सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर र येसुबारे सत्य कुरा

परमेश्‍वर र येसुबारे सत्य कुरा

मानिसहरू थुप्रै देवीदेवताको उपासना गर्छन्‌ तर साँचो परमेश्‍वर एक जना मात्र हुनुहुन्छ। (युहन्‍ना १७:३) उहाँ “सर्वोच्च परमेश्‍वर” हुनुहुन्छ। उहाँ सबै थोकको सृष्टिकर्ता र जीवनको मूल हुनुहुन्छ। उहाँ मात्र हाम्रो उपासना पाउन योग्य हुनुहुन्छ।—दानिएल ७:१८; प्रकाश ४:११.

परमेश्‍वर को हुनुहुन्छ?

बाइबलका पाण्डुलिपिहरूमा परमेश्‍वरको नाम लगभग ७,००० पटक पाइन्छ

परमेश्‍वरको नाम यहोवा हो

प्रभु, परमेश्‍वर, बुबा—यहोवाको केही पदवीहरू

परमेश्‍वरको नाम के हो? परमेश्‍वर यसो भन्‍नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) बाइबलमा परमेश्‍वरको नाम लगभग ७,००० पटक उल्लेख गरिएको छ। तर थुप्रै बाइबलमा परमेश्‍वरको नाम हटाएर “परमप्रभु” जस्ता पदवीहरू राखिएका छन्‌। परमेश्‍वर तपाईँ उहाँको साथी बनेको चाहनुहुन्छ, त्यसैले ‘उहाँको नाम पुकार्न’ परमेश्‍वर तपाईँलाई आग्रह गर्नुहुन्छ।—भजन १०५:१.

यहोवाका पदवीहरू। बाइबलमा यहोवाका विभिन्‍न पदवीहरू पाइन्छन्‌, जस्तै: “परमेश्‍वर,” “सर्वशक्‍तिमान्‌,” “सृष्टिकर्ता,” “बुबा,” “प्रभु” र “ब्रह्‍माण्डका मालिक”। बाइबलमा उल्लेख गरिएका थुप्रै प्रार्थनामा यहोवालाई उहाँको पदवी वा नामद्वारा सम्बोधन गरिएको छ।—दानिएल ९:४.

परमेश्‍वरको स्वरूप। परमेश्‍वर अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। (युहन्‍ना ४:२४) “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (युहन्‍ना १:१८) बाइबलमा उहाँका भावनाहरू व्यक्‍त गरिएको छ। जस्तै: खराब मानिसहरूले विद्रोह गर्दा उहाँ दुःखी हुनुभएको विवरण बाइबलमा पाइन्छ। तर असल मानिसहरूलाई “उहाँ मन पराउनुहुन्छ” भनेर पनि बाइबलमा लेखिएको छ।—हितोपदेश ११:२०; भजन ७८:४०, ४१.

परमेश्‍वरका मनमोहक गुणहरू। परमेश्‍वर कुनै मानिसलाई उसको पृष्ठभूमि वा राष्ट्रको आधारमा पक्षपात गर्नुहुन्‍न। (प्रेषित १०:३४, ३५) परमेश्‍वरका थुप्रै मनमोहक गुण छन्‌, जस्तै: उहाँ कृपालु र दयालु हुनुहुन्छ, उहाँ हतपती रिसाउनुहुन्‍न अनि अटल प्रेम र सत्यले भरिपूर्ण हुनुहुन्छ। (प्रस्थान ३४:६, ७) तर उहाँका चार वटा गुण भने विशेष छन्‌।

शक्‍ति। परमेश्‍वर “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ। त्यसैले उहाँ आफूले गरेको सबै प्रतिज्ञा पूरा गर्न सक्षम हुनुहुन्छ।—उत्पत्ति १७:१.

बुद्धि। परमेश्‍वरको बुद्धि अथाह छ। त्यसैले बाइबलले उहाँ “एक मात्र बुद्धिमान्‌ परमेश्‍वर” हुनुहुन्छ भनी बताउँछ।—रोमी १६:२७.

न्याय। परमेश्‍वर सधैँ सही काम गर्नुहुन्छ। “उहाँको काममा कुनै खोट छैन” अनि “उहाँ कहिल्यै अन्याय गर्नुहुन्‍न।”—व्यवस्था ३२:४.

