सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?

जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?

सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्‍न भनेर थाह पाउनु किन महत्त्वपूर्ण छ? यदि तपाईँ अहिलेसम्मको छलफलबाट सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुभएको छ भने बाइबल उहाँको वचन हो भनेर जाँच्न चाहनुहुन्छ होला। बाइबलमा लेखिएको कुरामा विश्‍वास गर्नुभयो भने तपाईँलाई यस्ता फाइदाहरू हुनेछन्‌:

तपाईँको जीवन अझ आनन्दित हुनेछ

बाइबल भन्छ: “[ईश्‍वरले] तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”—प्रेषित १४:१७.

यसको अर्थ के हो? प्रकृतिका कुराहरू सृष्टिकर्ताले तपाईँलाई दिनुभएका उपहारहरू हुन्‌। उहाँले तपाईँको कत्ति धेरै ख्याल राख्नुहुन्छ भनेर बुझ्नुभयो भने यी उपहारहरूप्रति तपाईँको कृतज्ञता अझ बढ्‌नेछ।

दैनिक जीवनको लागि उपयोगी सल्लाह पाउनुहुनेछ

बाइबल भन्छ: “तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, . . . असल मार्ग के हो, त्यो बुझ्नेछौ।”—हितोपदेश २:९.

यसको अर्थ के हो? ईश्‍वर तपाईँको सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँलाई तपाईँ आनन्दित हुन के चाहिन्छ भनेर थाह छ। बाइबल पढ्‌नुभयो भने तपाईँले थुप्रै उपयोगी सल्लाह पाउनुहुनेछ।

तपाईँको मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ

बाइबल भन्छ: “तिमीले . . . [ईश्‍वरको] ज्ञान पाउनेछौ।”—हितोपदेश २:५.

यसको अर्थ के हो? सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह पाउनुभएपछि तपाईँले यस्ता महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ: जीवनको उद्देश्‍य के हो? यत्ति धेरै दुःखकष्ट हुनुको कारण के हो? मरेपछि हामीलाई के हुन्छ? बाइबलमा तपाईँले चित्तबुझ्दो जवाफ पाउनुहुनेछ।

साँचो आशा पाउनुहुनेछ

बाइबल भन्छ: “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”—यर्मिया २९:११.

यसको अर्थ के हो? ईश्‍वरले भविष्यमा दुष्टता, दुःखकष्ट र मृत्यु समेत हटाउने प्रतिज्ञा गर्नुभएको छ। यी प्रतिज्ञाहरूमा भरोसा गर्नुभयो भने तपाईँले दिनदिनै सामना गर्नुपर्ने समस्याहरूको डटेर सामना गर्न सक्नुहुनेछ।