्छ?

 यहोवा “हरेक असल वरदान र हरेक उत्तम उपहार” दिने परमेश्‍वर हुनुहुन्छ। (याकू. १:१७) त्यसैले हामीले उहाँलाई धन्यवाद दिनुपर्छ। उहाँ मायालु गोठालो हुनुभएकोले हाम्रो शारीरिक र आध्यात्मिक आवश्‍यकताको ख्याल गर्नुहुन्छ। (भज. २३:१-३) उहाँ सङ्‌कष्टको समयमा “हाम्रो शरणस्थान र बल हुनुहुन्छ।” (भज. ४६:१) हामी पनि भजनरचयिताले लेखेको यो कुरामा पूरा सहमत छौं, “परमप्रभुमा धन्यवाद चढाओ। किनकि उहाँ भला हुनुहुन्छ, किनकि उहाँको कृपा सधैंभरि रहन्छ।”—भज. १०६:१.

सन्‌ २०१५ को वार्षिक पद: यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ।—भजन १०६:१

२, ३. (क) आफूले पाएको आशिष्‌लाई हल्कासित लियौं भने कस्तो खतरा हुन सक्छ? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

धन्यवादी हुनुपर्ने कुरालाई हामीले किन हल्कासित लिनुहुँदैन? भविष्यवाणी गरिएजस्तै अन्तको दिनका मानिसहरू कृतघ्न छन्‌। (२ तिमो. ३:२) धेरैले आफूले पाएको आशिष्‌लाई हल्कासित लिन्छन्‌। व्यापार जगत्‌ र त्यसको विज्ञापनले गर्दा लाखौं मानिस अनावश्‍यक कुरा थुपार्न लागिपरेका छन्‌। उनीहरू आफूसित भएका कुराहरूमा सन्तुष्ट हुँदैनन्‌। यस्तो मनोवृत्तिले हामीलाई पनि नराम्रो असर गर्न सक्छ। पुरातन समयका इस्राएलीहरूजस्तै हामी पनि कृतघ्न हुन सक्छौं अनि यहोवासित हाम्रो सम्बन्धलाई र उहाँले दिनुभएको आशिष्‌लाई सामान्य ठान्‍ने हदसम्म पुग्न सक्छौं।—भज. १०६:७, ११-१३.

गाह्रो परिस्थिति सामना गर्नुपर्दा के हुन सक्छ? हाम्रो चिन्ता-फिक्री बढ्‌न सक्छ र आफूले पाएको आशिष्‌ सजिलै बिर्सन सक्छौं। (भज. ११६:३) त्यसोभए हामी कसरी मनैदेखि धन्यवादी भइरहन सक्छौं? गाह्रो परिस्थिति सामना गर्नुपर्दा समेत सकारात्मक भइरहन हामीलाई केले मदत गर्छ? यी प्रश्‍नहरू विचार गरौं।

‘हे यहोवा, तपाईंले गर्नुभएका कामहरू धेरै छन्‌’

४. मनैदेखि धन्यवादी भइरहन हामीले के गर्नुपर्छ?

मनैदेखि धन्यवादी भइरहन हामीले के गर्नुपर्छ? यहोवाबाट पाएको आशिष्‌ र उहाँले देखाउनुभएको करुणाबारे मनन गर्नुपर्छ। भजनरचयिताले पनि त्यसै गरे। यहोवाले गर्नुभएका अचम्मका कामहरू देखेर तिनी छक्क परे अनि तिनको मनमा उहाँप्रति श्रद्धा जाग्यो।भजन ४०:५; १०७:४३ पढ्‌नुहोस्‌

५. धन्यवादी हुने विषयमा पावलबाट हामी के सिक्न सक्छौं?

