सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययन लेख २४

यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ

यहोवा क्षमा गर्न सधैँ तयार हुनुहुन्छ

“हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ; तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।”—भज. ८६:५.

गीत ४२ परमेश्‍वरको सेवकको प्रार्थना

परिचय *

१. उपदेशक ७:२० मा राजा सुलेमानले के भने?

 राजा सुलेमानले यस्तो लेखे: “सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।” (उप. ७:२०) यो कुरा एकदमै सही हो! हामी सबै जना पापी छौँ। (१ युह. १:८) त्यसैले हामीलाई परमेश्‍वरबाट र सङ्‌गी मानिसहरूबाट क्षमा चाहिन्छ।

२. साथीले क्षमा दिँदा कस्तो महसुस हुन्छ?

तपाईँले कुनै समय आफ्नो मिल्ने साथीको चित्त दुखाउनुभएको थियो होला। तिनीसितको सम्बन्ध फेरि राम्रो बनाउन सायद तपाईँले तिनीसित मनैदेखि माफी माग्नुभयो। तिनले क्षमा दिँदा तपाईँले कस्तो महसुस गर्नुभयो? तपाईँलाई मनबाट ठूलो बोझ हटेको महसुस भयो होला।

३. यस लेखबाट हामी कस्ता प्रश्‍नहरूको जवाफ पाउनेछौँ?

हामी यहोवासित घनिष्ठ मित्रता गाँस्न चाहन्छौँ तर कहिलेकाहीँ हाम्रो बोली र कामले गर्दा यहोवाको चित्त दुख्न सक्छ। यहोवा हामीलाई क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौँ? यहोवाले दिनुहुने क्षमा हामी मानिसले दिने क्षमाभन्दा किन उल्लेखनीय छ? अनि कसले परमेश्‍वरबाट क्षमा पाउन सक्छ?

यहोवा क्षमा गर्न तयार हुनुहुन्छ

४. यहोवा क्षमा गर्न तयार हुनुहुन्छ भनेर हामी किन पक्का हुन सक्छौँ?

परमेश्‍वरको वचनले उहाँ क्षमा गर्न तयार हुनुहुन्छ भनेर आश्‍वासन दिन्छ। यहोवा सिनै डाँडामा मोसासामु प्रकट हुनुहुँदा उहाँले एक जना स्वर्गदूतमार्फत तिनलाई यसो भन्‍नुभयो: “म यहोवा कृपालु र दयालु छु, म हतपती रिसाउँदिनँ अनि म अटल प्रेम र सत्यले भरिपूर्ण छु। मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ। म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु।” (प्रस्थ. ३४:६, ७) यहोवा दयालु र कृपालु हुनुभएकोले पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।—नहे. ९:१७; भज. ८६:१५.

हाम्रो व्यक्‍तित्वलाई के-कस्ता कुराहरूले आकार दियो भनेर यहोवाले बुझ्नुभएको छ (अनुच्छेद ५ हेर्नुहोस्‌)

५. भजन १०३:१३, १४ अनुसार यहोवा के गर्न उत्प्रेरित हुनुभएको छ?

यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ हामीलाई राम्ररी चिन्‍नुहुन्छ। उहाँलाई यस पृथ्वीमा भएका हरेक व्यक्‍तिबारे एक-एक कुरा थाह छ। (भज. १३९:१५-१७) वंशानुगत पापले गर्दा हामीमा भएका कमीकमजोरी पनि उहाँबाट लुकेको छैन। साथै हाम्रो जीवनमा घटेका कस्ता घटनाहरूले हाम्रो व्यक्‍तित्वलाई आकार दियो भनेर पनि उहाँले बुझ्नुभएको छ। मानिसजातिलाई यत्ति नजिकबाट चिन्‍नुभएकोले यहोवा हामीसित कृपालु व्यवहार गर्न उत्प्रेरित हुनुभएको छ।—भज. ७८:३९; भजन १०३:१३, १४ पढ्‌नुहोस्‌।

६. यहोवा क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर किन भन्‍न सक्छौँ?

