सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हे परमप्रभु, तपाईंले मलाई . . . चिन्‍नुभएको छ”

“हे परमप्रभु, तपाईंले मलाई . . . चिन्‍नुभएको छ”

परमेश्‍वरको नजिक हुनुहोस्‌

“हे परमप्रभु, तपाईंले मलाई . . . चिन्‍नुभएको छ”

“‘कसैले मेरो वास्ता गर्दैन वा कसैले मेरो कुरा बुझ्दैन’ भन्‍ने महसुस गर्नुभन्दा ठूलो बोझ मानिसले सहन सक्दैन” भनी लेखक आर्थर एच. स्टेनब्याकले बताए। के तपाईं यी शब्दहरूसित सहमत हुनुहुन्छ? के तपाईंले कहिल्यै यस्तो महसुस गर्नुभएको छ: ‘मलाई कस्तो लागिरहेको छ भनेर बुझ्नु त परै जाओस्‌, कसैलाई मेरो वास्तासमेत छैन’? यसो हो भने यो कुरा थाह पाउँदा सान्त्वना पाउनुहुन्छ होला: यहोवा आफ्ना उपासकहरूको असाध्यै ख्याल गर्नुहुन्छ। त्यसैले आफ्नो दिनचर्यामा लाग्दा तिनीहरू के-कस्तो अवस्थाबाट गुज्रनुपर्छ भनी उहाँले एक-एक कुरा याद गर्नुहुन्छ। भजन १३९ मा पाइने दाऊदका शब्दहरूले हामीलाई उक्‍त सत्यताको आश्‍वासन दिन्छ।

परमेश्‍वरले आफ्नो ख्याल गर्नुहुन्छ भनी ढुक्क हुँदै दाऊद यसो भन्छन्‌: “हे परमप्रभु, तपाईंले मलाई जाँचेर चिन्‍नुभएको छ।” (पद १) दाऊदले यहाँ सुन्दर शब्दचित्र प्रयोग गरेका छन्‌। “जाँचेर” भनी अनुवाद गरिएको हिब्रू क्रियाले खनिजको लागि खन्‍ने (अय्यूब २८:३), देशको भेद लिने (न्यायकर्त्ता १८:२) वा मुद्दाको लागि सोध-खोज गरेर राम्ररी केरकार गर्ने (व्यवस्था १३:१४) भन्‍ने अर्थ बुझाउँछ। यहोवाले हामीलाई असाध्यै राम्ररी चिन्‍नुहुन्छ, मानौं उहाँले हाम्रो अस्तित्वको प्रत्येक पक्ष र एक-एक कुरा नियाल्नुभएको छ। दाऊदले “मलाई” सर्वनाम प्रयोग गरेका छन्‌ र यसबाट तिनी हामीलाई के सिकाउन चाहन्छन्‌ भने, परमेश्‍वरले आफ्ना प्रत्येक सेवकको व्यक्‍तिगत तवरमा ख्याल गर्नुहुन्छ। उहाँले तिनीहरूलाई जाँच्नुहुन्छ र व्यक्‍तिविशेषको रूपमा चिन्‍नुहुन्छ।

परमेश्‍वरले कत्तिको विस्तृत तवरमा जाँच्नुहुन्छ भन्‍ने सन्दर्भमा दाऊद थप यसो भन्छन्‌: “तपाईंले मेरो बसाइ र मेरो उठाइ जान्‍नुहुन्छ, तपाईंले टाढैबाट मेरो विचार बुझ्नुहुन्छ।” (पद २) एक अर्थमा भन्‍नुपर्दा यहोवा धेरै ‘टाढा’ स्वर्गमा बस्नुहुन्छ। तैपनि, सायद दिनको अन्तमा हामी कहिले बस्छौं अनि बिहान कतिखेर उठेर आफ्नो दिनचर्या थाल्छौं, त्यो सबै उहाँलाई थाह छ। उहाँलाई हाम्रो सोचाइ, चाहना अनि मनसाय पनि थाह छ। यहोवाले यसरी नजिकबाट नियाल्दा के दाऊदलाई अप्ठ्यारो लाग्छ? अहँ लाग्दैन, बरु तिनी खुसी मान्छन्‌। (पद २३, २४) किन?

यहोवाले राम्रो मनसाय राखेर आफ्ना उपासकहरूलाई जाँच्नुहुन्छ भनी दाऊदलाई थाह छ। यही मनसायलाई सङ्‌केत गर्दै दाऊद लेख्छन्‌: “तपाईंले मेरो चाल र मेरो सुताइ ठीक-ठीक गरेर जाँच गरी चिन्‍नुहुन्छ, र मेरो सबै चालचलनको भेद थाह पाउनुहुन्छ।” (पद ३) हरेक दिन यहोवाले ‘हाम्रो सबै चालचलन’ हेर्नुहुन्छ अर्थात्‌ हाम्रा गल्ती तथा असल काम दुवै जान्‍नुहुन्छ। उहाँले कुन कुरालाई ध्यान दिनुहुन्छ? असल कामलाई कि खराबलाई? “जाँच” भनी अनुवाद गरिएको हिब्रू शब्दले “छान्‍नु” वा “निफन्‍नु” भन्‍ने अर्थ बुझाउँछ। किसानले पनि यसरी नै अन्‍नबाट भुस निफन्छ। “भेद थाह पाउनुहुन्छ” भनी अनुवाद गरिएको हिब्रू शब्दले “कदर गर्नु” भन्‍ने अर्थ बुझाउँछ। आफ्ना उपासकहरूले हरेक दिन भन्‍ने र गर्ने कुरालाई जाँच्दा यहोवाले तिनीहरूको असल कुराको कदर गर्नुहुन्छ। किन? किनभने यहोवा आफ्ना उपासकहरूले उहाँलाई खुसी पार्न गरेको प्रयासको कदर गर्नुहुन्छ।

भजन १३९ ले यहोवा आफ्ना उपासकहरूको असाध्यै ख्याल गर्नुहुन्छ भनी सिकाउँछ। उहाँ तिनीहरूलाई जाँच्नुहुन्छ अनि तिनीहरू हरेक दिन आफ्नो दिनचर्यामा लाग्दा तिनीहरूको निगरानी गर्नुहुन्छ। उहाँलाई तिनीहरूले सामना गर्ने समस्याहरूबारे थाह छ अनि ती कठिनाइहरूले गर्दा हुन सक्ने पीडा उहाँ बुझ्नुहुन्छ। के तपाईं यस्तो मायालु परमेश्‍वरको उपासना गर्न जुरमुरिनु हुन्‍न र? जुरमुरिनुहुन्छ भने तपाईं यो कुरामा पक्का हुन सक्नुहुन्छ: तपाईंले “परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई” यहोवाले कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ६:१०. (w11-E 09/01)