सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ

भरपर्दो र विश्‍वास बलियो बनाउने समाचारहरू

भरपर्दो र विश्‍वास बलियो बनाउने समाचारहरू

डिसेम्बर १, २०२१

 यहोवाका साक्षीहरू सङ्‌गी भाइबहिनीप्रति गहिरो चासो राख्छन्‌। (१ पत्रुस २:१७) हामीमध्ये धेरै जना केन्यामा बस्ने टानिसले जस्तै महसुस गर्छौँ। तिनी भन्छिन्‌: “मलाई विश्‍वभरिका मेरा प्रिय भाइबहिनीको अवस्थाबारे थाह पाउन मन पर्छ।” टानिस र अरू लाखौँ साक्षीले कसरी ती जानकारी पाउँछन्‌? सन्‌ २०१३ देखि हामीले jw.org वेबसाइटको समाचार खण्डमा ती जानकारी पाउन सकेका छौँ।

 समाचार खण्डमा यहोवाका साक्षीहरूसित सम्बन्धित विभिन्‍न विषय जस्तै, बाइबल विमोचन, प्रकोप राहतकार्य, निर्माण परियोजना र अन्य महत्त्वपूर्ण घटनाबारे भरपर्दो रिपोर्ट पाउन सकिन्छ। यसमा विश्‍वासको खातिर जेलमा परेका हाम्रा भाइबहिनीबारे पनि जानकारी पाइन्छ। साथै साक्षी दिने अभियान र स्मरणार्थ उत्सवसम्बन्धी प्रोत्साहनदायी अनुभवहरू पनि पाउन सकिन्छ। यी समाचारहरू तयार गर्न कसले अनुसन्धान गर्छ र यी कसरी तयार गरिन्छ?

समाचारहरू पहिचान गर्ने र रिपोर्टिङ गर्ने

 समाचार खण्डलाई व्यवस्थित पार्ने काम जनसूचना विभागले गर्छ। यो विभाग विश्‍व मुख्यालयमा छ र यसले परिचालक निकायको संयोजन समितिको मातहतमा रहेर काम गर्छ। जनसूचना विभागमा १०० भन्दा धेरै भाइबहिनीहरू छन्‌, जसमा लेखक, अनुसन्धानकर्ता, दृश्‍य कलाकार र अनुवादकहरू समावेश छन्‌। यीमध्ये धेरै जना घरैबाट काम गर्ने स्वयंसेवकहरू हुन्‌। अरू भने सरकारी अधिकारीहरू, शिक्षाविद्‌हरू र मिडियासित सम्पर्क गर्ने काम गर्छन्‌। जनसूचना विभागलाई विश्‍वभरि रहेका शाखाहरूबाट ८० भन्दा बढी जनसूचना एकाइले सहयोग गर्छ।

 समाचार तयार पार्न जनसूचना विभागले जनसूचना एकाइसित मिलेर काम गर्छ। हाम्रा भाइहरूले समाचार खण्डको लागि राम्रो विषयवस्तु भेट्टाएपछि त्यसबारे अनुसन्धान गर्छन्‌ र भरपर्दो जानकारीहरू जम्मा गर्छन्‌। यसमा विशेषज्ञहरूसित अन्तरवार्ता लिनु र छलफल गर्नु पनि समावेश छ। तथ्यहरू जम्मा गरेपछि समाचार लेखिन्छ, सम्पादन गरिन्छ, पुनः जाँच गरिन्छ, फोटोहरू राखिन्छ अनि स्वीकृतिको लागि संयोजन समितिलाई पठाइन्छ।

कृतज्ञताका शब्दहरू

 समाचार खण्डबारे हाम्रा सङ्‌गी उपासकहरू कस्तो महसुस गर्छन्‌? फिलिपिन्समा बस्ने एक बहिनी सेरल यसो भन्छिन्‌: “यहोवाको सङ्‌गठन र उहाँका जनहरूबारे समाचार पढेर दिनको सुरुवात गर्न मलाई साँच्चै मन पर्छ।”

