सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌

आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌

परिवार आनन्दमय बनाउने तरिकाहरू

आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌

एलिसिया a नामकी किशोरी भन्छिन्‌: “कहिलेकाहीं म यौनबारे कुनै कुरा थाह पाउन चाहन्छु तर आमाबाबुलाई सोधें भने उहाँहरूले उल्टै ममाथि शङ्‌का गर्नुहुने हो कि जस्तो लाग्छ।”

एलिसियाकी आमा इनेज भन्छिन्‌: “छोरीसित बसेर यौनबारे कुरा गरूँ जस्तो लाग्छ तर के गर्ने, ऊ आफ्नै धुनमा हुन्छे। उसलाई कहिल्यै फुर्सत हुने होइन।”

आजकाल जताततै यौनकै चर्चा छ—टिभीमा, चलचित्रमा अनि विज्ञापनहरूमा। तर यौनबारे खुलेर कुरा गर्न एक मात्र निषेधित क्षेत्र भनेको आमाबाबु र छोराछोरीबीचको कुराकानीमा जस्तो देखिन्छ। क्यानाडाका माइकल नामका किशोर भन्छन्‌: “आमाबाबुसित यौनबारे कुरा गर्नुपर्दा मुटु कस्तो ढुकढुक हुन्छ अनि कस्तो अप्ठ्यारो हुन्छ भनेर उहाँहरूले बुझिदिनुभए हुन्थ्यो जस्तो लाग्छ। उहाँहरूसित भन्दा त बरु साथीसितै कुरा गर्न सजिलो लाग्छ।”

अक्सर, आमाबाबु पनि यौनबारे कुरा गर्न छोराछोरीजत्तिकै हिचकिचाउँछन्‌। यौनबारे छलफल गरिएको पुस्तकमा b स्वास्थ्य प्रशिक्षक डेब्रा डब्ल्यु. हाफ्नर भन्छिन्‌: “धेरै आमाबाबुले मलाई बताएका छन्‌ कि तिनीहरूले आफ्नो छोरा वा छोरीको लागि यौन वा किशोरावस्थासम्बन्धी किताब किने अनि त्यो किताब किशोरावस्था नपुगेका आफ्ना बच्चाको कोठामा राखिदिए तर त्यसपछि भने त्यस विषयमा कहिल्यै कुरा गरेनन्‌।” हाफ्नर भन्छिन्‌ कि यसले केटाकेटीहरूलाई यस्तो स्पष्ट सन्देश दिन्छ: “आफ्नो शरीर र यौनबारे तिमीले थाह पाएको चाहन्छौं तर यस विषयमा हामी तिमीसित कुरा गर्न भने चाहँदैनौं।”

तपाईं आमा वा बुबा हुनुहुन्छ भने तपाईंले योभन्दा फरक दृष्टिकोण राख्नु आवश्‍यक छ। आफ्ना छोराछोरीसित यौनबारे तपाईंले नै कुरा गर्नु महत्त्वपूर्ण छ। यसका तीन वटा कारण विचार गर्नुहोस्‌:

१. यौनबारे संसारको दृष्टिकोण परिवर्तन भएको छ। बीस वर्षीय जेम्स भन्छन्‌: “आजकाल यौन भनेको श्रीमान्‌-श्रीमतीबीचको सम्बन्ध मात्र रहेन। अहिले त मुखमैथुन, गुदद्वारमैथुन, साइबरसेक्स अनि फोनमार्फत ‘सेक्स मेसेज’ पठाउने कुरा सामान्य भइसक्यो।”

२. तपाईंका छोराछोरीले सायद एकदमै सानो उमेरदेखि यौनबारे गलत कुराहरू सिक्न थाल्नेछन्‌। शीला नामकी आमा भन्छिन्‌: “स्कूल जान थाल्नेबित्तिकै उनीहरूले यौनबारे सुन्‍न थाल्नेछन्‌ अनि तपाईंले चाहेको भन्दा बिल्कुलै फरक कुरा उनीहरूले सिक्नेछन्‌।”

३. तपाईंका छोराछोरी यौनबारे थुप्रै प्रश्‍न सोध्न चाहन्छन्‌ तर सायद उनीहरू आफै अग्रसर भएर यस विषयमा कुरा गर्नेछैनन्‌। ब्राजिलकी १५ वर्षीया आना भन्छिन्‌: “नढाँटी भन्‍ने हो भने आमाबाबुसित यौनबारे कसरी कुरा थाल्ने मलाई थाहै छैन।”