धन्यवादी हुने विषयमा हामी पावलबाट धेरै कुरा सिक्न सक्छौं। तिनले यहोवाबाट पाएको आशिष्‌बारे मनन गरे र बारम्बार यहोवालाई धन्यवाद चढाए। पावलले आफूलाई “परमेश्‍वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस” भनेका छन्‌। तिनको विगत जस्तोसुकै भए पनि यहोवा र येशूले तिनलाई कृपा देखाउनुभयो र सेवाको काम सुम्पनुभयो। यसको लागि तिनी आभारी भए। (१ तिमोथी १:१२-१४ पढ्‌नुहोस्‌) पावलले सङ्‌गी ख्रीष्टियनहरूको पनि मनैदेखि कदर गरे। उनीहरूमा भएका राम्रा गुणहरू र उनीहरूले गरेको सेवा सम्झँदा तिनी यहोवालाई धन्यवाद दिन उत्प्रेरित भए। (फिलि. १:३-५, ७; १ थिस्स. १:२, ३) पावलले दुःखकष्ट झेल्दा यहोवाले मण्डलीका दाजुभाइहरू चलाएर तिनलाई मदत दिनुभयो र तिनले त्यसको लागि पनि तुरुन्तै यहोवालाई धन्यवाद दिए। (प्रेषि. २८:१५; २ कोरि. ७:५-७) त्यसैले पावलले लेखेका कुराहरूले ख्रीष्टियनहरूलाई धन्यवादी हुन प्रोत्साहन दियो। तिनले यस्तो लेखे, “तिमीहरू कृतज्ञ छौ भनी देखाओ। . . . तिमीहरू भजन, परमेश्‍वरको स्तुतिगान र उपासनाका मन छुने गीतहरू गाएर एक-अर्कालाई सिकाउँदै र सम्झाउँदै गर।”—कल. ३:१५-१७.

मनन र प्रार्थनाले धन्यवादी भइरहन मदत गर्छ

६. तपाईं कुनचाहिं कुराको लागि यहोवाप्रति आभारी हुनुहुन्छ?

धन्यवादी हुने सन्दर्भमा हामी कसरी पावलको देखासिकी गर्न सक्छौं? यहोवाले मेरो लागि के गर्नुभएको छ भनी सोच्नुपर्छ। (भज. ११६:१२) ‘यहोवाबाट पाएको कुनचाहिं आशिष्‌को लागि तपाईं आभारी हुनुहुन्छ?’ भनी कसैले सोध्यो भने तपाईं के भन्‍नुहुन्छ? ‘यहोवासित मेरो अनमोल सम्बन्धको लागि’ वा ‘येशूको बलिदानमा विश्‍वास गरेकोले मैले पाएको क्षमाको लागि’ भन्‍ने जवाफ दिनुहुन्छ कि? अथवा गाह्रो अवस्थामा पर्दा मदत गरेका दाजुभाइ दिदीबहिनीको नाम पो लिनुहुन्छ कि? जीवनसाथी वा प्यारा छोराछोरी दिनुभएकोमा यहोवाप्रति आभारी छु भन्‍न पनि पक्कै बिर्सनुहुन्‍न होला। मायालु बुबा यहोवाले दिनुभएको यस्ता आशिष्‌बारे सोच्दा हामी हरेक दिन उहाँलाई धन्यवाद दिन उत्प्रेरित हुन्छौं।भजन ९२:१-३ पढ्‌नुहोस्‌।

७. (क) हामीले यहोवालाई किन धन्यवादको प्रार्थना चढाउनुपर्छ? (ख) धन्यवादको प्रार्थना चढाउँदा तपाईंलाई कस्तो फाइदा हुन्छ?