 धेरै पाठकहरू jw.org को समाचार खण्ड र अन्य समाचार माध्यमबीचको भिन्‍नताबारे बताउँछन्‌। काजकस्तानमा बस्ने टाटियाना भन्छिन्‌: “हाम्रो वेबसाइट jw.org को समाचारमा भरोसा गर्न सकिने भएकोले म निकै कृतज्ञ छु। यो विश्‍वासिलो र भरपर्दो छ।” मेक्सिकोमा बस्ने एक बहिनी अल्मा यसो भन्छिन्‌: “अरू माध्यमबाट आउने निराशाजनक समाचारहरूभन्दा jw.org मा भएका समाचार निकै प्रोत्साहनदायी छ।”

 यो समाचार खण्ड भरपर्दो हुनुका साथै यसले हाम्रो विश्‍वास पनि बलियो बनाउँछ। केन्यामा बस्ने बर्नर्ड भन्छन्‌: “यस समाचार खण्डले विश्‍वभरि रहेका जुनसुकै ठाउँका भाइबहिनीलाई आफ्नै परिवारको रूपमा हेर्न मलाई मदत गरेको छ। मैले प्रार्थनामा उहाँहरूको नाउँ र अवस्था तोकेरै समावेश गर्न सकेको छु।” केन्यामा बस्ने बहिनी बाइब्रन भन्छिन्‌: “विभिन्‍न भाषामा बाइबल विमोचन भएको कुनै लेख देख्दा मलाई एकदमै खुसी लाग्छ। यी लेखहरूले यहोवा पक्षपाती हुनुहुन्‍न भनेर मलाई सम्झाउँछ।”

समाचार खण्डमा भएका लेखहरूले परीक्षाको सामना गरिरहेका विश्‍वभरिका भाइबहिनीहरूबारे तोकेरै प्रार्थना गर्न हामीलाई उत्प्रेरित गर्छ

 भाइहरूले सतावटको सामना गर्नुपरेको समाचारहरूले समेत हामीमा सकारात्मक तरिकामा प्रभाव पार्न सक्छ। केन्यामा बस्ने ज्याकलीन भन्छिन्‌: “मैले उहाँहरूको साहस अनुकरण गर्दा आफ्नो विश्‍वास बलियो बनाउन सकेको छु। म सधैँ उहाँहरूलाई सतावटको सामना गर्न केले मदत गऱ्‍यो भनेर याद गर्छु। प्रार्थना, बाइबल पढाइ अनि गीत गाउने जस्ता साधारण देखिने कुराहरू पनि ती भाइहरूलाई बलियो बनाउन कत्ति उपयोगी साबित भएको छ भनेर मैले थाह पाएकी छु।”

 कोस्टा रिकामा बस्ने बिएट्रिज नाम गरेकी एक बहिनी प्राकृतिक प्रकोपबारे दिइएको समाचारप्रति कृतज्ञ छिन्‌। तिनी यसो भन्छिन्‌: “हाम्रो सङ्‌गठनले कसरी छिटो, प्रभावकारी र मायालु तरिकामा भाइबहिनीहरूको आवश्‍यकता पूरा गर्छ भनेर थाह पाउन यस समाचार खण्डले मलाई मदत गरेको छ। यसले गर्दा यहोवाको सङ्‌गठन यही नै हो भनेर म पक्का भएकी छु।”

 हाम्रा विश्‍वभरिका भाइबहिनीबारे ताजा खबरहरू सुन्‍न पाउँदा हामी कत्ति कृतज्ञ छौँ! तपाईँहरूले विश्‍वव्यापी कार्यको लागि पठाउनुभएको अनुदानविना यो सम्भव हुने थिएन, जुन donate.dan124.com मार्फत पनि दिइने गरिन्छ। तपाईँहरूले उदार भई दिनुभएको अनुदानको लागि धन्यवाद छ।