सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

सन्‌ २०२१ मा राहतकार्य—हाम्रा भाइबहिनी त्यागिएका छैनन्‌

सन्‌ २०२१ मा राहतकार्य—हाम्रा भाइबहिनी त्यागिएका छैनन्‌

जनवरी १, २०२२

 सेवा वर्ष २०२१ * भरि नै कोभिड-१९ महामारीले पूरै विश्‍वलाई आक्रान्त बनायो। “विश्‍वव्यापी महामारीको लागि विश्‍वव्यापी राहतकार्य” भन्‍ने लेखमा बताइएअनुसार हामीले राहतकार्यको लागि लाखौँ अमेरिकी डलर खर्च गऱ्‍यौँ र ९५० वटाभन्दा धेरै प्रकोप राहत समिति गठन गऱ्‍यौँ।

 एकातिर महामारीले विकराल रूप लिँदै थियो भने अर्कोतिर प्राकृतिक र मानव निर्मित प्रकोपले विभिन्‍न देशका भाइबहिनीलाई असर गरिरहेको थियो। परिचालक निकायको संयोजक समितिले त्यस्ता २०० वटाभन्दा धेरै प्रकोपमा र कोभिड-१९ महामारीमा परेकाहरूलाई राहत दिन ८० लाख अमेरिकी डलर (लगभग ९४ करोड ९८ लाख २२ हजार नेपाली रुपियाँ) खर्च गर्ने अनुमति दिइयो। हालैको दुई वटा प्रकोपमा परेका पीडितहरूलाई मदत गर्न तपाईँको अनुदान कसरी प्रयोग गरियो, आउनुहोस्‌ अब विचार गरौँ।

माउन्ट निरागङ्‌गोमा ज्वालामुखी विस्फोट

 मे २२, २०२१ मा प्रजातान्त्रिक गणतन्त्र कङ्‌गोको माउन्ट निरागङ्‌गोमा ज्वालामुखी विस्फोट सुरु भयो। विस्फोटनबाट निस्केको लाभाले घर, स्कुल र जलाशय ध्वस्त पाऱ्‍यो। तर खतराको कुरा लाभा मात्र थिएन। विस्फोट भएको धेरै दिनसम्म विषाक्‍त धुलो र धुवाँले गोमा सहरलाई पूरै असर गऱ्‍यो र दर्जनौँ भूकम्पका धक्काहरू पनि महसुस गरिए। त्यस सहरका आधाभन्दा धेरै मानिसलाई त्यो ठाउँ छोड्‌ने आदेश दिइयो। हजारौँ मानिस त्यो ठाउँ छोडेर गए र केही त सीमापारि रूवाण्डासम्म पुगे।

स्थानीय राहत समितिले सभाभवनमा तात्तातो पोरिजको प्रबन्ध गऱ्‍यो

 आफ्नो सहर छोडेर गएकाहरूमध्ये लगभग ५,००० यहोवाका साक्षी पनि थिए। विस्फोटनले केहीको घर ध्वस्त पाऱ्‍यो अनि घर छोडेर गएपछि केहीको घरमा लुटपाट भयो। रूवाण्डा र कङ्‌गोका राहत समितिहरूले राहतको प्रबन्ध गर्न सँगै मिलेर काम गऱ्‍यो। एउटा राहत समितिको विषयमा कङ्‌गो (किन्शासा) शाखाले यस्तो रिपोर्ट दियो: “सहरमा तनावपूर्ण अवस्था थियो र सरकारले पनि सहर छोडेर जाने आदेश दिइसकेको थिएन। तर राहत समितिले खानेकुरा, पानी, ओढ्‌ने-ओछ्याउने र लत्ताकपडा वितरण गरिसकेको थियो।” एउटा सहरमा राहत समितिले आफ्नो ठाउँ छोडेर आएका २,००० भन्दा धेरै भाइबहिनीको लागि पाल र मास्कको प्रबन्ध गऱ्‍यो अनि कोभिड-१९ को सङ्‌क्रमण र हैजादेखि जोगिने तरिकाहरू सिकायो।

घर छोड्‌न बाध्य भएका भाइबहिनीलाई खानेकुरा वितरण गर्नुअघि जोख्दै

 विस्फोटन भएको तीन महिनाभित्रै हाम्रा भाइहरूले ६ टनभन्दा धेरै चामल, ६ टनभन्दा धेरै मकैको पीठो, ८,००० लिटरभन्दा धेरै खाने तेल र ८,००० लिटरभन्दा धेरै पानी वितरण गरिसकेको थियो। खर्च कम गर्न शाखाले अरू देशबाट महँगो खानेकुरा मगाउनुको सट्टा स्थानीय तवरमा उपलब्ध खानेकुरा ठूलो परिमाणमा किन्यो।

