सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईँलाई थाह थियो?

के तपाईँलाई थाह थियो?

बाइबलकालीन समयमा वर्ष र महिनाको हिसाब कसरी गरिन्थ्यो?

प्रतिज्ञा गरिएको देशमा बसोबास गरिरहेका हिब्रूहरूको नयाँ वर्ष खनजोत गर्ने र बिउ छर्ने समयमा सुरु हुन्थ्यो, जुन अहिले सेप्टेम्बर/अक्टोबरमा पर्छ।

मानिसहरूले चन्द्रमाको चक्रको आधारमा महिना कति दिनको हुन्छ भनेर हिसाब गर्थे र त्यो २९ वा ३० दिनको हुन्थ्यो। तिनीहरूले वर्षको हिसाबचाहिँ सूर्यको चक्रको आधारमा गर्थे। तर चन्द्रमाको चक्रको आधारमा तोकिने वर्ष सूर्यको चक्रको आधारमा तोकिने वर्षभन्दा छोटो हुन्छ। त्यसैले समयको हिसाब गर्न तिनीहरूले यी दुई तरिकाबीच तालमेल मिलाउनुपर्थ्यो। यसको लागि तिनीहरूले कुनै-कुनै महिनामा दिन थप्थे अथवा कहिलेकाहीँ सायद नयाँ वर्ष सुरु हुनुअघि अतिरिक्‍त महिना थप्थे। यसरी हिसाब गरेर बनाइएको पात्रो बाली लगाउने वा कटनी गर्ने समयसित मेल खान्थ्यो।

तर मोसाको समयमा परमेश्‍वरले इस्राएलीहरूको लागि वर्षको पहिलो महिना अबिब (नीसान) हुनेछ भन्‍नुभएको थियो। यो अहिले मार्च/अप्रिलमा पर्छ। (प्रस्थ. १२:२; १३:४) यस महिनामा इस्राएलीहरूले एउटा चाड मनाउँथे र त्यस चाडमा परमेश्‍वरलाई जौको उब्जनीको पहिलो फल चढाइन्थ्यो।—प्रस्थ. २३:१५, १६.

बाइबलविद्‌ एमिल सुररले येसु ख्रिष्टको समयका यहुदीहरूको इतिहास (ई.पू. १७५-इ.सं. १३५) (अङ्‌ग्रेजी) भन्‍ने आफ्नो किताबमा यस्तो लेखेका छन्‌: “अतिरिक्‍त महिना थप्नुपर्छ कि पर्दैन भनेर पत्ता लगाउन खासै गाह्रो थिएन। निस्तार चाड नीसान महिनाको (नीसान १४) पूर्णिमामा मनाइन्थ्यो र यो चाड सधैँ वसन्त विषुव अर्थात्‌ बाह्र घण्टा उज्यालो र बाह्र घण्टा अँध्यारो हुने दिनपछि पर्नुपर्थ्यो। त्यसैले वर्षको अन्ततिर निस्तार चाड वसन्त विषुवअघि नै पर्ने देखियो भने नीसान महिनाअघि अतिरिक्‍त [१३ औँ] महिना थपिन्थ्यो।”

प्रभुको साँझको भोज कुन मितिमा पर्छ भनेर पत्ता लगाउन यहोवाका साक्षीहरू यही तरिका अपनाउँछन्‌। यो उत्सव वसन्त ऋतुमा मनाइन्छ र यो हिब्रू क्यालेन्डरको नीसान १४ मा पर्छ। यस मितिबारे संसारभरका मण्डलीहरूलाई पहिल्यै जानकारी दिइन्छ। *

हिब्रूहरूले नयाँ महिना कहिले सुरु हुन्छ र कहिले अन्त हुन्छ भनेर कसरी थाह पाउँथे? अहिले हामी क्यालेन्डर वा इलेक्ट्रोनिक डिभाइसमा हेरेर सजिलै थाह पाउँछौँ। तर बाइबलकालीन समयमा यत्ति सजिलो थिएन।

नुहको समयमा ३० दिनलाई १ महिना मानिन्थ्यो। (उत्प. ७:११, २४; ८:३, ४) तर पछि हिब्रूहरूले भने औँसीपछि पहिलो चोटि अर्धचन्द्र देखा पर्नासाथ नयाँ महिना सुरु भएको मान्थे। त्यसैले तिनीहरूको महिना २९ वा ३० दिनको हुन्थ्यो।

एकचोटि दाउद र जोनाथनले एउटा महिनाबारे कुरा गर्दा यसो भने: “भोलि औँसी हो।” (१ समु. २०:५, १८) त्यसैले ईसापूर्व ११ औँ शताब्दीसम्ममा कुनै महिना कति दिनको हुनेछ भनेर पहिल्यै हिसाब गरिन्थ्यो जस्तो देखिन्छ। तर साधारण इस्राएलीहरूले नयाँ महिना सुरु भएको कसरी थाह पाउँथे? मिस्नाहमा (यहुदीहरूको मौखिक नियम र परम्पराको सङ्‌ग्रह) यसबारे केही जानकारी दिइएको छ। बेबिलोनको निर्वासनबाट फर्केपछिको समयमा नयाँ महिना कहिले सुरु हुन्छ भन्‍ने कुराको निर्णय यहुदी न्यायपरिषद्‌ले गर्थ्यो। इस्राएलीहरूले वर्षको सात वटा महिनामा चाडहरू मनाउँथे र ती प्रत्येक महिनाको ३० औँ दिनमा यहुदी न्यायपरिषद्‌का सदस्यहरू एक ठाउँमा भेला हुन्थे अनि अर्को महिना कहिले सुरु हुन्छ भनेर निर्णय गर्थे। तर केको आधारमा?

औँसीपछि पहिलो चोटि अर्धचन्द्रमा देखा परेको हेर्न यरुसलेमका अग्ला डाँडाहरूमा पहरेदारहरू खटाइन्थ्यो र चन्द्रमा देख्नेबित्तिकै तिनीहरूले न्यायपरिषद्‌लाई खबर गर्थे। अनि चन्द्रमा देखा परेको पर्याप्त प्रमाण पाएपछि न्यायपरिषद्‌ले नयाँ महिना सुरु भएको घोषणा गर्थ्यो। तर बादल वा हुस्सुले गर्दा पहरेदारहरूले चन्द्रमा देखेनन्‌ भने नि? त्यस्तो अवस्थामा चालू महिना ३० दिनको हुनेछ भनेर घोषणा गरिन्थ्यो र नयाँ महिना सुरु हुन्थ्यो।

नयाँ महिना सुरु भएको घोषणा गर्न यरुसलेमनजिकै जैतुन डाँडामा सङ्‌केतको रूपमा आगो बालिन्थ्यो भनेर मिस्नाहमा बताइएको छ। इस्राएलभरिका अरू अग्ला डाँडाहरूमा पनि मानिसहरूसम्म यो खबर पुऱ्‍याउन आगो बाल्ने गरिन्थ्यो। पछि-पछि भने सन्देशवाहकहरूलाई पठाउन थालियो। यसरी यरुसलेम र अन्य ठाउँहरूमा बस्ने यहुदीहरूलाई नयाँ महिना सुरु भएको खबर गरिन्थ्यो। यसले गर्दा सबै यहुदीले एकै समयमा चाडहरू मनाउन सक्थे।

हिब्रू महिना, चाड वा मौसमबारे थाह पाउन सँगैको चार्ट हेर्नुहोस्‌।

^ फेब्रुअरी १, १९९१ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ २३-२४ हेर्नुहोस्‌।