सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?

नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ?

“नम्रताले बुद्धि ल्याउँछ।”—हितो. ११:२, NRV.

गीत: ३८, ६९

१, २. परमेश्वरले शाऊललाई किन त्याग्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

पुरातन इस्राएलका राजा शाऊलले शासन गर्न थाल्दा तिनी नम्र थिए र मानिसहरू तिनको आदर गर्थे। (१ शमू. ९:१, २, २१; १०:२०-२४) तर राजा बनेको केही समय नबित्दै तिनले एकपछि अर्को अहङ्‌कारपूर्ण कामहरू गर्न थाले। भविष्यवक्ता शमूएल तोकिएको समयमा गिलगाल नआइपुगेकोले राजा शाऊल अधीर भए। पलिश्तीहरू लडाइँको लागि जम्मा भइसकेका थिए र इस्राएलीहरू शाऊललाई छोडेर जाँदै थिए। शाऊलले यस्तो सोचे होलान्‌, ‘मैले तुरुन्तै केही गरिहाल्नुपर्छ।’ त्यसैले तिनले परमेश्वरको निम्ति बलि चढाए। वास्तवमा तिनीसित यस्तो अधिकार थिएन। यो देखेर यहोवा अप्रसन्न हुनुभयो।—१ शमू. १३:५-९.

जब शमूएल गिलगाल आइपुगे, तब तिनले शाऊललाई हप्काए। शाऊलले गल्ती स्विकार्नुको साटो बहाना बनाए, अरूलाई दोष लगाउन खोजे र आफ्नो गल्तीलाई सानो बनाए। (१ शमू. १३:१०-१४) त्यसबेलादेखि तिनले एकपछि अर्को दुःखदायी घटना भोग्नुपऱ्यो। पछि तिनले आफ्नो राजपद गुमाउनुपऱ्यो। तर सबैभन्दा दुःखको कुरा, तिनले यहोवाको अनुमोदन गुमाए। (१ शमू. १५:२२, २३) राजा शाऊल सुरुमा त राम्रै थिए तर तिनको जीवनको अन्त अत्यन्तै दुःखद भयो।—१ शमू. ३१:१-६.

३. (क) नम्रताबारे थुप्रै मानिसको सोचाइ कस्तो छ? (ख) हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं?

अहिलेको संसारमा अत्यन्तै प्रतिस्पर्धा छ। सफल हुन अरूलाई उछिनेर अघि बढ्‌नुपर्छ भन्ने सोचाइ धेरैको छ। त्यसैले तिनीहरू कुनै हालतमा नम्र हुन चाहँदैनन्‌। उदाहरणको लागि, एक जना प्रख्यात नायक, जो पछि राजनीतिमा लागे, तिनले एक चोटि यसो भनेका थिए, “नम्रता मेरो चिनारी पटक्कै होइन र त्यसरी कहिल्यै चिनिन पनि नपरोस्।” तर नम्र हुनु अहिले पनि किन महत्त्वपूर्ण छ? नम्रता भनेको के हो तर के होइन? गाह्रो अवस्थामा पर्दा वा कसैले दबाब दिंदा हामी कसरी नम्रता देखाउन सक्छौं? यस लेखमा हामी पहिलो र दोस्रो प्रश्नको जवाफ विचार गर्नेछौं। तेस्रो प्रश्नको जवाफ अर्को लेखमा छलफल गर्नेछौं।

नम्र हुनु किन महत्त्वपूर्ण छ?

४. अहङ्‌कारपूर्ण काम भनेको के हो?

नम्रताको उल्टो अहङ्‌कार हो भनेर बाइबल बताउँछ। (हितोपदेश ११:२, NRV पढ्‌नुहोस्) दाऊदले यहोवासित यस्तो बिन्ती गरे, “अहङ्‌कारका पापबाट आफ्नो दासलाई हटाउनुहोस्।” (भज. १९:१३) “अहङ्‌कारका पाप” अर्थात्‌ अहङ्‌कारपूर्ण काम भनेको के हो? कसैले अधीर वा घमन्डी भएर आफ्नो अधिकारमा नभएको काम गर्छ भने त्यो अहङ्‌कारपूर्ण काम हो। हामी जन्मजात त्रुटिपूर्ण भएकोले कहिलेकाहीं अहङ्‌कारपूर्ण काम गर्न पुग्छौं। राजा शाऊलको उदाहरणले देखाएजस्तै आफ्नो अधिकारमा नभएको काम गर्ने बानी बस्यो भने ढिलो होस् वा चाँडो, यसले गर्दा यहोवासितको हाम्रो सम्बन्ध बिग्रन्छ। यहोवा “अहङ्‌कारीहरूलाई हप्काउनुहुन्छ” भनी भजन ११९:२१ मा (NRV) बताइएको छ। उहाँ अहङ्‌कारीहरूलाई किन हप्काउनुहुन्छ?

