सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै

प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै

फेब्रुअरी १, २०२१

 सन्‌ २०२० मा हामीले थुप्रै प्राकृतिक प्रकोपको सामना गर्नुपऱ्‍यो र विश्‍वभरि नै कोभिड-१९ महामारीले उग्र रूप लिँदै गयो। यस्ता प्रकोपहरूको मारमा परेकाहरूलाई यहोवाका साक्षीहरूले कसरी मदत गरेका छन्‌?

 सेवा वर्ष २०२० * मा परिचालक निकायको संयोजन समितिले प्रकोप राहतकार्यको लागि २ करोड ८० लाख अमेरिकी डलर (लगभग ३ अरब २६ करोड २३ लाख ५० हजार नेपाली रुपैयाँ) खर्च गर्ने अनुमति दियो। कोभिड-१९ महामारी, उष्ण क्षेत्रमा आएको थुप्रै आँधी, अफ्रिकाको बाढीपहिरो, भेनेजुएलामा खानेकुराको अभाव र जिम्बावेको खडेरीलगायत २०० भन्दा धेरै प्राकृतिक प्रकोपको मारमा परेकाहरूको लागि राहतको प्रबन्ध गर्न यो पैसा खर्च गरियो। अनुदानस्वरूप आएको यो रकम खानेकुरा, पानी, बस्ने ठाउँ, लत्ताकपडा र औषधी उपचारको खर्च बेहोर्न अनि सरसफाइ, मर्मतसम्भार र निर्माणकार्यका सामग्रीहरू किन्‍न प्रयोग गरियो। राहतकार्यका केही उदाहरणहरू विचार गरौँ।

 कोभिड-१९। यस महामारीले विश्‍वभरिका हाम्रा भाइबहिनीलाई शारीरिक, भावनात्मक र आर्थिक रूपमा असर गरेको छ। तिनीहरूलाई मदत गर्न विश्‍वभरि ८०० भन्दा धेरै प्रकोप राहत समिति गठन गरियो। यी समितिहरूले हाम्रा भाइबहिनीको आवश्‍यकता बुझेर संयोजन समितिलाई तुरुन्तै रिपोर्टहरू पठाए र ती रिपोर्टहरूको आधारमा संयोजन समितिले राहतकार्यलाई अझ प्रभावकारी ढङ्‌गमा अघि बढाउन सक्यो।

 वर्षभरि नै प्रकोप राहत समितिहरूले थुप्रैलाई खानेकुरा, पानी, सरसफाइका सामग्रीहरू र औषधीहरूको प्रबन्ध गरिदिए। कुनै-कुनै ठाउँमा त प्रकोप राहत समितिले स्थानीय एल्डरहरूसित मिलेर भाइबहिनीलाई सरकारले प्रदान गर्ने सुविधाहरू पाउन मदत गऱ्‍यो।

 अरू मानिसहरूले पनि हाम्रो राहतकार्यलाई याद गरे। जस्तै, जाम्बियाको नाकोन्डेको जिल्ला अधिकारी फिल्ड सिम्विङ्‌गाले यसो भने: “पीडित परिवारहरूलाई समयमै अत्यावश्‍यक कुराहरूको प्रबन्ध मिलाउन तपाईँहरूले गर्नुभएको मेहनतको लागि हामी आभारी छौँ।”

 अङ्‌गोलामा खानेकुराको अभाव। कोभिड-१९ महामारीले गर्दा अङ्‌गोलामा खानेकुराको अभाव भयो र रातारात सामानहरूको भाउ अकासियो। महँगीले गर्दा हाम्रा थुप्रै भाइबहिनीले खानेकुरा किन्‍न सकेनन्‌।