यहोवाले उहाँ क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर प्रमाणित गर्नुभएको छ। पहिलो मानिस आदमको पापले गर्दा हामी सबै जना पापी भएका छौँ र अन्ततः मर्छौँ। (रोमी ५:१२) हामी आफैलाई वा अरू कसैलाई पाप र मृत्युको दासत्वबाट छुटकारा दिन केही गर्न सक्दैनौँ। (भज. ४९:७-९) तर मायालु परमेश्‍वरले हामीलाई कृपा देखाउनुभयो र छुटकारा दिन एउटा प्रबन्ध मिलाउनुभयो। कस्तो प्रबन्ध? युहन्‍ना ३:१६ अनुसार उहाँले आफ्नो एक मात्र छोरा हाम्रो निम्ति मर्न पठाउनुभयो। (मत्ति २०:२८; रोमी ५:१९) येसुले आफूमाथि विश्‍वास गर्ने हरेक मानिसलाई पाप र मृत्युको दासत्वबाट मुक्‍त गर्न आफ्नो जीवन बलिदान दिनुभयो। (हिब्रू २:९) आफ्नो छोराले अपमान भोगेको र तड्‌पी-तड्‌पी मरेको हेर्नुपर्दा यहोवालाई कत्ति असह्‍य पीडा भयो होला! यहोवाले क्षमा दिन नचाहनुभएको भए उहाँले आफ्नो छोरा हाम्रो लागि मर्न पठाउनुहुने थिएन।

७. यहोवाबाट क्षमा पाएका केही मानिसबारे बताउनुहोस्‌।

बाइबलमा यहोवाबाट क्षमा पाएका थुप्रै मानिसबारे बताइएको छ। (एफि. ४:३२) तपाईँ कसलाई सम्झनुहुन्छ? तपाईँ दुष्ट राजा मनस्सेलाई सम्झनुहुन्छ होला। तिनले परमेश्‍वरको नजरमा थुप्रै खराब काम गरे। तिनले झूटा देवताहरूको उपासना गरे र अरूलाई पनि त्यसै गर्न लगाए। तिनले झूटा देवताहरूको लागि आफ्ना छोराहरू बलि चढाए। तिनले यहोवाको मन्दिरमा झूटा देवताहरूको मूर्तिहरूसमेत राखे। तिनीबारे बाइबलमा यसो भनिएको छ: “तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।” (२ इति. ३३:२-७) तर मनस्सेले मनैदेखि पश्‍चात्ताप गर्दा यहोवाले तिनलाई खुला मनले क्षमा दिनुभयो र तिनको राज्य फिर्ता गरिदिनुभयो। (२ इति. ३३:१२, १३) तपाईँ राजा दाउदलाई पनि सम्झनुहुन्छ होला। तिनले व्यभिचार र हत्याजस्ता गम्भीर पापहरू गरे तर गल्ती स्विकारेर मनैदेखि पश्‍चात्ताप गर्दा यहोवाले तिनलाई क्षमा दिनुभयो। (२ समु. १२:९, १०, १३, १४) यी उदाहरणहरूबाट यहोवा क्षमा दिन इच्छुक हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। यहोवाले दिनुहुने क्षमा मानिसले दिने क्षमाभन्दा कुन तरिकामा उल्लेखनीय छ, अब त्यसबारे बुझौँ।

यहोवाको क्षमा उल्लेखनीय छ

८. यहोवा सर्वोत्कृष्ट न्यायकर्ता हुनुहुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