वास्तवमा, आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नु तपाईंलाई परमेश्‍वरले आमाबाबुको हैसियतमा सुम्पनुभएको जिम्मेवारी हो। (एफि. ६:४) हुनत यसबारे कुरा गर्नु तपाईं र छोराछोरी दुवैलाई अप्ठ्यारो लाग्न सक्छ। तर यसको राम्रो पक्षलाई विचार गर्ने हो भने थुप्रै जवान यस १४ वर्षीया डान्येलसित सहमत छन्‌: “हामी यौनबारे शिक्षक वा टिभी कार्यक्रमबाट होइन, आमाबाबुबाट सिक्न चाहन्छौं।” त्यसोभए यस महत्त्वपूर्ण तर अप्ठ्यारो विषयबारे कसरी छोराछोरीसित कुरा गर्न सक्नुहुन्छ?  c

उनीहरूको उमेरअनुसार सिकाउनुहोस्‌

केटाकेटीलाई बाह्‍य संसारबाट बिल्कुलै अलग राखेमा मात्र सायद उनीहरूले यौनबारे सुन्‍नेछैनन्‌। होइन भने त, उनीहरूले सानैदेखि यौनबारे विभिन्‍न कुरा सुन्‍न थाल्छन्‌। योभन्दा पनि अझ चिन्ताजनक कुरा हो, अहिलेको “आखिरी दिनमा” दुष्ट मानिसहरू “झन्‌ झन्‌ खराब हुँदै” गइरहेका छन्‌। (२ तिमोथी ३:१, १३) दुःखको कुरा, यौन दुराचारीहरूले थुप्रै केटाकेटीसित यौन दुर्व्यवहार गरेका छन्‌।

त्यसैले तपाईंले छोराछोरीलाई सानैदेखि यौनबारे सिकाउन थाल्नु महत्त्वपूर्ण छ। जर्मनीकी रेनाटा नामकी आमा भन्छिन्‌: “छोराछोरी किशोरावस्थामा पुगेपछि सिकाउँला भनेर बस्नुभयो भने त्यतिबेला उनीहरू तपाईंसित खुलेर कुरा गर्न नचाहन सक्छन्‌ किनभने त्यो उमेरमा उनीहरूलाई यौनबारे कुरा गर्न लाज वा अप्ठ्यारो लाग्न सक्छ।” त्यसैले महत्त्वपूर्ण कुरा हो, छोराछोरीलाई उनीहरूको उमेरअनुसार सिकाउनुहोस्‌।

स्कूल जाने उमेर नपुगेका केटाकेटीहरू: यौन अङ्‌गहरूको उचित नाम सिकाउनुहोस्‌ अनि त्यसलाई कसैले पनि छुनु हुँदैन भनेर राम्ररी बताउनुहोस्‌। मेक्सिकोकी हुलिया नामकी आमा भन्छिन्‌: “मेरो छोरा तीन वर्षको हुँदादेखि नै मैले सिकाउन थालें। शिक्षक, धाईआमा वा अलि ठूला केटाकेटीले पनि ऊसित नराम्रो व्यवहार गर्न सक्छन्‌ भन्‍ने सम्झँदा मलाई असाध्यै चिन्ता लाग्थ्यो। अरू मानिसहरूबाट आफूलाई कसरी जोगाउने भनी उसले थाह पाइराख्नुपर्छ।”

यसो गरे कसो होला? यदि कसैले तपाईंको छोरा वा छोरीको यौन अङ्‌गलाई सुमसुम्याउन खोज्यो भने ‘त्यसो नगर्नुस्‌!’ भनी ठूलो स्वरले भन्‍न सिकाउनुहोस्‌। उदाहरणको लागि, यसो भन्‍न सिकाउन सक्नुहुन्छ: “नगर्नुस्‌! म भन्दिन्छु है!” त्यस मानिसले उपहार दिन्छु भने तापनि वा धम्की नै दिए पनि यस्तो कुरा त लुकाउनु हुँदैन, भन्‍नै पर्छ भनेर छोराछोरीलाई सिकाउनुहोस्‌।