यहोवाले दिनुभएका आशिष्‌हरूबारे मनन गऱ्‍यौं भने हामीले यहोवालाई धन्यवादको प्रार्थना चढाउन सक्नेछौं। (भज. ९५:२; १००:४, ५) धेरैजसो मानिसलाई प्रार्थना भनेको ईश्‍वरसित माग गर्ने माध्यम मात्र हो जस्तो लाग्छ। तर हामीले प्रार्थनालाई यस्तो माध्यमको रूपमा मात्र हेरेको यहोवा चाहनुहुन्‍न। यहोवाले दिनुभएका कुराहरूको लागि धन्यवाद दिंदा उहाँलाई खुसी लाग्छ। बाइबलमा हेर्ने हो भने हन्‍ना र हिजकियाहलगायत अरू थुप्रैले धन्यवादको प्रार्थना चढाएका विवरणहरू पाउँछौं। (१ शमू. २:१-१०; यशै. ३८:९-२०) यहोवाप्रति कृतज्ञ भएका ती वफादार उपासकहरूको देखासिकी गर्नुहोस्‌। यहोवाले तपाईंलाई दिनुभएको आशिष्‌को लागि उहाँलाई धन्यवाद चढाउनुहोस्‌। (१ थिस्स. ५:१७, १८) यसो गर्नुभयो भने तपाईंलाई थुप्रै फाइदा हुन्छ। तपाईं आनन्दित हुनुहुनेछ, यहोवालाई अझ धेरै माया गर्न थाल्नुहुनेछ र उहाँसित झनै नजिक हुनुहुनेछ।—याकू. ४:८

यहोवाबाट पाएको कुनचाहिं आशिष्‌को लागि तपाईं आभारी हुनुहुन्छ? (अनुच्छेद ६, ७ हेर्नुहोस्‌)

८. हामी कसरी यहोवाले दिनुभएका कुराहरूको बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौं?

यहोवाले हाम्रो लागि गर्नुभएका असल कुराहरूको लागि कृतज्ञ भइरहन सजिलो छैन किनकि हामीमा जन्मजातै कृतघ्न हुने झुकाव छ। हाम्रा प्रथम आमाबुबा आदम र हव्वालाई विचार गरौं। यहोवाले तिनीहरूलाई अदनको बगैंचामा राख्नुभएको थियो। उहाँले तिनीहरूलाई सबै कुरा दिनुभएको थियो। तिनीहरू सधैंभरि बाँच्न सक्थे। तिनीहरूको शान्तिमा खलल पुऱ्‍याउने कुनै पनि कुरा थिएन। (उत्प. १:२८) तर तिनीहरूले आफूले पाएका आशिष्‌हरूको कदर गरेनन्‌। तिनीहरू लोभी भएर अझ धेरै कुरा पाउन खोजे। तर ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेझैं तिनीहरूले आफूसित भएको कुरा पनि गुमाए। (उत्प. ३:६, ७, १७-१९) हाम्रो वरिपरि कृतघ्न मानिसहरू थुप्रै छन्‌। त्यसैले हामी पनि यहोवाले हाम्रो लागि गर्नुभएका कुराहरूको बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौं। यहोवासित हाम्रो सम्बन्धलाई हल्कासित लिन सक्छौं। साथै, विश्‍वभरका दाजुभाइ दिदीबहिनीमाझ हुन पाएको सुअवसर हामीलाई सामान्य लाग्न सक्छ। बितेर जाने यस संसारका कुराहरूमै हामी अलमलिन सक्छौं। (१ यूह. २:१५-१७) अन्तमा हामी उम्कनै नसक्ने गरी संसारको फन्दामा पर्न सक्छौं। तर हामी त्यस्तो तीतो नतिजा भोग्न चाहँदैनौं भने आफूले पाएको आशिष्‌बारे मनन गर्नुपर्छ र यहोवाको सङ्‌गठनको भाग हुन पाएकोमा उहाँलाई सधैं धन्यवाद चढाउनुपर्छ।भजन २७:४ पढ्‌नुहोस्‌।

गाह्रो परिस्थितिको सामना गर्नुपर्दा

९. गाह्रो परिस्थिति आइपर्दा हामीले किन आफूले पाएका आशिष्‌हरूबारे विचार गर्नुपर्छ?