प्रेम। “परमेश्‍वर प्रेम हुनुहुन्छ” भनी बाइबल बताउँछ। (१ युहन्‍ना ४:८) परमेश्‍वर प्रेम देखाउनु मात्र हुन्‍न तर उहाँ प्रेमको स्रोत हुनुहुन्छ। उहाँका सबै काममा उहाँको उत्कृष्ट प्रेम झल्किन्छ अनि यसबाट हामीले थुप्रै लाभ उठाउन सकेका छौँ।

परमेश्‍वर र मानिसबीचको मित्रता। परमेश्‍वर हाम्रो स्वर्गमा बस्नुहुने मायालु बुबा हुनुहुन्छ। (मत्ति ६:९) परमेश्‍वरमा विश्‍वास गऱ्‍यौँ भने हामी उहाँको साथी बन्‍न सक्छौँ। (भजन २५:१४) वास्तवमा प्रार्थना गरेर तपाईँ उहाँको नजिक हुन सक्नुहुन्छ र ‘आफ्नो सारा फिक्री उहाँमाथि बिसाउन’ सक्नुहुन्छ। किनकि उहाँले हाम्रो ख्याल राख्नुहुन्छ।—१ पत्रुस ५:७; याकुब ४:८.

परमेश्‍वर र येसुबीच कस्तो भिन्‍नता छ?

येसु परमेश्‍वर हुनुहुन्‍न। परमेश्‍वरले येसुलाई सबैभन्दा सुरुमा आफ्नै हातले सृष्टि गर्नुभयो। त्यसैले उहाँ अरू सृष्टिभन्दा फरक हुनुहुन्छ। बाइबलले येसुलाई परमेश्‍वरको छोरा भन्छ। (युहन्‍ना १:१४) येसुले “मुख्य कारिगर”-को रूपमा यहोवासँगै मिलेर सबै थोक सृष्टि गर्नुभयो।—हितोपदेश ८:३०, ३१; कलस्सी १:१५, १६.

येसुले कहिल्यै आफू परमेश्‍वर भएको दाबी गर्नुभएन। येसुले आफूबारे यसो भन्‍नुभयो, “म उहाँको [परमेश्‍वरको] प्रतिनिधि हुँ र उहाँले नै मलाई पठाउनुभएको हो।” (युहन्‍ना ७:२९) आफ्नो एक जना चेलासित कुराकानी गर्नुहुँदा येसुले यहोवा “मेरा बुबा र तिमीहरूका बुबा अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वर” हुनुहुन्छ भनी बताउनुभयो। (युहन्‍ना २०:१७) यहोवाले येसुलाई मृत्युबाट ब्युँताउनुभयो र स्वर्गमा जीवन दिनुभयो। साथै आफ्नो दाहिने हाततर्फ उच्च पद पनि दिनुभयो।—मत्ति २८:१८; प्रेषित २:३२, ३३.

परमेश्‍वरसित नजिक हुन येसुले तपाईँलाई मदत गर्न सक्नुहुन्छ

आफ्नो बुबाको विषयमा बताउन येसु पृथ्वीमा आउनुभयो। यहोवाले येसुबारे यसो भन्‍नुभयो, “यिनी मेरो प्यारो छोरा हुन्‌। उनको कुरा सुन।” (मर्कुस ९:७) परमेश्‍वरलाई येसुले जत्तिको राम्ररी अरू कसैले चिनेको छैन। त्यसैले उहाँले यसो भन्‍न सक्नुभयो, “बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।”—लुका १०:२२.

येसुले परमेश्‍वरका गुणहरू दुरुस्त झल्काउनुभयो। येसुले आफ्नो बुबाका गुणहरू दुरुस्तै झल्काउनुभयो। त्यसैले उहाँले यसो भन्‍न सक्नुभयो, “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युहन्‍ना १४:९) येसुले आफ्नो बोली र काममा परमेश्‍वरको प्रेम झल्काउनुभयो। यसले गर्दा मानिसहरू परमेश्‍वरसित नजिक हुन सके। उहाँले यसो भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (युहन्‍ना १४:६) उहाँले यसो पनि भन्‍नुभयो, “साँचो उपासकहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम परमेश्‍वरको उपासना गर्नेछन्‌ किनकि परमेश्‍वर यस्तै उपासकहरूको खोजीमा हुनुहुन्छ।” (युहन्‍ना ४:२३) कल्पना गर्नुहोस्‌ त! यहोवा तपाईँजस्तै सत्यको निम्ति भोकाएका मानिसहरूको खोजीमा हुनुहुन्छ।