सीधै सामग्रीमा जाने

के परमेश्‍वरको नाम छ?

के परमेश्‍वरको नाम छ?

बाइबलको जवाफ

 हामी सबै जनाको व्यक्‍तिगत नाम छ। त्यसोभए के परमेश्‍वरको पनि नाम हुनु पर्दैन र? कसैलाई साथी बनाउने हो भने हामीले उसको नाम थाह पाउनुपर्छ। के परमेश्‍वरलाई साथी बनाउन पनि उहाँको नाम थाह पाउनु पर्दैन र?

 बाइबलमा यस्तो लेखिएको छ: “हे यहोवा हाम्रा परमेश्‍वर तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” (प्रकाश ४:११) हुन त उहाँका थुप्रै पदवी छन्‌, जस्तै: “सर्वशक्‍तिमान्‌ परमेश्‍वर”, “सार्वभौम प्रभु” र “सृष्टिकर्ता” तर उहाँ आफ्ना उपासकहरूले उहाँको व्यक्‍तिगत नाम पुकारेको चाहनुहुन्छ।—उत्पत्ति १७:१; प्रेषित ४:२४; १ पत्रुस ४:१९.

 थुप्रै बाइबल अनुवादहरूमा प्रस्थान ६:३ मा ईश्‍वरको व्यक्‍तिगत नाम लेखिएको पाउँछौं। त्यहाँ यस्तो लेखिएको छ: “अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रुपमा देखा परें, तर मेरो [यहवे] नाउँले ता तिनीहरूकहाँ प्रकट भइनँ।”

 शताब्दियौं अघिदेखि परमेश्‍वरको नाम “यहोवा” प्रयोग गरिदैं आएको छ। थुप्रै शास्त्रविद्‌ले परमेश्‍वरको नामलाई “यहवे” भनेर उच्चारण गर्न मन पराए तापनि चलनचल्तीमा “यहोवा” नै प्रयोग गरिन्छ। बाइबलको सुरु-सुरुका किताबहरू हिब्रू भाषामा लेखिएको थियो। हिब्रू भाषा दाहिनेदेखि देब्रेतिर पढिन्छ। हिब्रू अक्षरमा यो नाम यसरी लेखिन्छ, יהוה (अङ्‌ग्रेजीमा YHWH)। यसलाई टेट्राग्रामाटन भनेर चिनिन्छ।