यहोवाले दिनुभएका कुराहरूको लागि हामी मनैदेखि आभारी छौं भने जस्तोसुकै गाह्रो परिस्थिति आइपर्दा पनि सहन सक्छौं। हामीले जीवनमा थुप्रै गाह्रो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। जीवनसाथीले यहोवा र परिवारलाई त्याग्दा, आफूलाई गम्भीर रोग लाग्दा, आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा वा प्राकृतिक विपत्तिको कारण भयावह नतिजा भोग्नुपर्दा हामीलाई निराशाको बादलले छोप्न सक्छ। त्यस्तो बेला आफूले पाएका आशिष्‌हरूबारे विचार गर्दा हामीले सान्त्वना र सहने बल पाउँछौं। आउनुहोस्‌, अब हामी केही अनुभवहरू विचार गरौं।

१०. आफूले पाएको आशिष्‌बारे विचार गर्दा इरिनालाई कस्तो फाइदा भयो?

१० यो अनुभव उत्तर अमेरिकामा बस्ने इरिनाको a हो। तिनी नियमित अग्रगामी हुन्‌। तिनको विवाह एल्डरसित भएको थियो। तर पछि तिनका श्रीमान्‌ले यहोवालाई त्यागे अनि तिनलाई र छोराछोरीलाई छोडेर गए। यस्तो परिस्थितिमा इरिना कसरी यहोवाको सेवामा लागिरहन सकिन्‌? तिनी भन्छिन्‌, “यहोवाले मेरो हेरचाह गर्नुभएकोमा म आभारी छु। म आफूले पाएको आशिष्‌बारे हरेक दिन विचार गर्छु। यसो गर्दा यहोवाको सुरक्षा, मदत र माया पाउनु ठूलो सुअवसर हो भन्‍ने महसुस गर्न सकेकी छु। उहाँले मलाई कहिल्यै त्याग्नुहुनेछैन भन्‍ने कुरामा म ढुक्क छु।” हुन त इरिनाले जीवनमा थुप्रै उतारचढाव सामना गर्नुपऱ्‍यो। तैपनि आनन्दित हुने कोसिस गरेकीले तिनले आफूलाई सम्हाल्न सकेकी छिन्‌। तिनलाई देख्दा अरूले पनि प्रोत्साहन पाउँछन्‌।

११. गम्भीर रोगको सामना गर्न क्युङ-सुकलाई केले मदत गऱ्‍यो?

११ एसियामा बस्ने क्युङ-सुकले आफ्नो श्रीमान्‌सँगै २० वर्षभन्दा लामो समय अग्रगामी सेवा गरिन्‌। तर तिनको फोक्सोमा क्यान्सर भएको कुरा अचानक पत्ता लाग्यो। रोग पत्ता लागेपछि तिनी तीनदेखि छ महिना मात्र बाँच्ने कुरा थाह भयो। हुन त तिनी र तिनका श्रीमान्‌ले सानातिना मात्र होइन, ठूलठूला समस्या पनि पार गरेका थिए। तर स्वास्थ्य समस्या आइपर्ला भनेर चाहिं कहिल्यै चिताएका थिएनन्‌। तिनी भन्छिन्‌, “मलाई क्यान्सर भएको थाह पाउँदा छाँगाबाट खसेको जस्तै भएँ। अब सबै कुरा सिद्धियो जस्तो लाग्यो। मलाई के गरूँ कसो गरूँ भयो।” क्युङ-सुकलाई यस्तो परिस्थितिको सामना गर्न केले मदत गऱ्‍यो? तिनी भन्छिन्‌, “हरेक रात सुत्नुअघि म कौसीमा जान्छु र ठूलो स्वरले प्रार्थना गर्छु। त्यस दिन यहोवाप्रति कृतज्ञ हुन सकेका पाँचवटा कुराको लागि उहाँलाई धन्यवाद दिन्छु। त्यसपछि मलाई ढुक्क लाग्छ र यहोवालाई अझ धेरै माया गर्न उत्प्रेरित हुन्छु।” यसरी प्रार्थना गर्दा क्युङ-सुकलाई कस्तो फाइदा भएको छ? तिनी भन्छिन्‌, “यहोवाले हामीलाई गाह्रो परिस्थितिको सामना गर्न मदत गर्नुहुन्छ भनेर बुझ्न सकेकी छु। हामीले भोग्नुपरेको दुःखभन्दा हामीले पाएका आशिष्‌हरू कता हो कता धेरै छन्‌ भनेर पनि थाह पाएकी छु।”

