सीधै सामग्रीमा जाने

नोभेम्बर १६, २०२२
युक्रेन

अपडेट #१३ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

पुनः घरघरको साक्षीकार्यमा भाग लिँदै

अपडेट #१३ | युक्रेनको तनावग्रस्त स्थितिमा पनि एकअर्कालाई भ्रातृप्रेम देखाउँदै

अगस्त २०२२ मा युक्रेनका सुरक्षित इलाकाहरूमा घरघरको साक्षीकार्य सुरु गरिनेछ भनेर घोषणा गरियो। हाम्रा भाइबहिनी फेरि घरघरको साक्षीकार्यमा भाग लिन उत्सुक थिए। तिनीहरूले इलाकाका मानिसहरू बाइबलको सन्देश सुन्‍न इच्छुक भएको पाए। बाइबल अध्ययनको प्रस्ताव स्विकारेका एक व्यक्‍तिले यसो भने: “युद्धले गर्दा अवस्था भयावह भएको र मान्छेहरूले दुःख पाएको देख्दा मानिसजातिको समस्या परमेश्‍वरले मात्र समाधान गर्न सक्नुहुन्छ जस्तो लाग्यो।” अब घरघरको साक्षीकार्यका केही रमाइला अनुभवहरू सुनौँ।

लान्यभ्ट्‌सी मण्डलीका रस्लानलाई फेरि घरघरको साक्षीकार्यमा भाग लिने कुरा सुन्दा अलि चिन्ता लागेको थियो। त्यसैले तिनी र तिनकी पत्नीले साहसको लागि यहोवालाई प्रार्थना गरे अनि भविष्यको सुन्दर आशाबारे बुझ्न चाहने मानिसहरूकहाँ डोऱ्‍याउनुहोस्‌ भनेर बिन्ती पनि गरे। खुसीको कुरा, साक्षीकार्यमा भाग लिएको दुई घण्टाभित्रै तिनीहरूले आठ जना व्यक्‍तिसित कुरा गर्न सके र उनीहरू सबै बाइबल अध्ययन गर्न राजी भए।

क्रेमेनेट्‌स मण्डलीकी ओल्हा साथीसँगै साक्षीकार्यमा भाग लिइरहेकी बेला एक पुरुष उनीहरूकहाँ दौडेर आए अनि ‘तपाईँहरू मानिसहरूसित परमेश्‍वरको वचनबाट कुरा गर्दै हुनुहुन्छ हो?’ भनेर सोधे। ती पुरुषले यसो पनि भने: “म चुरोट र रक्सी खान्छु। मैले यसको लागि परमेश्‍वरलाई लेखा दिनुपर्नेछ भनेर मलाई थाह छ। त्यो समयसम्ममा म आफूलाई सुधार्न चाहन्छु।” ती पुरुषलाई बाइबल अध्ययन गराउन त्यही इलाकामा बस्ने भाइहरूको प्रबन्ध मिलाइयो।

लभिभ-रियास्ने-स्कियड्‌ने मण्डलीका भासिल आफ्नो क्षेत्र सेवा समूहसँगै एउटा गाउँमा साक्षीकार्यमा भाग लिँदै थिए। साक्षी दिने क्रममा तिनी वर्षौँअघि भेटेको एउटी स्त्रीको घरमा पुगे। पहिला भेट्‌दा ती स्त्री एकदमै रिसाएकी थिइन्‌ र साक्षीहरूको कुरा सुन्‍न इन्कार गरेकी थिइन्‌। तैपनि ती भाइले ढोका ढकढक्याउने र बाइबल अध्ययनको प्रस्ताव राख्ने निर्णय गरे। अचम्मको कुरा त्यही स्त्रीले ढोका खोलिन्‌ र बाइबलबारे बुझ्न चाहेको कुरा बताइन्‌। उनले बाइबल अध्ययनको प्रस्ताव स्विकारिन्‌ र उनलाई अध्ययन गराउने प्रबन्ध मिलाइयो।

इलिन्सी मण्डलीका सर्हीले २०२१ मा बप्तिस्मा गरेका थिए। तिनले घरघरको साक्षीकार्यमा एक चोटि पनि भाग लिएका थिएनन्‌। त्यसैले तिनलाई डर लाग्यो र तिनले साक्षीकार्यको लागि राम्ररी तयारी गरे। सर्ही भन्छन्‌: “मैले नमुना कुराकानीका भिडियोहरू थुप्रै चोटि हेरेँ। किनकि मलाई साहस चाहिएको थियो।” सुरुमा डर लागे तापनि अरूलाई सुसमाचार सुनाउन पाएकोमा पछि तिनी औधी खुसी भए।

रोजडिल मण्डलीकी निकोल अगस्त २०२२ मा बप्तिस्मा अप्राप्त प्रकाशक भइन्‌। तिनले यसो भनिन्‌: “घरघरको साक्षीकार्यमा भाग लिने कुरा सुन्दा मलाई असाध्यै चिन्ता अनि डर लाग्यो। तर साक्षीकार्यमा भाग लिँदा कसैसित भेटेरै यहोवाबारे कुरा गर्दाको आनन्द आफैले अनुभव गर्न सकेँ।”

दुई बहिनी घरघरको साक्षीकार्यमा भाग लिँदै

नोभेम्बर ११, २०२२ सम्ममा युक्रेनबाट प्राप्त भएको रिपोर्ट। तल दिइएका तथ्याङ्‌कहरू स्थानीय भाइहरूले तयार पारेका रिपोर्टहरू हुन्‌। तर युक्रेनका सबै क्षेत्रमा सम्पर्क गर्न गाह्रो भइरहेको छ, त्यसैले यी सङ्‌ख्या अझ धेरै हुन सक्छ:

हाम्रा भाइबहिनीहरूको अवस्था

  • ४६ जना प्रकाशकको मृत्यु भयो

  • ९७ जना प्रकाशक घाइते भए

  • १२,५६९ जना भाइबहिनी घर छोडेर देशभित्रकै सुरक्षित स्थानहरूमा भागे

  • ५९० वटा घर ध्वस्त भए

  • ६४५ वटा घरमा ठूलो क्षति भयो

  • १,७२२ वटा घरमा हल्का क्षति भयो

  • ६ वटा सभाभवन ध्वस्त भए

  • १९ वटा सभाभवनमा ठूलो क्षति भयो

  • ६३ वटा सभाभवनमा हल्का क्षति भयो

राहतकार्य

  • युक्रेनमा २७ वटा प्रकोप राहत समितिले काम गरिरहेको छ

  • प्रकोप राहत समितिहरूले ५३,९४८ जना भाइबहिनीलाई सुरक्षित क्षेत्रमा आवासको प्रबन्ध मिलाए

  • २५,९८३ जना भाइबहिनी अरू देशमा भागेका छन्‌ र त्यहाँका भाइबहिनीले तिनीहरूलाई मदत गर्दै छन्‌