यहोवा “सारा पृथ्वीका न्यायकर्ता” हुनुहुन्छ। (उत्प. १८:२५) एक जना असल न्यायाधीशले नियमकानुन राम्ररी बुझेको हुनुपर्छ। हाम्रो न्यायकर्ता यहोवालाई पनि नियमकानुन राम्ररी थाह छ किनकि उहाँ कानुनदाता हुनुहुन्छ। (यसै. ३३:२२) सही र गलतको ज्ञान यहोवालाई जत्तिको राम्ररी अरू कसैलाई पनि छैन। असल न्यायाधीशमा अर्को कस्तो योग्यता हुनुपर्छ? तिनले कुनै मुद्दाको फैसला सुनाउनुअघि त्यस मुद्दासित सम्बन्धित सबै सत्यतथ्य राम्ररी बुझेको हुनुपर्छ। यस सन्दर्भमा पनि यहोवा सर्वोत्कृष्ट न्यायकर्ता हुनुहुन्छ।

९. क्षमा दिने कि नदिने भनेर यहोवा केको आधारमा निर्णय गर्नुहुन्छ?

मानव न्यायाधीशलाई जस्तो नभई यहोवालाई जुनसुकै मामिलाको सम्पूर्ण सत्यतथ्य थाह हुन्छ। (उत्प. १८:२०, २१; भज. ९०:८) उहाँ मानिसहरूले जस्तै देखेको वा सुनेको कुराको आधारमा मात्र न्याय गर्नुहुन्‍न। उहाँ कुनै व्यक्‍तिको व्यवहारलाई तिनको वंशानुगत गुण, लालनपालन, तिनी हुर्केको वातावरण अनि तिनको भावनात्मक र मानसिक अवस्थाले प्रभाव पारेको हुन्छ भन्‍ने कुरा राम्ररी बुझ्नुहुन्छ। उहाँ मानिसको हृदय पनि पढ्‌न सक्नुहुन्छ। कुनै व्यक्‍तिले कुनै काम कस्तो मनसायले गऱ्‍यो भन्‍ने कुरा उहाँ बुझ्नुहुन्छ। उहाँको नजरबाट कुनै कुरा लुक्न सक्दैन। (हिब्रू ४:१३) हो, यहोवा सबै सत्यतथ्य राम्ररी बुझेर मात्र क्षमा दिने कि नदिने भनेर निर्णय गर्नुहुन्छ।

यहोवा न्यायी र निष्पक्ष हुनुहुन्छ। उहाँलाई कसैले घुस दिन सक्दैन (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. यहोवाको फैसला सधैँ सही हुन्छ भनेर हामी किन भन्‍न सक्छौँ? (व्यवस्था ३२:४)

१० यहोवा निष्पक्ष हुनुहुन्छ र उहाँको फैसला सधैँ सही हुन्छ। उहाँ कसैको रूपरङ्‌ग, धन, प्रतिष्ठा वा क्षमताको आधारमा क्षमा दिने कि नदिने भनेर निर्णय गर्नुहुन्‍न। (१ समु. १६:७; याकु. २:१-४) उहाँलाई कसैले पनि दबाब वा घुस दिन सक्दैन। (२ इति. १९:७) उहाँ कहिल्यै पनि आवेगमा आएर वा भावनामा बहेर निर्णय गर्नुहुन्‍न। (प्रस्थ. ३४:७) यहोवा सर्वोत्कृष्ट न्यायकर्ता हुनुहुन्छ किनकि उहाँलाई हामीबारे सबै कुरा थाह छ र उहाँ हाम्रो अवस्था पनि बुझ्नुहुन्छ।व्यवस्था ३२:४ पढ्‌नुहोस्‌।

११. यहोवाले दिनुहुने क्षमा मानिसले दिने क्षमाभन्दा किन उल्लेखनीय छ?

११ हिब्रू धर्मशास्त्रका लेखकहरूले यहोवाले दिनुहुने क्षमा मानिसले दिने क्षमाभन्दा उल्लेखनीय छ भनेर बुझेका थिए। कुनै-कुनै पदमा ती लेखकहरूले क्षमाको लागि प्रयोग गरेको हिब्रू शब्दबारे एउटा स्रोतसामग्री यसो भन्छ: “यो शब्द परमेश्‍वरले पापीहरूलाई दिनुहुने क्षमालाई बुझाउन मात्र प्रयोग गरिएको छ। यो शब्द एउटा मानिसले अर्को मानिसलाई दिने क्षमालाई बुझाउन कहिल्यै प्रयोग गरिएको छैन।” हो, यहोवाले मात्र पश्‍चात्ताप गर्ने व्यक्‍तिलाई पूर्ण रूपमा क्षमा दिन सक्नुहुन्छ। यहोवाको क्षमाबाट हामी कस्तो लाभ उठाउन सक्छौँ?