आँधीबाट बचेका आफ्नो भाइ जोनसँगै (अनुच्छेद १३ हेर्नुहोस्‌)

१२. श्रीमती गुमाउनुपर्दा जेसनलाई पीडा सहन केले मदत गऱ्‍यो?

१२ अफ्रिकाको शाखा कार्यालयमा सेवा गर्ने जेसन ३० वर्षभन्दा लामो समयदेखि पूर्ण समय सेवा गर्दै छन्‌। तिनी भन्छन्‌, “सात वर्षअघि मेरी श्रीमतीको मृत्यु भयो। यो पीडा सहन धेरै गाह्रो भयो। क्यान्सरसित लड्‌नुपर्दा तिनलाई कत्ति गाह्रो भयो होला भनी सम्झँदा मेरो मन छियाछिया हुन्छ।” यस्तो पीडा सहन जेसनलाई केले मदत गरेको छ? तिनी भन्छन्‌, “एक दिनको कुरा हो, श्रीमतीसँगै बिताएका रमाइला क्षणहरू याद आइरहेको थियो। त्यतिबेला यहोवालाई धन्यवाद नदिई बस्नै सकिनँ। प्रार्थना गरेपछि मनै हलुको भयो। त्यसपछि यहोवालाई ती क्षणहरूको लागि नियमित रूपमा धन्यवाद दिन थालें। यसरी कृतज्ञ हुँदा मैले केही हदसम्म भए पनि राहत पाएको छु। हुन त अझै पनि पीडा सहन गाह्रो छ। तर वैवाहिक जीवन सुखी बनाउन मदत गर्नुभएकोमा म यहोवाप्रति आभारी छु। मेरी श्रीमतीले यहोवालाई मनदेखि माया गर्थिन्‌। यस्तो जीवनसाथीसँगै सेवा गर्न पाएकोमा पनि यहोवालाई सधैं धन्यवाद दिन्छु। यसो गर्दा पीडा सहन सजिलो भएको छ।”

“यहोवा मेरो परमेश्‍वर हुनुभएकोमा म कृतज्ञ छु।”—स्यारिल

१३. परिवारका सदस्यहरू गुमाउनुपर्दा स्यारिललाई पीडा सहन केले मदत गऱ्‍यो?

१३ सन्‌ २०१३ को अन्ततिर फिलिपिन्सको मध्य भागमा शक्‍तिशाली आँधी आयो। त्यो आँधीले गर्दा १३ वर्षकी स्यारिलले सबैजसो कुरा गुमाइन्‌। तिनी भन्छिन्‌, “मेरो घर तहसनहस भयो अनि मैले परिवारका सदस्यहरू पनि गुमाएँ। त्यो आँधीबाट म र मेरो एउटा भाइ मात्र बच्यौं।” त्यो डरलाग्दो आँधीले गर्दा तिनको आमाबुबा, दुई बहिनी र एउटा भाइको मृत्यु भयो। यस्तो कठिन अवस्थाको सामना गर्न तिनलाई केले मदत गऱ्‍यो? अहिले आफूसित भएका कुराहरूका लागि तिनी यहोवाप्रति मनैदेखि धन्यवादी छिन्‌। तिनी भन्छिन्‌, “हाम्रा सबै दाजुभाइ दिदीबहिनीले प्रकोपको मारमा परेकाहरूलाई मदत र प्रोत्साहन दिनुभएको मैले देखें। संसारभरका साक्षीहरूले मेरो लागि प्रार्थना गर्दै हुनुहुन्छ भन्‍ने कुरा पनि मलाई थाह थियो। यहोवा मेरो परमेश्‍वर हुनुभएकोमा म कृतज्ञ छु। उहाँले सधैं हाम्रो खाँचो पूरा गर्नुहुन्छ।” हो, हामीले पाएका आशिष्‌हरूबारे विचार गर्दा निरुत्साहको दलदलमा फस्नदेखि जोगिन सक्छौं। हामी मनैदेखि धन्यवादी छौं भने जस्तोसुकै गाह्रो परिस्थिति आए पनि सहन सक्छौं।—एफि. ५:२०; फिलिप्पी ४:६, ७ पढ्‌नुहोस्‌।

