पहिलो कोरिन्थी ६:१-२०

  • ख्रिष्टियन भाइहरूबीच मुद्दामामिला (१-८)

  • परमेश्‍वरको राज्यको हकदार नहुनेहरू (९-११)

  • आफ्नो शरीरले परमेश्‍वरको महिमा गर (१२-२०)

    • “अवैध यौनसम्बन्धदेखि भाग!” (१८)

 तिमीहरूमध्ये कोही दुई जनाबीच मतभेद हुँदा+ पवित्र जनहरूसामु जानुको साटो अधर्मी मानिसहरूसामु अदालत जाने हिम्मत कसरी गर्छौ? २  अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको छिनोफानो गर्न चाहिँ अयोग्य छौ? ३  हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए यस जीवनका कुराहरूको न्यायचाहिँ किन नगर्ने? ४  त्यसो हो भने तिमीहरूबीच यस जीवनका कुराहरूको छिनोफानो गर्नुपर्दा+ मण्डलीले अयोग्य ठानेका मानिसहरूलाई किन तिमीहरू आफ्नो न्यायाधीश बनाउँछौ? ५  तिमीहरूलाई सरममा पार्न म यो कुरा भन्दै छु। के तिमीहरूमाझ आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने बुद्धिमान्‌ मानिस कोही छैन? ६  त्यसो गर्नुको साटो एक जना भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ, त्यो पनि बेग्लै आस्था भएकाहरूसामु! ७  साँच्चै भन्‍ने हो भने तिमीहरूले एकअर्कालाई मुद्दा लगाउनु तिमीहरूको हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ?+ बरु तिमीहरू किन ठगिएरै बस्दैनौ? ८  त्यसो गर्नुको साटो तिमीहरू अन्याय गर्छौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई! ९  अधर्मी मानिसहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ नबहकिओ।* अवैध यौनसम्बन्ध* राख्नेहरू,+ मूर्तिपूजकहरू,+ व्यभिचार* गर्नेहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्न आफूलाई सुम्पने पुरुषहरू,+ समलिङ्‌गी यौनसम्बन्ध राख्ने पुरुषहरू,*+ १०  चोरहरू, लोभीहरू,+ पियक्कडहरू,+ गालीगलौज गर्नेहरू* र लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।+ ११  तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ,+ पवित्र पार्नुभएको छ+ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्‍तिद्वारा धर्मी ठहराउनुभएको छ।+ १२  सबै कुरा मेरो लागि न्यायसङ्‌गत* छन्‌ तर सबै कुरा फाइदाजनक भने छैनन्‌।+ सबै कुरा मेरो लागि न्यायसङ्‌गत छन्‌ तर म आफूलाई कुनै कुराको वशमा पर्न दिन्‍नँ। १३  खानेकुरा पेटको लागि र पेट खानेकुराको लागि हो तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ।+ शरीर अवैध यौनसम्बन्धको* लागि होइन तर प्रभुको लागि हो+ अनि प्रभुचाहिँ शरीरको लागि हुनुहुन्छ। १४  तर परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा+ प्रभुलाई मृत्युबाट ब्युँताउनुभयो+ र हामीलाई पनि ब्युँताउनुहुनेछ।+ १५  तिमीहरूका शरीर ख्रिष्टका अङ्‌गहरू हुन्‌ भनेर के तिमीहरूलाई थाह छैन?+ त्यसोभए के म ख्रिष्टका अङ्‌गहरूलाई लगेर वेश्‍याका अङ्‌गहरूसित जोडूँ? त्यस्तो त हुनै सक्दैन! १६  जो वेश्‍यासित जोडिन्छ, ऊ र त्यो वेश्‍या एउटै शरीर हुन्छन्‌ भनेर के तिमीहरूलाई थाह छैन? किनकि परमेश्‍वर भन्‍नुहुन्छ, “ती दुई एउटै शरीर हुन्छन्‌।”+ १७  तर जो प्रभुसित जोडिन्छ, उसको र प्रभुको झुकाव एउटै हुन्छ।+ १८  अवैध यौनसम्बन्धदेखि* भाग!+ मानिसले गर्ने अरू सबै पाप उसको शरीरबाहिरको हुन्छ तर जसले अवैध यौनसम्बन्ध राख्ने गर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ।+ १९  के तिमीहरूलाई थाह छैन, तिमीहरूको शरीर तिमीहरूमा बास गर्ने त्यस पवित्र शक्‍तिको मन्दिर हो,+ जुन तिमीहरूले परमेश्‍वरबाट पाएका हौ?+ साथै आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन+ २०  किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।+ त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्‍वरको महिमा गर।+

फुटनोटहरू

वा “धोकामा नपर।”
वा “पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू।”
शब्दावली हेर्नुहोस्‌।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
वा “मौखिक दुर्व्यवहार गर्नेहरू।”
वा “जायज।”
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।