१२-१३. (क) यहोवाबाट क्षमा पाउँदा हामी कस्तो लाभ उठाउन सक्छौँ? (ख) यहोवाले क्षमा दिनुभएपछि हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

१२ यहोवाले हामीलाई क्षमा दिनुभएको छ भन्‍ने कुरा स्विकाऱ्‍यौँ भने हामी “स्फूर्ति” र मनोशान्ति पाउँछौँ अनि अन्तस्करण पनि सफा हुन्छ। मानिसबाट होइन, “स्वयम्‌ यहोवा परमेश्‍वरबाट” क्षमा पाउँदा मात्र हामी यस्तो अनुभूति गर्न सक्छौँ। (प्रेषि. ३:१९) हामीलाई क्षमा दिनुभएपछि यहोवाले हामीसित फेरि सम्बन्ध गाँस्नुहुन्छ र हामीले गरेको पाप कहिल्यै सम्झनुहुन्‍न।

१३ अनि उहाँले हामीलाई त्यही पापको लागि घरीघरी दोषी ठहराउने वा सजाय दिने गर्नुहुन्‍न। (यसै. ४३:२५; यर्मि. ३१:३४) “पूर्वबाट पश्‍चिम जति टाढा छ,” उहाँले हाम्रा पापहरू त्यति नै टाढा राखिदिनुहुन्छ। * (भज. १०३:१२) यहोवाको क्षमा कत्ति अपार छ भन्‍ने कुरामा मनन गर्दा हामी श्रद्धा र कृतज्ञताले ओतप्रोत हुन्छौँ। (भज. १३०:४) तर यस्तो क्षमा कसले मात्र पाउन सक्छ?

यहोवा कसलाई क्षमा दिनुहुन्छ?

१४. हामीले यहोवाको क्षमाबारे के सिक्यौँ?

१४ यहोवा हाम्रो पाप कत्तिको ठूलो वा सानो हो, त्यसको आधारमा क्षमा दिने कि नदिने भनेर निर्णय गर्नुहुन्‍न भन्‍ने कुरा हामीले बुझ्यौँ। यहोवा हाम्रो सृष्टिकर्ता, कानुनदाता र न्यायकर्ता हुनुभएकोले उहाँसँग अथाह ज्ञान छ अनि त्यही ज्ञान प्रयोग गरेर क्षमा दिने कि नदिने भनेर निर्णय गर्नुहुन्छ। साथै उहाँ अरू के-कस्ता कुराहरू विचार गर्नुहुन्छ?

१५. लुका १२:४७, ४८ अनुसार क्षमा दिनुअघि यहोवा कुन कुरा विचार गर्नुहुन्छ?

१५ एउटा कुरा, पाप गरेको व्यक्‍तिलाई आफूले गरेको काम गलत हो भनेर थाह थियो कि थिएन भनी यहोवा विचार गर्नुहुन्छ। यो कुरा येसुले लुका १२:४७, ४८ मा प्रस्ट पार्नुभयो। (पढ्‌नुहोस्‌।) कुनै काम यहोवालाई मन पर्दैन भनेर थाह हुँदाहुँदै पनि कसैले योजनै बनाएर त्यस्तो काम गर्छ भने उसले गम्भीर पाप गरिरहेको हुन्छ। त्यस्तो व्यक्‍तिले यहोवाबाट क्षमा नपाउन पनि सक्छ। (मर्कु. ३:२९; युह. ९:४१) तर कहिलेकाहीँ हामीलाई कुनै काम गलत हो भनेर थाह भए पनि हामी त्यो गर्न पुग्छौँ। त्यस्तो अवस्थामा के यहोवाबाट क्षमा पाउने कुनै आशा छ? छ। तर क्षमा दिनुअघि यहोवा अर्को कुरा पनि विचार गर्नुहुन्छ।

हामीले मनैदेखि पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले क्षमा दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ (अनुच्छेद १६-१७ हेर्नुहोस्‌)

१६. पश्‍चात्ताप गर्नु भनेको के हो र यहोवाबाट क्षमा पाउन हामीले किन पश्‍चात्ताप गर्नुपर्छ?

