सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जिब्रो चलाउँदा होस पुऱ्‍याएर प्रेम र आदर देखाउनुहोस्‌

जिब्रो चलाउँदा होस पुऱ्‍याएर प्रेम र आदर देखाउनुहोस्‌

जिब्रो चलाउँदा होस पुऱ्‍याएर प्रेम र आदर देखाउनुहोस्‌

“तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌ [ “गहिरो आदर गरोस्‌,” NW ]।”—एफिसी ५:३३.

१, २. सबै विवाहित पुरुष र स्त्रीले आफैलाई कस्तो महत्त्वपूर्ण प्रश्‍न सोध्नुपर्छ र किन?

 “भित्र फुट्‌ने सामान छ” भनेर लेखिएको उपहार पाउनुभयो भने के गर्नुहुन्छ? राम्ररी प्याक गरिएको त्यो उपहार नफुटोस्‌ भनेर तपाईं एकदमै होसियार हुनुहुन्छ। विवाह पनि उपहार हो, यसबारे चाहिं के भन्‍न सकिन्छ?

ओर्पा र रूथ नाउँका दुई युवतीलाई इस्राएली विधवा नाओमीले यसो भनिन्‌: “यहोवाले तिमीहरूलाई उपहार देऊन्‌ र तिमीहरू दुवै आ-आफ्नो पतिको घरमा राम्ररी बस्न पाओ।” (रूथ १:३-९, NW ) असल श्रीमतीबारे बाइबल यसो भन्छ: “घर-बारी र धन-सम्पत्ति पुर्खादेखिनै आएको हुन्छ, तर बुद्धिमती पत्नी परमप्रभुको वरदान हो।” (हितोपदेश १९:१४) यदि तपाईं विवाहित हुनुहुन्छ भने, आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई परमेश्‍वरले दिनुभएको वरदान अथवा उपहार ठान्‍नु जरुरी छ। त्यसोभए, परमेश्‍वरले दिनुभएको यो उपहारसित तपाईं कस्तो व्यवहार गर्दै हुनुहुन्छ?

३. पावलले दिएको कुन सल्लाह श्रीमान्‌/श्रीमतीले पालन गर्नु बेस हुन्छ?

प्रथम शताब्दीका मसीहीहरूलाई लेखेको पत्रमा प्रेरित पावलले यसो भनेका थिए: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌ [“गहिरो आदर गरोस्‌,” NW ]।” (एफिसी ५:३३) जिब्रो चलाउँदा श्रीमान्‌/श्रीमतीले यो सल्लाह कसरी प्रयोग गर्न सक्छन्‌, विचार गर्नुहोस्‌।

“चंचल बदमास” जिब्रोदेखि होसियार हुनुहोस्‌

४. जिब्रोले कसरी फाइदा वा हानि पुऱ्‍याउन सक्छ?

बाइबलका एक जना लेखक याकूब भन्छन्‌, जिब्रो “भयंकर विषले भरिएको चंचल बदमास हो।” (याकूब ३:८) याकूबलाई यो महत्त्वपूर्ण तथ्य थाह थियो: चंचल अर्थात्‌ तह नलगाएको जिब्रो खतरनाक हुन्छ। साथै, विचार नगरी बोलिएका शब्दहरू “तरवारझैं तीखो हुन्छ” भन्‍ने बाइबलको हितोपदेश पनि तिनलाई राम्ररी थाह थियो। सोही हितोपदेश अझै यसो भन्छ: “तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) हो, वास्तवमा बोलीले निकै असर गर्न सक्छ। बोलीले कि त चोट पार्छ कि निको पार्छ। तपाईंको बोली तपाईंको श्रीमान्‌ वा श्रीमतीलाई कस्तो लागिरहेको छ? आफ्नो श्रीमान्‌ वा श्रीमतीलाई यो प्रश्‍न सोध्नुभयो भने, कस्तो जवाफ पाउनुहुन्छ?

५, ६. के-कस्ता कारणले गर्दा कसै-कसैलाई जिब्रो तह लगाउन गाह्रो हुन्छ?

तपाईंहरूलाई आपसमा घोचपेच गर्नु सामान्य लागिसकेको छ भने पनि आफ्नो बानी सुधार्न सक्नुहुन्छ। तर यसको लागि प्रयास गर्नुपर्छ। किन? असिद्ध शरीरसित लड्‌नुपर्ने भएकोले। आदमले सारेको पापले गर्दा हामी झट्टै शङ्‌का गरिहाल्छौं र घोचपेच गर्न थालिहाल्छौं। याकूबले लेखे: “जो मानिस वचनमा चुक्‍तैन, त्यो आफ्नो सारा शरीरमा पनि लगाम कस्न सक्ने सिद्ध मानिस हुन्छ।”—याकूब ३:२.