५. अहङ्‌कारपूर्ण काम गर्नु किन गम्भीर कुरा हो?

अहङ्‌कारपूर्ण काम गर्नु अनजानमा गल्ती गर्नुभन्दा गम्भीर कुरा हो। किन? पहिलो, अहङ्‌कारपूर्ण काम गर्दा हामीले सार्वभौम शासक यहोवाको अनादर गरिरहेका हुन्छौं। दोस्रो, आफ्नो अधिकारमा नभएको काममा हात हाल्दा अरूसित मतभेद हुन सक्छ। (हितो. १३:१०) तेस्रो, हामीले अहङ्‌कारपूर्ण काम गरेको अरूले थाह पाउँदा हामी लाजमा पर्न वा अपमानित हुन सक्छौं। (लूका १४:८, ९) अहङ्‌कारपूर्ण कामको परिणाम कहिल्यै राम्रो हुँदैन। त्यसैले हामी सधैं नम्र भएको यहोवा चाहनुहुन्छ।

नम्र हुनुमा कस्ता कुराहरू मुछिएका छन्‌?

६, ७. नम्र हुनुमा कस्ता कुराहरू मुछिएका छन्‌?

बाइबलअनुसार नम्रता भनेको घमन्डी वा अहङ्‌कारी नहुनु हो। यसलाई “विनम्र” हुनु भनेर पनि बताइएको छ। (फिलि. २:३) नम्र मानिसले आफ्नो खुबी र उपलब्धिहरूमा घमन्ड गर्दैन; उसले आफ्नो गल्ती मानिलिन्छ। अरूले सुझाव दिंदा र कुनै नयाँ तरिका बताउँदा त्यो स्विकार्न तयार हुन्छ। यस्तो नम्र मानिसदेखि यहोवा खुसी हुनुहुन्छ।

बाइबलमा बताइएअनुसार नम्र व्यक्तिले आफूलाई जति ठान्नुपर्ने हो, त्योभन्दा बढ्‌ता ठान्दैन र आफ्नो सीमितता राम्ररी बुझेको हुन्छ। नम्र भनेर अनुवाद गरिएको ग्रीक शब्दले आफ्नो सीमितता बुझेर अरूसित व्यवहार गर्नुपर्छ भन्ने कुरालाई जोड दिएको देखिन्छ।

८. अहङ्‌कारी नहुन हामी कस्ता सोचाइ र व्यवहारदेखि अलग रहनुपर्छ?

हामी कसरी अहङ्‌कारपूर्ण तरिकामा सोच्न वा व्यवहार गर्न पुग्न सक्छौं? यस्तो खतरामा पर्न सक्ने केही सङ्‌केत विचार गरौं। हामीले आफूलाई वा आफूले पाएको सुअवसरलाई अरूभन्दा बढ्‌तै महत्त्वपूर्ण ठानिरहेका हुन सक्छौं। (रोमी १२:१६) हामीले अनुचित तरिकामा अरूको ध्यान आफूतिर खिचिरहेका हुन सक्छौं। (१ तिमो. २:९, १०) अथवा आफ्नो ओहदा, चिनजान वा सोचाइको आधारमा आफ्नो धारणा अरूमाथि लाद्‌न खोजिरहेका हुन सक्छौं। (१ कोरि. ४:६) यस्ता कुराहरू गर्न थाल्यौं भने हामी चालै नपाई अहङ्‌कारी भइरहेका हुन्छौं।

९. कोही-कोही कसरी अहङ्‌कारी बन्न पुगे? बाइबलको एउटा उदाहरण बताउनुहोस्।

थोरै समयको लागि भए पनि शारीरिक इच्छाहरूको वशमा पऱ्यौं भने जो कोहीबाट पनि अहङ्‌कारपूर्ण काम हुन सक्छ। महत्त्वाकाङ्‌क्षा, ईर्ष्या र अनियन्त्रित रिसले गर्दा धेरैले अहङ्‌कारपूर्ण काम गरेका छन्‌। बाइबलमा उल्लेख गरिएका अब्शालोम, उज्जियाह र नबूकदनेसर शरीरका कामहरूको वशमा परे र तिनीहरूले अहङ्‌कारपूर्ण काम गरे। त्यसैले यहोवाले तिनीहरूलाई नम्रताको ठूलो पाठ सिकाउनुभयो।—२ शमू. १५:१-६; १८:९-१७; २ इति. २६:१६-२१; दानि. ५:१८-२१.

