सीधै सामग्रीमा जाने

के बाइबलले पुनर्जन्मको शिक्षा सिकाउँछ?

के बाइबलले पुनर्जन्मको शिक्षा सिकाउँछ?

बाइबलको जवाफ

 अहँ! सिकाउँदैन। “पुनर्जन्म” भन्‍ने शब्द वा त्यससित सम्बन्धित धारणा बाइबलमा पाउँदैनौं। पुनर्जन्मको शिक्षा आत्मा अमर रहन्छ भन्‍ने धारणामा आधारित छ। a (उत्पत्ति २:७; इजकिएल १८:४) तर बाइबलको शिक्षाअनुसार आत्मा अर्थात्‌ प्राणले मानिसलाई बुझाउँछ, जो मरणशील छ। मृत्युपछि मानिसको अस्तित्व रहँदैन।—उत्पत्ति ३:१९; उपदेशक ९:५, ६.

पुनर्जन्म र पुनर्जीवनबीच के भिन्‍नता छ?

 पुनर्जीवनसम्बन्धी बाइबलको शिक्षा आत्मा अमर रहने धारणामा आधारित छैन। पुनर्जीवन पाउन योग्य मानिसहरूलाई परमेश्‍वरको शक्‍तिद्वारा जीवित पारिनेछ। (मत्ती २२:२३, २९; प्रेषित २४:१५) पुनर्जीवन पाएकाहरूले पछि कहिल्यै नमर्ने आशासहित नयाँ पृथ्वीमा जिउन सक्छन्‌।—२ पत्रुस ३:१३; प्रकाश २१:३, ४.

पुनर्जन्मको शिक्षा र बाइबलबारे गलत धारणा

 गलत धारणा: बाइबलअनुसार भविष्यवक्‍ता एलियाले बप्तिस्मा गराउने यूहन्‍नाको रूपमा पुनर्जन्म लिए।

 तथ्य: परमेश्‍वरले भविष्यवाणी गर्नुभएको थियो: “म एलिया अगमवक्‍तालाई पठाउनेछु।” अनि बप्तिस्मा गराउने यूहन्‍नाले यो भविष्यवाणी पूरा गरे भनेर येशूले स्पष्ट पार्नुभयो। (मलाकी ४:५, ६; मत्ती ११:१३, १४) तर यसको मतलब एलियाले बप्तिस्मा गराउने यूहन्‍नाको रूपमा पुनर्जन्म लिएका होइनन्‌। यूहन्‍ना स्वयम्‌ले आफू एलिया होइन भने। (यूहन्‍ना १:२१) बरु तिनले एलियाले जस्तै कामहरू गरे। तिनले पश्‍चात्ताप गर्नुपर्नेबारे परमेश्‍वरको सन्देश घोषणा गरे। (१ राजा १८:३६, ३७; मत्ती ३:१) साथै एलियाले देखाएको जस्तै जोस र शक्‍तिका साथ तिनी अघि बढे।—लूका १:१३-१७.

 गलत धारणा: बाइबलअनुसार पुनर्जन्म लिनु र “फेरि जन्मनु” एउटै हो।

 तथ्य: बाइबलअनुसार फेरि जन्मनु भनेको मानिस जीवित छँदै ऊ फेरि आध्यात्मिक रूपमा जन्मनु हो। (यूहन्‍ना १:१२, १३) यसरी जन्मनु विगतमा गरेको कामको नतिजा भोग्नु होइन, बरु यो परमेश्‍वरले दिनुभएको आशिष्‌ हो। फेरि जन्मेकाहरूले भविष्यको अद्‌भुत आशा पाउँछन्‌।—यूहन्‍ना ३:३; १ पत्रुस १:३, ४.

a इतिहास केलाउने हो भने आत्मा अमर रहने र पुनर्जन्ममा विश्‍वास राख्ने कुरा प्राचीन बेबिलोनबाट आएको देखिन्छ। पछि गएर भारतका दार्शनिकहरूले यसलाई कर्मको शिक्षाको रूपमा व्याख्या गरे। धर्मसम्बन्धी एउटा इनसाइक्लोपीडियाअनुसार (Britannica Encyclopedia of World Religions) कर्म भनेको “कारण र असरको नियम हो, जसअनुसार अहिले गर्ने कामको असर अर्को जुनीमा भोग्नुपर्ने हुन्छ।”—पृष्ठ ९१३.