प्राथमिक विद्यालय जाने केटाकेटीहरू: यो उमेरमा केटाकेटीलाई अलि-अलि गरेर सिकाउन थाल्नुहोस्‌। पिटर नामका बुबा यस्तो सुझाव दिन्छन्‌: “उनीहरूलाई के थाह छ, पहिला त्यो बुझ्नुहोस्‌। त्यसपछि उनीहरू अझै जान्‍न चाहन्छन्‌ कि चाहँदैनन्‌ पत्ता लगाउनुहोस्‌। जबरजस्ती कुरा गर्ने प्रयास नगर्नुहोस्‌। तपाईंले नियमित तवरमा छोराछोरीसित कुरा गर्नुभयो भने उनीहरू आफै तपाईंसित कुरा गर्न आउनेछन्‌।”

यसो गरे कसो होला? एकैचोटि लम्बेतान छलफल गर्नुको साटो पटक-पटक गरेर छोटो-छोटो छलफल गर्नुहोस्‌। (व्यवस्था ६:६-९) यसो गर्नुभयो भने तपाईंका छोराछोरी अत्तालिनेछैनन्‌। साथै हुर्कंदै जाँदा उनीहरूलाई उमेरअनुसारको अनि उनीहरूको दिमागले भ्याउने जानकारी दिन सक्नुहुन्छ।

किशोरकिशोरीहरू: तपाईंका छोराछोरीले यौनसित सम्बन्धित शारीरिक, भावनात्मक वा नैतिक पक्षबारे यथेष्ट जानकारी पाउनुपर्ने उमेर यही हो। यसै लेखमा उल्लिखित १५ वर्षीया आना भन्छिन्‌: “मेरो स्कूलका साथीहरूलाई ‘रमाइलोको लागि’ मात्र यौनसम्बन्ध राख्नु सामान्य भइसक्यो। म ख्रीष्टियान भएको हुँदा मैले यौनको विषयमा यथेष्ट जानकारी त पाउनै पर्छ। यौनबारे कुरा गर्नु अप्ठ्यारो त लाग्छ तर के गर्ने, थाह त पाउनै पऱ्‍यो।”  d

होस पुऱ्‍याउनुपर्ने बुँदा: आमाबाबुले उल्टै आफूमाथि शङ्‌का गर्लान्‌ भनेर किशोरकिशोरी प्रश्‍न सोध्न हिचकिचाउन सक्छन्‌। यो कुरा स्टिभन नाम गरेका बुबाले महसुस गरे। तिनी भन्छन्‌: “हाम्रो छोरा यौनबारे कुरा गर्न हिचकिचाउने भयो। तर पछि थाह पायौं कि उसलाई हामीले शङ्‌का गरेजस्तो लागेछ। हामीले उसलाई शङ्‌का गरेकोले यस विषयमा कुरा गरेका होइनौं भनेर स्पष्टसित बुझाइदियौं। खराब कुराहरूको सामना गर्न ऊ सक्षम होस्‌ भनेर मात्र यस विषयमा कुरा गरेका हौं भनेर ढुक्क बनायौं।”

यसो गरे कसो होला? यौनसम्बन्धी कुनै खास विषयमा छोराछोरीलाई ठाडै प्रश्‍न सोध्नुको साटो उसको कक्षाका साथीहरूले कस्तो धारणा राख्छन्‌ भनेर सोध्न सक्नुहुन्छ। उदाहरणको लागि, यसो भन्‍न सक्नुहुन्छ कि: “आजकाल धेरैजसो मानिसलाई मुखमैथुन भनेको यौनसम्बन्ध राख्नु होइन जस्तो लाग्छ। के तिम्रो कक्षाका साथीहरूलाई पनि त्यस्तै लाग्छ?” यस्तो खाले प्रश्‍न सोध्नुभयो भने सायद तपाईंको किशोरकिशोरीले खुलेर आफ्नो धारणा व्यक्‍त गर्न सक्छन्‌।