१०. हामीले किन अरूको मनसायमाथि शङ्‌का गर्नु हुँदैन? बाइबलको एउटा उदाहरण बताउनुहोस्।

१० कसै-कसैले अहङ्‌कारपूर्ण काम गर्नुका अरू कारणहरू पनि छन्‌। उदाहरणका लागि, बाइबलका यी विवरणहरू विचार गर्नुहोस्: उत्पत्ति २०:२-७ र मत्ती २६:३१-३५। के अबिमेलेक र पत्रुसले शारीरिक इच्छाको वशमा परेर अहङ्‌कारपूर्णजस्तो देखिने काम गरेका थिए? अथवा के तिनीहरूले सत्यतथ्य नबुझी वा सोचविचारै नगरी त्यस्तो काम गरेका थिए? हामी अरूको मन पढ्‌न सक्दैनौं। त्यसैले अरूको मनसायमाथि शङ्‌का गरिहाल्नु बुद्धिमानी र मायालु कुरा होइन।याकूब ४:१२ पढ्‌नुहोस्।

परमेश्वरको प्रबन्धमा तपाईंको भूमिका

११. नम्र व्यक्तिले परमेश्वरको प्रबन्धमा आफ्नो भूमिका बुझेको हुन्छ, कसरी?

११ नम्र व्यक्तिले परमेश्वरको प्रबन्धमा आफ्नो भूमिका राम्ररी बुझेको हुन्छ। यहोवा गोलमालका परमेश्वर हुनुहुन्न। त्यसैले उहाँले हामी प्रत्येकलाई आफ्नो घरानामा कुनै न कुनै भूमिका दिनुभएको छ। मण्डलीमा हामी प्रत्येकको बेग्लाबेग्लै भूमिका छ। त्यसैले मण्डलीमा हामी सबैको खाँचो छ। यहोवाले हामी सबैलाई फरक-फरक वरदान, सीप, क्षमता वा खुबी दिनुभएको छ। हामी ती कुराहरू यहोवाको महिमा गर्न र अरूको भलाइ गर्न प्रयोग गर्न सक्छौं। (रोमी १२:४-८) हामीलाई भण्डारेको काम सुम्पेर यहोवा हामीलाई आदर र भरोसा गर्नुहुन्छ। त्यसैले हामीले यो जिम्मेवारी राम्ररी पूरा गरेको उहाँ चाहनुहुन्छ।१ पत्रुस ४:१० पढ्‌नुहोस्।

आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा हामी कसरी येशूको अनुकरण गर्न सक्छौं? (अनुच्छेद १२-१४ हेर्नुहोस्)

१२, १३. यहोवाको प्रबन्धमा हाम्रो भूमिका समय-समयमा परिवर्तन हुँदा किन अचम्म मान्नुपर्दैन?

१२ यहोवाको प्रबन्धमा हाम्रो भूमिका सधैं एउटै भइरहँदैन। समयको दौडान यो परिवर्तन हुन सक्छ। येशूको उदाहरण विचार गरौं। सुरुमा, स्वर्गमा यहोवा र येशू मात्र हुनुहुन्थ्यो। (हितो. ८:२२) त्यसपछि येशूले स्वर्गदूतहरू, ब्रह्माण्ड र अन्तमा मानिसहरू बनाउन यहोवालाई सघाउनुभयो। (कल. १:१६) येशूले पृथ्वीमा नयाँ भूमिका स्विकार्नुभयो—सुरुमा शिशुको रूपमा र पछि वयस्कको रूपमा। (फिलि. २:७) आफ्नो जीवन बलिदान दिएपछि येशू स्वर्ग फर्कनुभयो र सन्‌ १९१४ मा परमेश्वरको राज्यको राजा हुनुभयो। (हिब्रू २:९) तर भविष्यमा उहाँको भूमिका अझै परिवर्तन हुनेछ। हजार वर्ष राज्य गरेपछि येशूले “परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर” यहोवालाई राज्य सुम्पनुहुनेछ।—१ कोरि. १५:२८.