“म परमप्रभुमा रमाहट गर्नेछु”

१४. हाम्रो अघि कस्तो भविष्य छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१४ बितेको समयका यहोवाका जनहरू आफूले पाएका आशिष्‌हरूको लागि कृतज्ञ भए। उदाहरणको लागि, यहोवाले इस्राएलीहरूलाई लाल समुद्रमा फिरऊन र तिनका सेनाहरूको हातबाट छुटाउनुभयो। त्यसपछि उनीहरूले आफ्नो खुसी व्यक्‍त गर्न यहोवाको लागि प्रशंसा र धन्यवादको गीत गाए। (प्रस्थ. १५:१-२१) यहोवाले हामीलाई पनि पीडा र दुःखकष्टबाट छुटकारा दिने प्रतिज्ञा गर्नुभएको छ र हामीले उहाँबाट पाउने थुप्रै अनमोल आशिष्‌मध्ये एउटा यो पनि हो। (भज. ३७:९-११; यशै. २५:८; ३३:२४) यहोवाले आफ्ना सबै शत्रुलाई नाश गर्नुहुनेछ अनि शान्ति छाउने र न्यायले बास गर्ने नयाँ संसारमा हामीलाई स्वागत गर्नुहुनेछ। त्यस दिन हामी यहोवालाई कत्ति धेरै धन्यवाद दिन्छौं होला, सोच्नुहोस्‌ त!—प्रका. २०:१-३; २१:३, ४.

१५. तपाईं सन्‌ २०१५ भरि के गर्न दृढ हुनुहुन्छ?

१५ सन्‌ २०१५ मा पनि यहोवाले हामीलाई थुप्रै आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क छौं। हामीले अवश्‍य पनि परीक्षाहरूको सामना गर्नुपर्छ तर जस्तोसुकै परीक्षा आए पनि यहोवाले हामीलाई त्याग्नुहुनेछैन। (व्यव. ३१:८; भज. ९:९, १०) वफादार भई उहाँको सेवा गर्न चाहिने सबै कुरा यहोवाले हामीलाई दिइरहनुहुनेछ। त्यसैले भविष्यवक्‍ता हबकूकको जस्तै मनोवृत्ति राखौं। तिनले यस्तो लेखे, “चाहे नेभाराको रूखमा फूल नफुलोस्‌, औ दाखको बोटमा फल नफलोस्‌, चाहे भद्राक्षको रूखमा फल नलागोस्‌, औ खेतले अन्‍न नउब्जाओस्‌, खोरमा भेडा-बाख्रा नष्ट भए पनि गोठमा गाई-वस्तुहरू रहेन भने पनि, म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्‍वरमा रमाउनेछु।” (हब. ३:१७, १८) आफूले पाएका आशिष्‌हरूमा यो वर्षभरि मनन गरौं र सन्‌ २०१५ को यो वार्षिक पद मनमा राखौं: यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ।—भज. १०६:१.

a यस लेखमा केही नामहरू परिवर्तन गरिएका छन्‌।