ब्राजिलबाट अङ्‌गोलामा खानेकुराहरू पठाइयो

 ब्राजिल शाखालाई अङ्‌गोलाका भाइबहिनीको लागि खानेकुरा पठाइदिन आग्रह गरियो। राहत कोषको सदुपयोग होस्‌ भनेर हाम्रा भाइहरूले खानेकुरा किन्‍ने र पठाउने विकल्पहरूबारे राम्ररी खोज-अनुसन्धान गरे र खानेकुराहरू एकै चोटि धेरै मात्रामा किनियो। यसो गर्दा एक प्याकेट खानेकुराको मूल्य र त्यसको ढुवानी खर्च औसतमा २२ अमेरिकी डलर (२,५०० नेपाली रुपैयाँ) मात्र पर्न आयो। प्रत्येक प्याकेटमा चामल, गेडागुडी र तेलजस्ता खाद्य सामग्रीहरू राखिएका थिए र त्यसको तौल लगभग २० किलोग्राम थियो। आजको मितिसम्म ६५४ मेट्रिक टन बराबरको ३३,५४४ प्याकेट खानेकुरा ढुवानी भइसकेका छन्‌। त्यस्ता प्याकेटहरूसँगै स्थानीय खानेकुराहरू पनि पठाइएको थियो। यस्तो प्रबन्धले ५०,००० भन्दा धेरै मानिसको आवश्‍यकता पूरा गऱ्‍यो।

 यस्तो राहतकार्यबाट लाभ उठाएका हाम्रा भाइबहिनीले कस्तो महसुस गरेका छन्‌? अङ्‌गोलाको विकट गाउँमा बस्ने अलेक्जान्ड्रे यसो भन्छन्‌: “यस्तो प्रबन्धले गर्दा यहोवा मलाई माया गर्नुहुन्छ र म एक्लो छैनँ भनेर महसुस गर्न सकेको छु। यहोवाको सङ्‌गठनले मलाई अनमोल ठान्छ!” एक्ली आमा मारिजा यसो भन्छिन्‌: “यहोवाले मेरो बिन्ती सुन्‍नुभयो। म उहाँ र उहाँको सङ्‌गठनलाई धन्यवाद दिन्छु।”

राहत सामग्रीको लागि अङ्‌गोलाका हाम्रा भाइबहिनीहरू कृतज्ञ छन्‌

 जिम्बावेमा खडेरीको मारमा परेकाहरूलाई राहत। सेवा वर्ष २०२० को दौडान जिम्बावेमा चरम खडेरी पऱ्‍यो, जसले गर्दा लाखौँ मानिस भोकमरीको सिकार भए। जिम्बावेका हजारौँ साक्षीलाई पर्याप्त खानेकुराको अभाव भयो।

 हाम्रा भाइबहिनीको लागि खानेकुराको प्रबन्ध गर्न पाँच वटा प्रकोप राहत समिति गठन गरियो। सयौँ प्रकाशकले खानेकुरा प्याक गर्ने र गाडीमा लोड गर्ने काममा सघाए अनि कतिपयले त ती खानेकुराहरू ठाउँ-ठाउँमा पुऱ्‍याउन आफ्नै गाडी पनि चलाउन दिए। * सेवा वर्ष २०२० को दौडान २२,७०० जनाको लागि खानेकुराको प्रबन्ध गर्न ६ लाख ९१ हजार ५ सय ६१ अमेरिकी डलर (लगभग ८ करोड ५ लाख ८८ हजार नेपाली रुपैयाँ) खर्च गरियो।

जिम्बावेका हाम्रा भाइबहिनीले राहत समितिले प्रबन्ध गरेको खानेकुरा पाउँछन्‌ (महामारीअघि)

 केही ठाउँमा त राहत सामग्री नआउन्जेल हाम्रा भाइबहिनीले आफूसित भएको खानेकुरा बाँडचुँड गरे। खानेकुरा आएपछि हाम्रा भाइबहिनीले यहोवाको प्रशंसा गरे। केहीले त राज्यगीत समेत गाउन थाले।