१३ त्यसैगरि, समय-समयमा हाम्रो भूमिका पनि परिवर्तन हुन सक्छ। यस्तो परिवर्तन प्रायजसो हाम्रो आफ्नै निर्णयले गर्दा हुन सक्छ। उदाहरणको लागि, तपाईं पहिले अविवाहित हुनुहुन्थ्यो होला तर अहिले विवाह गर्नुभयो कि? छोराछोरी हुर्काउँदै हुनुहुन्छ कि? अथवा पूर्ण-समय सेवा गर्न हालै आफ्नो जीवन सरल बनाउनुभएको छ कि? यी विभिन्न निर्णयसँगसँगै केही सुअवसर र जिम्मेवारी थपिए होलान्‌। कुनै परिवर्तनले गर्दा हामी यहोवाको सेवामा धेरै गर्न सक्छौं भने कुनै परिवर्तनले गर्दा थोरै मात्र गर्न सक्छौं। तपाईं जवान हुनुहुन्छ कि वृद्ध? स्वस्थ हुनुहुन्छ कि अस्वस्थ? हाम्रो अवस्था जस्तोसुकै होस्, हामी प्रत्येकले यहोवाको सेवामा कति गर्न सक्छौं, त्यो उहाँलाई थाह छ। उहाँ हामीबाट अचाक्ली माग गर्नुहुन्न। हामीले उहाँको सेवामा जे-जति गर्छौं, त्यसको उहाँ धेरै मोल गर्नुहुन्छ।—हिब्रू ६:१०.

१४. नम्र मानिस जस्तोसुकै परिस्थितिमा पनि कसरी सन्तुष्ट र खुसी रहन सक्छ?

१४ आफूले पाएको हरेक जिम्मेवारीमा येशू रमाउनुभयो र हामी पनि आफूलाई सुम्पिइएको जिम्मेवारीमा रमाउन सक्छौं। (हितो. ८:३०, ३१) नम्र मानिस मण्डलीमा आफूले पाएको जिम्मेवारी वा असाइनमेन्टमा सन्तुष्ट हुन्छ। उसले भविष्यमा कुनै सुअवसर पाउला कि नपाउला भनेर चिन्ता गरेर बस्दैन। अरूले सुअवसर पाएको देखेर खिन्न हुँदैन। बरु सक्दो प्रयास गरेर आफ्नो भूमिका पूरा गर्छ र त्यसैमा रमाउँछ। किनभने त्यो भूमिका यहोवाले दिनुभएको हो भनेर उसले बुझेको हुन्छ। साथै यहोवाले अरूलाई दिनुभएको भूमिका वा स्थानको पनि उसले गहिरो कदर गर्छ। उसले अरूलाई आदर गर्छ र अरूलाई मदत गर्न पाउँदा खुसी हुन्छ।—रोमी १२:१०.

नम्रता भनेको के होइन?

१५. गिदोनको नम्रताबाट हामी के सिक्न सक्छौं?

१५ नम्रता देखाउने सन्दर्भमा गिदोन एक उत्कृष्ट उदाहरण हुन्‌। जब यहोवाको स्वर्गदूत गिदोनकहाँ देखा परे, त्यतिखेर तिनले आफू एकदमै सानो कुलको मानिस हुँ भनेर बताए। (न्याय. ६:१५) यहोवाबाट पाएको जिम्मेवारी स्विकारेपछि त्यसलाई पूरा गर्न के-के गर्नुपर्छ भनेर राम्रोसँग बुझ्ने प्रयास गरे र यहोवाको डोऱ्याइ खोजे। (न्याय. ६:३६-४०) गिदोन निडर र साहसी थिए। तैपनि तिनले होसियारीसाथ र चनाखो भई काम गरे। (न्याय. ६:११, २७) तिनले आफ्नो जिम्मेवारीको दुरुपयोग गरेर नाम कमाउन खोजेनन्‌। बरु आफ्नो जिम्मेवारी पूरा गरेपछि जतिसक्दो चाँडो आफ्नो घर फर्के।—न्याय. ८:२२, २३, २९.

१६, १७. आध्यात्मिक प्रगति गर्नेबारे सोचिरहेको नम्र मानिसले कस्ता कुराहरू विचार गर्छ?