 विस्फोटनले गर्दा एउटी बहिनीको नयाँ घर क्षतिग्रस्त भयो। तर तिनको परिवारले राहत सामग्री मात्र होइन, आध्यात्मिक मदत पनि पायो। तिनी अहिले यसो भन्छिन्‌: “हामी निकै निराश भएका थियौँ तर यहोवाले हाम्रो आवश्‍यकता पूरा गरिदिनुभयो। यहोवाले हाम्रो भारी बोकिदिनुभयो र त्यसले गर्दा हामीलाई सहन निकै सजिलो भयो।”

भेनेजुएलामा चरम आर्थिक सङ्‌कट

 गत केही वर्षदेखि भेनेजुएलाका मानिसहरूले चरम आर्थिक सङ्‌कट खेप्दै आएका छन्‌। त्यहाँका भाइबहिनीको जीवन निकै कष्टकर छ, खानेकुराको अभाव छ र दिनदिनै अपराध बढ्‌दै छ। तैपनि यहोवाको सङ्‌गठनले तिनीहरूलाई त्यागेको छैन।

भेनेजुएलाको विभिन्‍न ठाउँमा पठाउन चामलको बोरा लोड गर्दै

 गत सेवा वर्षमा खाँचोमा परेकाहरूको लागि खानेकुरा र साबुन किन्‍न अनि ढुवानी गर्न १५ लाखभन्दा धेरै अमेरिकी डलर (लगभग १७ करोड ८० लाख ९२ हजार नेपाली रुपियाँ) खर्च भयो। भेनेजुएला शाखा यस्तो रिपोर्ट गर्छ: “प्रत्येक महिना देशको कुना-कुनासम्म १३० टन खानेकुरा ढुवानी गर्नु र खाँचोमा परेको भाइबहिनीको हात-हातसम्म पुऱ्‍याउनु सजिलो कुरा होइन।” हाम्रा भाइहरू अक्सर चाँडै नबिग्रने खानेकुरा पठाउँछन्‌। भेनेजुएला शाखा अझै भन्छ: “हामी मौसमअनुसार अनि सस्तो भएको समयमा ठूलो परिमाणमा खानेकुरा किन्छौँ। त्यसपछि सबैभन्दा किफायती माध्यमबाट खानेकुरा ढुवानी गर्छौँ।”

इन्धन र सवारीसाधन पाउन गाह्रो भएकोले आफ्नो मण्डलीसम्म खानेकुरा पुऱ्‍याउन जवान भाइहरूले जम्मा १८ किलोमिटर साइकलमा यात्रा गरे

 भेनेजुएलाको एउटा प्रकोप राहत समितिका सदस्य लिओनललाई आफ्नो काम धेरै मन पर्छ। तिनी यसो भन्छन्‌: “कोभिड-१९ ले गर्दा मैले आफ्नी प्यारी श्रीमती गुमाएँ तर यस कामबाट मैले निकै सान्त्वना पाएको छु। यो कामले गर्दा म व्यस्त रहन र खाँचोमा परेका भाइबहिनीको लागि उपयोगी हुन सकेको छु। यहोवाले उहाँका मानिसहरूलाई कहिल्यै त्याग्नेछैनँ भन्‍ने प्रतिज्ञा पूरा गरिरहनुभएको म आफैले देखेको छु।”

 राहत पाएका एक जना भाइ पहिला आफै राहत समितिमा सेवा गर्थे। तिनी यसो भन्छन्‌: “यसपालि भने म आफैलाई मदतको खाँचो पऱ्‍यो, हामीले राहत सामग्री त पायौँ नै, त्यसको साथै भाइहरूले म र मेरी श्रीमतीलाई नआत्तिन मदत गर्नुभयो। उहाँहरूले हाम्रो ख्याल राख्नुभयो, सान्त्वना दिनुभयो र प्रोत्साहन पनि दिनुभयो।”

 कुनै-कुनै प्रकोप अचानक आइपर्छ। तैपनि यहोवाको सङ्‌गठनले अक्सर राहत सामग्रीहरू तुरुन्तै जुटाउन र वितरण गर्न सकेको छ। यो सबै तपाईँहरूले विश्‍वव्यापी कार्यको लागि दिनुभएको अनुदानले गर्दा सम्भव भएको हो। अनुदान दिने केही तरिकाबारे donate.dan124.com मा बताइएको छ। हामी तपाईँहरूको उदारताको लागि धेरै धन्यवाद दिन्छौँ।

^ अनु. 1 सेवा वर्ष २०२१ सेप्टेम्बर १, २०२० मा सुरु भयो र अगस्त ३१, २०२१ मा अन्त भयो।