१६ अर्को कुरा, पाप गरेको व्यक्‍तिले मनैदेखि पश्‍चात्ताप गरेको छ कि छैन भनेर यहोवा विचार गर्नुहुन्छ। पश्‍चात्ताप गर्नु भनेको के हो? पश्‍चात्ताप गर्नु भनेको “आफ्नो मन, मनोवृत्ति र उद्देश्‍यमा परिवर्तन ल्याउनु” हो। पश्‍चात्ताप गर्नुमा आफूले खराब काम गरेकोमा वा गर्नुपर्ने काम नगरेकोमा पछुतो मान्‍नु र दुःखी हुनु समावेश छ। पश्‍चात्तापी व्यक्‍ति आफूले गरेको गलत कामको लागि मात्र होइन, यहोवासितको सम्बन्ध बिग्रन दिएकोमा पनि दुःखी हुन्छ किनकि त्यही कारणले गर्दा तिनी पापमा फसेका थिए। राजा मनस्से र दाउदले गम्भीर पाप गरेका थिए। तर मनैदेखि पश्‍चात्ताप गरेकोले यहोवाले तिनीहरूलाई क्षमा दिनुभयो। (१ राजा १४:८) हो, हामीले पश्‍चात्ताप गरेको स्पष्ट प्रमाण देख्नुभएपछि मात्र यहोवाले क्षमा दिनुहुन्छ। तर हामी पापको लागि दुःखी हुनु मात्र पर्याप्त छैन, कदम चाल्न पनि तयार हुनुपर्छ। क्षमा दिनुअघि यहोवाले विचार गर्नुहुने अर्को कुरा यही नै हो। *

१७. कुनै व्यक्‍तिले यहोवाको स्तरअनुसार जीवन बिताउन के गर्नुपर्छ र पाप नदोहोऱ्‍याउन यसो गर्नु किन आवश्‍यक छ? (यसैया ५५:७)

१७ पाप गरेको व्यक्‍तिले परिवर्तन गरेको छ कि छैन भन्‍ने कुरा पनि यहोवा विचार गर्नुहुन्छ। उसले खराब मार्ग त्यागेर यहोवाको स्तरअनुसार जीवन बिताउनुपर्छ। (यसैया ५५:७ पढ्‌नुहोस्‌।) उहाँको सोचाइअनुसार चल्न उसले आफ्नो सोचाइ पूरै परिवर्तन गर्नुपर्छ। (रोमी १२:२; एफि. ४:२३) साथै उसले आफ्नो खराब सोचाइ र काम त्याग्ने सङ्‌कल्प गर्नुपर्छ। (कल. ३:७-१०) फिरौतीको बलिदानमाथिको हाम्रो विश्‍वासको आधारमा यहोवा हामीलाई क्षमा गर्नुहुन्छ र हाम्रो पाप पखालेर शुद्ध पार्नुहुन्छ। हामीले खराब मार्ग त्यागेर आफूमा परिवर्तन ल्याउन निष्कपट प्रयास गरेको देख्दा यहोवाले हामीलाई त्यही बलिदानको आधारमा क्षमा दिनुहुन्छ।—१ युह. १:७.

यहोवाले क्षमा दिनुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌

१८. हामीले यस लेखमा यहोवाको क्षमाबारे के बुझ्यौँ?