अप्ठ्यारोपन हटाउने

हुनत आमाबाबुको हैसियतमा तपाईंलाई छोराछोरीसित यौनबारे कुरा गर्नु जत्तिको गाह्रो लाग्ने विषय अरू छैन होला। तर तपाईंको प्रयास बेकार जानेछैन। डायन नाम गरेकी आमा भन्छिन्‌: “समयको दौडान अप्ठ्यारोपन कम हुँदै जान्छ अनि बच्चासित यौनबारे कुरा गर्दा तपाईंहरूबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जान सक्छ।” माथि उल्लिखित स्टिभन यस बुँदासित सहमत छन्‌। तिनी भन्छन्‌: “परिवारमा खडा हुने जुनसुकै विषयबारे खुलेर कुरा गर्ने बानी नै बसाल्नुभएको छ भने यौनजस्तो अप्ठ्यारो विषयमा पनि कुरा गर्न सजिलो हुनेछ। यो अप्ठ्यारोपन पूर्णतया त कहिल्यै हट्‌नेछैन तर सुखी पारिवारिक जीवनको लागि खुलस्त कुराकानी अपरिहार्य छ।” ( w10 -E 11/01)

[फुटनोट]

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b Beyond the Big Talk.

c यस लेखमा आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुपर्ने महत्त्वबारे बताइएको छ। यस शृङ्‌खलाका आगामी लेखहरूमा छोराछोरीलाई नैतिक मूल्य-मान्यता कसरी सिकाउने भनेर छलफल गरिनेछ।

d यहोवाका साक्षीहरूद्वारा प्रकाशित युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ (अङ्‌ग्रेजी) पुस्तकको खण्ड २ को अध्याय १-५, २८, २९ र ३३ प्रयोग गरेर किशोरकिशोरीसित यौनबारे छलफल गर्नुहोस्‌।

[Caption on page 14]

आफैलाई सोध्नुहोस्‌ . . .

संसारका विभिन्‍न ठाउँका युवाहरूबाट प्राप्त निम्न टिप्पणीहरू पढ्‌नुहोस्‌ अनि त्यसको मुनि दिइएका प्रश्‍नहरू आफैलाई सोध्नुहोस्‌।

• “मेरा आमाबाबु भन्‍नुहुन्छ: ‘यौनबारे बताउने लेखहरू पढ अनि यदि कुनै प्रश्‍न छ भने मलाई आएर सोध।’ तर यसबारे उहाँहरू नै आएर कुरा गरिदिनुभए हुन्थ्यो जस्तो लाग्छ।”—आना, ब्राजिल।

छोराछोरीलाई कुनै पुस्तक वा लेख पढ्‌न दिनु मात्र यथेष्ट छैन जस्तो तपाईंलाई किन लाग्छ?

• “मलाई यौनबारे थाह भएका एकदमै खत्तम कुराहरूबारे बुबालाई त पत्तै छैन होला। मैले त्यसबारे सोधें भने उहाँ आत्तिनुहुन्छ होला।”—केन, क्यानाडा।

आफ्नो मनमा लागेको चिन्ताबारे कुरा गर्न तपाईंका छोराछोरी किन हिचकिचाउन सक्छन्‌?

• “मैले बल्लतल्ल आँट गरेर यौनबारे आमाबाबुलाई प्रश्‍न सोधेको मात्र के थिएँ उहाँहरूले उल्टै मलाई नै यसरी दोष लगाउन थाल्नुभयो, ‘किन चाहियो त्यस्तो कुरा? काम बिगाऱ्‍यौ कि क्या हो?’”—मासामी, जापान।

छोराछोरीले यौनबारे प्रश्‍न सोध्दा तपाईंको जवाफले कुरा गर्ने ढोका खोल्छ कि बन्द गर्छ?

• “आमाबाबु मेरो उमेरको हुँदा उहाँहरूको मनमा पनि यस्तै प्रश्‍नहरू आएका थिए र यो अस्वाभाविक होइन भनेर मलाई भनिदिनुभयो भने कस्तो ढुक्क हुनेथिएँ।”—लिजेट, फ्रान्स।

आफ्ना छोराछोरीलाई यौनबारे कुरा गर्न सजिलो होस्‌ भनेर तपाईं उनीहरूलाई कसरी ढुक्क बनाउन सक्नुहुन्छ?

• “आमाले मलाई यौनबारे प्रश्‍न सोध्नुहुन्थ्यो तर एकदमै मायालु स्वरमा। मलाई लाग्छ, यसो गर्नु महत्त्वपूर्ण छ किनभने यस्तो आवाज सुन्दा दोष लगाएको जस्तो महसुस हुँदैन।”—जेराल्ड, फ्रान्स।

आफ्नो छोरा वा छोरीसित यौनबारे कस्तो आवाजमा कुरा गर्नुहुन्छ? तपाईंको कुरा गर्ने शैलीमा केही छाँटकाँट गर्नुपर्ने पो छ कि?