सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यिस्ट कोष असाध्यै जटिल छ। यसभित्र व्यवस्थित न्युक्लियस र डिएनए हुन्छ, जसले रसायनहरूलाई खानामा परिणत गर्छ। यसरी यो जीवित रहन सक्छ।

जीवनबाट हामी के थाह पाउन सक्छौँ?

जीवनबाट हामी के थाह पाउन सक्छौँ?

हाम्रो वरपर भएका जीवहरू बढ्‌छन्‌, चलहल गर्छन्‌ अनि सङ्‌ख्यामा वृद्धि हुन्छन्‌। तिनीहरूले गर्दा नै हाम्रो पृथ्वी असाध्यै सुन्दर देखिन्छ। आज मानिसहरूले जीवहरूबारे धेरै कुरा जानिसकेका छन्‌। जीवनबाट यसको सुरुवातबारे के थाह पाउन सक्छौँ? आउनुहोस्‌, विचार गरौँ।

जीवनको सुरुवात कसैले गरेको हुनुपर्छ। सबै जीव सूक्ष्म कोषहरूले बनिएका हुन्छन्‌। यी कोषहरू सानो कारखानाजस्तै छन्‌ र तिनीहरूमा विभिन्‍न जटिल कामहरू हुन्छन्‌। यसले गर्दा जीवहरू जीवित रहन र प्रजनन गर्न सक्छन्‌। यस्तो जटिल प्रक्रिया सबै जीवमा हुन्छ। उदाहरणको लागि, पाउरोटी बनाउन प्रयोग गरिने यिस्टलाई लिन सक्छौँ। यो एक कोषीय जीव हो। मानिसको कोषसित तुलना गर्ने हो भने यो एकदमै सरल देखिन्छ। तर वास्तवमा यो असाध्यै जटिल हुन्छ। यिस्ट कोषभित्र व्यवस्थित न्युक्लियस हुन्छ र त्यस न्युक्लियसभित्र डिएनए हुन्छ। हरेक कोषले रसायनहरूलाई खानामा परिणत गर्छ र यसले यिस्टलाई जीवित रहन मदत गर्छ। खानेकुरा नहुँदा यसले एक किसिमको रासायनिक प्रक्रिया सुरु गर्छ र निष्क्रिय हुन्छ। तैपनि यो जीवितै हुन्छ। त्यसैले यसलाई भण्डारण गर्न सकिन्छ र पछि पाउरोटी बनाउन प्रयोग गर्दा यो सक्रिय हुन्छ।

वैज्ञानिकहरूले मानिसको कोष कसरी काम गर्छ भनेर अझ राम्ररी बुझ्न यिस्ट कोषबारे अध्ययन गरेको दशकौँ भइसकेको छ। तर तिनीहरूले अझै पनि बुझ्न नसकेको कुरा धेरै छन्‌। स्विडेनको चाल्मर्स युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक रोस किङले यस्तो दुखेसो पोखे: “यिस्ट कोषबारे हामीले अझ धेरै अध्ययन गर्नु बाँकी छ तर त्यसको लागि पुग्दो जीवशास्त्री छैनन्‌। त्यसैले यिस्ट कोषले कसरी काम गर्छ भनेर समेत हामीले बुझ्न सकेका छैनौँ।”

एक कोषीय जीव यिस्टको जटिल बनौट विचार गर्दा यो कसैले बनाएको हुनुपर्छ भनेर के तपाईँलाई लागेन र? के यो आफसेआफ आएको होला र?

सबै जीवमा डिएनए हुन्छ। न्युक्लिओटाइड भनिने अणुहरू मिलेर डिएनए बनेको हुन्छ। मानिसको प्रत्येक कोषमा ३ अरब २० करोड न्युक्लिओटाइड हुन्छ। यी रासायनिक मिश्रणहरूले गर्दा एउटा विशेष कोड बन्छ र त्यस कोडले कोषलाई इन्जाइम र प्रोटिन बनाउने निर्देशन दिन्छ।

न्युक्लिओटाइडहरू सही तरिकामा आफै मिलेर डिएनए बन्‍ने सम्भावना १०१५० (१ पछि १५० शून्य) मा १ पटक मात्र हुन्छ। यो हुनै नसक्ने कुरा हो।

वैज्ञानिकहरूले विभिन्‍न परीक्षण गरेका छन्‌ तर तिनीहरूले निर्जीव कुराहरूबाट सजीव कुराहरू बनाउन सकेका छैनन्‌।

मानिसको जीवन उत्कृष्ट छ। हामी मानिससित जीवनको पूरापूर आनन्द उठाउन सक्ने क्षमता छ। त्यसैले हामी अरू जीवभन्दा फरक छौँ। मानिससित मात्र नयाँ-नयाँ कुरा बनाउन, समाजमा मिलेर बस्न र आफ्नो भावना व्यक्‍त गर्न सक्ने क्षमता छ। हामी विभिन्‍न किसिमका खानेकुराको स्वाद लिन सक्छौँ, आवाजहरू सुन्‍न सक्छौँ, रङहरू छुट्ट्याउन सक्छौँ, सुँघ्न सक्छौँ र सुन्दर दृश्‍यहरू हेरेर आनन्द उठाउन सक्छौँ। हामी भविष्यको लागि योजनाहरू बनाउँछौँ अनि जीवनको अर्थ खोज्छौँ।

तपाईँलाई कस्तो लाग्छ? के यस्ता क्षमताहरू मानिस जीवित रहन र प्रजनन गर्न चाहिने भएकोले आफसेआफ विकास भएका हुन्‌? अथवा के यी कुराहरूले जीवन मायालु सृष्टिकर्ताले दिनुभएको उपहार हो भनेर देखाउँछ?