सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्‌?

यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्‌?

प्रचलित गलत धारणाहरू

 गलत धारणा: यहोवाका साक्षीहरू येशूमा विश्‍वास गर्दैनन्‌, त्यसैले तिनीहरू क्रिसमस मनाउँदैनन्‌।

 वास्तविकता: हामी ख्रीष्टियन हौं। येशू ख्रीष्टद्वारा मात्रै उद्धार पाउन सम्भव छ भनेर हामी विश्‍वास गर्छौं।—प्रेषित ४:१२.

 गलत धारणा: तपाईंहरू अरूलाई क्रिसमस मनाउनु हुँदैन भनेर सिकाउँदै परिवारमा फूट ल्याउनुहुन्छ।

 वास्तविकता: हामी अरूको परिवारको निकै चासो राख्छौं। बाइबलको शिक्षाद्वारा परिवारको बन्धनलाई बलियो बनाउन मदत गर्छौं।

 गलत धारणा: क्रिसमसमा जताततै शान्ति छाउँछ, मानिसहरू उदार भएर बाँडचुँड गर्छन्‌ अनि अरूको भलो हुने काम गर्छन्‌। त्यस्तो राम्रो मौका तपाईंहरूले खेर फालिरहनुभएको छ।

 वास्तविकता: हामी हरेक दिन नै उदार र शान्तिप्रिय हुन सक्दो कोसिस गर्छौं। (हितोपदेश ११:२५; रोमी १२:१८) उदाहरणको लागि हामीले सभा सञ्चालन गर्ने तरिका र प्रचार गर्ने तरिका येशूको यो आज्ञासित मेल खान्छ: “तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।” (मत्ती १०:८) त्यसका साथै पृथ्वीमा शान्ति ल्याउन सक्ने एकमात्र माध्यम परमेश्‍वरको राज्य हो भनेर हामी सबैलाई बताउँछौं।—मत्ती १०:७.

यहोवाका साक्षीहरू किन क्रिसमस मनाउँदैनन्‌?

  •   येशूले उहाँको मृत्युको सम्झना गर्नू भनेर चेलाहरूलाई आज्ञा दिनुभयो, जन्मदिनको होइन।—लूका २२:१९, २०.

  •   येशूले छानेका मुख्य चेलाहरू (प्रेषितहरू) र सुरु-सुरुका अन्य चेलाहरूले क्रिसमस मनाएनन्‌। नयाँ क्याथोलिक विश्‍वकोश (अङ्‌ग्रेजी) यसो भन्छ: “इस्वी संवत्‌ २४३ भन्दा अघि येशूको जन्मदिन मनाउने चलनै थिएन।” यसको मतलब येशू आफैले छान्‍नुभएको प्रेषितहरूमध्ये अन्तिम प्रेषितको मृत्यु भएको सय वर्षभन्दा धेरै समय बितिसक्दा पनि क्रिसमस मनाउने चलन सुरु भएको थिएन।

  •   येशूको जन्म डिसेम्बर २५ मा भएको थियो भन्‍ने कुराको कुनै प्रमाण छैन। बाइबलमा उहाँको जन्म मिति उल्लेख गरिएको छैन।

  •   येशूको जन्मदिन मनाउने प्रचलनदेखि परमेश्‍वर खुसी हुनुहुन्‍न भनेर हामी विश्‍वास गर्छौं किनभने यो झूटो परम्परा र रीतिथितिबाट सुरु भएको चाड हो।—२ कोरिन्थी ६:१७.

क्रिसमस नमनाएर किन हाँसोको पात्र बन्‍नुहुन्छ?

 क्रिसमस झूटो परम्पराबाट सुरु भएको हो र बाइबलले यसलाई समर्थन गर्दैन भनेर थाह हुँदा हुँदै पनि आज धेरैले क्रिसमस मनाउँछन्‌। तिनीहरूलाई यस्तो लाग्न सक्छ: सबैले खुलेआम क्रिसमस मनाउँछन्‌ भने हामीले चाहिं किन नमनाउने? बेकारमा किन ‘कागको बीचमा बकुल्ला’ बन्‍ने?

 बाइबलले हामीलाई “आफ्नो सोचविचार गर्ने क्षमता चलाएर” निर्णय गर्न प्रोत्साहन दिएको छ। (रोमी १२:१, २) बाइबलले सत्य कुराको कदर गर्न सिकाउँछ। (यूहन्‍ना ४:२३, २४) हुन त हामी पनि अरूको अगाडि राम्रो देखिन चाहन्छौं। तर बाइबल सिद्धान्तअनुसार जीवन बिताउँदा अरूले खिसी गरे तापनि हामी त्यसमा सम्झौता गर्दैनौं।

 हामी आफूले क्रिसमस नमनाए तापनि क्रिसमस मनाउने कि नमनाउने भनेर निर्णय गर्नु सबैको आ-आफ्नै अधिकारको कुरा हो भनेर मानिलिन्छौं। अरूले क्रिसमस मनाउँदा हामी भाँजो हाल्न जाँदैनौं।