 एउटा ठाउँमा एक गैरसरकारी सङ्‌गठनले प्रकोप पीडितहरूको लागि खानेकुराको प्रबन्ध गर्नेबारे छलफल गर्न एउटा सभा राखेको थियो। हाम्रा दुई जना विधवा बहिनी पनि त्यहाँ गए तर त्यो छलफल राजनैतिक विषयतर्फ मोडिन थाल्यो। राहत लिन चाहनेहरूले केही सर्तहरू पूरा गर्नुपर्थ्यो तर हाम्रा बहिनीहरू ती सर्तहरू पूरा गर्न राजी भएनन्‌। तिनीहरू त्यो सभाबाट जान लाग्दा मानिसहरूले तिनीहरूको खिल्ली उडाउँदै यसो भने, “अब फेरि खानेकुरा पाउने आसमा यहाँ नआए हुन्छ!” तर त्यसको दुई हप्तापछि राहत समितिका भाइहरू त्यस इलाकामा पुगे र हाम्रा भाइबहिनीलाई खानेकुरा दिए। तर त्यो गैरसरकारी सङ्‌गठनले भने अझै पनि खानेकुरा बाँड्‌न थालेको थिएन!

प्रिस्का यसो भन्छिन्‌: “यहोवा आफ्ना जनहरूलाई कहिल्यै त्याग्नुहुन्‍न”

 राहतकार्यले गर्दा जिम्बावेमा मानिसहरूले राम्रो साक्षी पाए। उदाहरणको लागि, एउटा सानो गाउँमा बस्ने प्रिस्काको अनुभव विचार गरौँ। खडेरीले गर्दा अवस्था निकै गाह्रो भए पनि प्रिस्का हरेक बुधबार र शुक्रबार प्रचारमा भाग लिन्थिन्‌, खेत खनजोत गर्ने समयमा समेत। गाउँलेहरूले तिनलाई यसो भन्दै गिज्याउँथे: “खाली प्रचार-प्रचार भन्दै हिँड्‌छौ, तिम्रो परिवार भोकभोकै बस्नुपर्ला है!” प्रिस्का यस्तो जवाफ दिन्थिन्‌: “यहोवा आफ्ना जनहरूलाई कहिल्यै त्याग्नुहुन्‍न।” त्यसको केही समयपछि तिनले हाम्रो सङ्‌गठनबाट राहत सामग्री पाइन्‌। यो देखेर प्रिस्काका केही छिमेकीहरू प्रभावित भए र तिनलाई यसो भने: “तिम्रो परमेश्‍वरले तिमीलाई त्याग्नुभएन। हामी पनि उहाँबारे सिक्न चाहन्छौँ।” तिनका सात जना छिमेकीले अहिले रेडियोबाट प्रसारण भइरहेको हाम्रो सभाका कार्यक्रमहरू सुन्दै छन्‌।

 अन्त नजिकिँदै जाँदा हामीले अझ धेरै प्राकृतिक प्रकोपहरूको सामना गर्नुपर्नेछ। (मत्ति २४:​३, ७) तपाईँहरूले उदार हुँदै donate.dan124.com मा पाइने विभिन्‍न तरिका चलाएर दिनुभएको अनुदानको लागि धन्यवाद छ। यस्तो अनुदानले गर्दा खाँचोमा परेकाहरूलाई तुरुन्तै मदत गर्न सकिएको छ।

^ अनु. 2 सेवा वर्ष २०२० भनेको सेप्टेम्बर २०१९ देखि अगस्त २०२० सम्मको अवधि हो।

^ अनु. 10 कोभिड-१९ महामारीको कारण सरकारले केही रोक लगाएकोले हाम्रा भाइहरूले ठाउँ-ठाउँमा खानेकुरा पुऱ्‍याउन सरकारसित अनुमति लिनुपरेको थियो। यस भाइरसको सङ्‌क्रमणदेखि जोगिन हाम्रा भाइहरूले विभिन्‍न होसियारी अपनाए।