१८ हामीले यस लेखमा छलफल गरेका मुख्य बुँदाहरू फेरि एकचोटि विचार गरौँ। यहोवा यस ब्रह्‍माण्डकै सबैभन्दा महान्‌ क्षमादाता हुनुहुन्छ। हामी किन यसो भन्‍न सक्छौँ? पहिलो, उहाँ क्षमा गर्न सधैँ तयार हुनुहुन्छ। दोस्रो, उहाँलाई हामीबारे एक-एक कुरा थाह छ। हामी कसरी बनिएका छौँ भनेर उहाँ जान्‍नुहुन्छ र हामीले साँचो पश्‍चात्ताप गरेका छौँ कि छैनौँ भनेर खुट्ट्याउन सक्ने उहाँ मात्र हुनुहुन्छ। तेस्रो, यहोवाले हामीलाई एक चोटि क्षमा दिनुभएपछि हाम्रो गल्ती सधैँको लागि बिर्सनुहुन्छ। यसले गर्दा हाम्रो अन्तस्करण सफा हुन्छ र हामीले उहाँको अनुमोदन पाउँछौँ।

१९. हामीबाट गल्तीहरू भइरहने भए तापनि हामी किन आनन्दित हुन सक्छौँ?

१९ हामी त्रुटिपूर्ण भएकोले हामीबाट गल्तीहरू भइरहन्छन्‌ तर धर्मशास्त्रमा अन्तर्दृष्टि, (अङ्‌ग्रेजी) खण्ड २, पृष्ठ ७७१ मा यस्तो सान्त्वनादायी कुरा बताइएको छ: “यहोवा कृपालु हुनुहुन्छ अनि आफ्ना सेवकहरू त्रुटिपूर्ण छन्‌ भन्‍ने कुरा उहाँलाई राम्ररी थाह छ। त्यसैले जन्मजातै त्रुटिपूर्ण भएकोले हामी आफूबाट हुने गल्तीहरूको कारण सधैँ दुःखी भएर बस्नुपर्दैन। (भज १०३:८-१४; १३०:३) यहोवाको स्तरअनुसार जीवन बिताउन सक्दो प्रयास गरिरहेका छौँ भने हामी आनन्दित हुन सक्छौँ। (फिलि ४:४-६; १यु ३:१९-२२)” कत्ति सान्त्वनादायी कुरा!

२०. अर्को लेखमा हामी के छलफल गर्नेछौँ?

२० मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई यहोवा क्षमा दिन तयार हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामी ढुक्क महसुस गर्छौँ। तर हामी यहोवाको क्षमा कसरी अनुकरण गर्न सक्छौँ? हामीले दिने क्षमा र यहोवाले दिनुहुने क्षमाबीच के-कस्ता समानता र भिन्‍नता छन्‌? यसबारे बुझ्नु किन महत्त्वपूर्ण छ? यी प्रश्‍नहरूबारे अर्को लेखमा छलफल गर्नेछौँ।

गीत ४५ मेरो चिन्तन

^ यहोवाको वचनले उहाँ पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन तयार हुनुहुन्छ भनेर आश्‍वासन दिन्छ। तर कहिलेकाहीँ हामीलाई आफू क्षमा पाउन लायकको छैन जस्तो लाग्न सक्छ। यस लेखमा यहोवा मनैदेखि पश्‍चात्ताप गर्नेहरूलाई क्षमा दिन सधैँ तयार हुनुहुन्छ भन्‍ने कुरामा हामी किन विश्‍वस्त हुन सक्छौँ, त्यसबारे छलफल गर्नेछौँ।

^ थप व्याख्या: “पश्‍चात्ताप” शब्दले मन परिवर्तन गर्नु अनि विगतको जीवनशैली र गलत कामको लागि वा आफूले गर्नुपर्ने काम गर्न नसकेकोले मनैदेखि पछुताउनु भन्‍ने अर्थ दिन्छ। साँचो पश्‍चात्ताप कामबाट देखिन्छ; यसले मानिसलाई सही बाटोमा हिँड्‌न लगाउँछ।