१६ नम्र हुनु भनेको थप सुअवसर पाउन कहिल्यै अघि बढ्‌नु हुँदैन वा त्यस्तो सुअवसर स्विकार्नु हुँदैन भन्ने होइन। धर्मशास्त्रले हामी सबैलाई प्रगति गर्न प्रोत्साहन दिन्छ। (१ तिमो. ४:१३-१५) तर के प्रगति गर्न हाम्रो असाइनमेन्ट परिवर्तन हुनै पर्छ? त्यसो त होइन। अहिले जुनसुकै भूमिका पूरा गरिरहेको भए तापनि यहोवाको आशिष्‌ पाएर हामी आध्यात्मिक प्रगति गर्न सक्छौं। परमेश्वरले दिनुभएका क्षमताहरू अझै तिखार्दै लान र अझ धेरै असल काम गरिरहन सक्छौं।

१७ नम्र व्यक्तिले नयाँ असाइनमेन्ट स्विकार्नुअघि त्यो पूरा गर्न के-के गर्नुपर्छ भनेर पहिला पत्ता लगाउँछ। त्यसो गरेपछि अहिलेको अवस्थामा त्यो असाइनमेन्ट पूरा गर्न सक्छ कि सक्दैन भनेर उसलाई थाह हुन्छ। उदाहरणको लागि, महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता नगरी के उसले थप काम वा जिम्मेवारी स्विकार्न सक्छ? नयाँ जिम्मेवारी स्विकार्न के उसले आफ्नो केही काम अरूलाई सुम्पन सक्छ? यदि यी दुइटा प्रश्नमध्ये एउटा वा दुइटै प्रश्नको जवाफ ‘सक्दैन’ भन्ने आउँछ भने सायद अहिलेको लागि अरू कोही यो असाइनमेन्ट पूरा गर्न योग्य हुन सक्छन्‌। प्रार्थनापूर्वक र व्यावहारिक भई आफ्नो परिस्थिति केलायौं भने आफ्नो क्षमताले नभ्याउने र आफ्नो सीमितता बाहिरको असाइनमेन्ट नस्विकार्न मदत पाउनेछौं। हामी नम्र छौं भने कहिलेकाहीं ‘अहँ, सक्दिनँ’ भन्न हिचकिचाउनेछैनौं।

१८. (क) नयाँ असाइनमेन्ट पाउँदा नम्रताले हामीलाई के गर्न मदत गर्छ? (ख) रोमी १२:३ अनुसार नम्र मानिस कस्तो हुन्छ?

१८ नयाँ असाइनमेन्टमा सफल हुन यहोवाको डोऱ्याइ र आशिष्‌ चाहिन्छ भनेर गिदोनको उदाहरणबाट बुझ्न सक्छौं। ‘हाम्रा परमेश्वरसित नम्र भएर हिंड्‌न’ हामीलाई निम्तो दिइएको छ। (मीका ६:८) नयाँ जिम्मेवारी स्विकार्दा यहोवाले आफ्नो वचन र सङ्‌गठनद्वारा के भन्न खोज्दै हुनुहुन्छ भनेर हामीले प्रार्थना गर्नुपर्छ र त्यसबारे गहिरिएर सोच्नुपर्छ। हामीले यहोवाको भरपर्दो डोऱ्याइअनुसार हिंड्‌न सिक्नुपर्छ। हाम्रो आफ्नै क्षमताले गर्दा त होइन तर यहोवा नम्र हुनुभएकोले उहाँले हामीलाई “ठूलो तुल्याउनुभएको” हो भन्ने कुरा कहिल्यै नबिर्सौं। (भज. १८:३५) नम्र भई परमेश्वरसित हिंड्‌यौं भने हामीले आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्‌ता वा कम ठान्नेछैनौं।रोमी १२:३ पढ्‌नुहोस्।

१९. हामीले किन नम्रता विकास गर्नुपर्छ?

१९ नम्र मानिसले यहोवा हाम्रो सृष्टिकर्ता र सार्वभौम परमेश्वर हुनुभएकोले उहाँ मात्र महिमा पाउन योग्य हुनुहुन्छ भनेर बुझेको हुन्छ। (प्रका. ४:११) नम्रताले हामीलाई यहोवाको प्रबन्धमा आफूले पाएको भूमिकामा सन्तुष्ट हुन र त्यो राम्ररी पूरा गर्न मदत गर्छ। साथै अरूसित अनादरपूर्ण व्यवहार नगर्न र यहोवाका जनहरूमाझ एकता बढाउन मदत गर्छ। नम्रताले अरूलाई आफूभन्दा श्रेष्ठ ठान्न मदत गर्छ र गम्भीर गल्ती गर्नदेखि जोगाउँछ। यी कारणहरूले गर्दा परमेश्वरका सेवकहरू अहिले पनि नम्र हुनु महत्त्वपूर्ण छ र यो गुण विकास गर्नेहरूलाई यहोवा कदर गर्नुहुन्छ। तर गाह्रो अवस्थामा पर्दा नि? कठिन अवस्थाहरूमा हामी कसरी नम्रता देखाउन सक्छौं, यस पछिको लेखमा छलफल गर्नेछौं।