मानव असिद्धताबाहेक पारिवारिक वातावरणले गर्दा पनि हाम्रो जिब्रो छुराजस्तै हुन सक्छ। कसै-कसैको परिवारमा आमाबाबु आपसमा खुलस्त कुराकानी गर्नै नचाहने “असंयमी, निष्ठूर” हुन सक्छन्‌। (२ तिमोथी ३:१-३) यस्तो परिवारमा हुर्केका छोराछोरीले वयस्क भएपछि अक्सर आमाबाबुकै जस्तो बेहोरा देखाउन थाल्छन्‌। तर, असिद्ध भयौं अथवा नराम्रो पारिवारिक वातावरणमा हुर्क्यौं भन्दैमा घोचपेच गरेर बोल्ने छुट पाइँदैन। यी कुरा सम्झ्यौं भने, कसै-कसैलाई जिब्रो तह लगाउन किन गाह्रो हुँदो रहेछ भनेर बुझ्न सक्नेछौं।

‘निन्दाहरू त्याग्नुहोस्‌’

७. मसीहीहरूलाई ‘सबै निन्दाहरू त्याग’ भनेर सल्लाह दिंदा पत्रुसले के भन्‍न खोजिरहेका थिए?

कारण जेसुकै होस्‌, घोच्ने गरी बोल्नुको अर्थ श्रीमान्‌ वा श्रीमतीबीच प्रेम र आदर कम हुनु हो। त्यसैकारण पत्रुसले मसीहीहरूलाई ‘सबै निन्दाहरू त्याग’ भनेर सल्लाह दिनु जायज छ। (१ पत्रुस २:१, NRV) “निन्दा” भनेर अनुवाद गरिएको युनानी शब्दको अर्थ “खसालेर बोल्नु” हो। यसले ‘बोलीको गोलीले हान्‍नु’ भन्‍ने अर्थ दिन्छ। तह नलगाएको जिब्रोले गर्दा कत्ति दुःख हुन्छ!

८, ९. खसालेर बोल्दा नतिजा कस्तो हुन सक्छ र श्रीमान्‌ वा श्रीमतीले किन यसरी बोल्नु हुँदैन?

खसालेर बोल्नु त्यति गम्भीर जस्तो त नलाग्ला तर श्रीमान्‌ वा श्रीमतीले यस्तो बोली बोल्दा के हुन्छ, विचार गर्नुहोस्‌। श्रीमान्‌ वा श्रीमतीलाई ‘ए मूर्ख, अल्छे अथवा स्वार्थी’ भन्दा उनी वास्तवमा त्यस्तै हुन्‌ भनेर होच्याएको हो! यसरी होच्याउनु निर्दयी हुनु हो। अनि श्रीमान्‌ वा श्रीमतीका स-साना कमजोरीलाई पनि बढाइचढाइ भन्‍ने बानी परेको छ भने नि? “तिमी जहिले पनि ढीलो गर्छ्यौ” अथवा “तपाईं कहिले पनि मेरो कुरा सुन्‍नुहुन्‍न” भन्‍नु त अलि बढ्‌तै भनेको होइन र? त्यसरी आलोचना गर्दा श्रीमान्‌ वा श्रीमतीले आफूलाई जोगाउन सफाइ दिन खोज्छन्‌। अनि यसरी सफाइ दिन खोज्दा चर्को भनाभन सुरु हुन सक्छ।—याकूब ३:५.

बातैपिच्छे घोच्ने गरी बोल्ने बानी परिसकेको छ भने, वैवाहिक जीवन तनावग्रस्त हुन्छ र यसको नतिजा पनि राम्रो हुँदैन। हितोपदेश २५:२४ भन्छ: “कचकचे स्त्रीसँग बस्नु भन्दा ता घरको कौसीको एक कुनामा बस्नु असल हो।” श्रीमान्‌ कचकचे छन्‌ भने, तिनीबारे पनि त्यसै भन्‍न सकिन्छ। घोच्ने बोलीले गर्दा अन्ततः आपसी सम्बन्ध बिस्तारै चिसो हुन थाल्छ र श्रीमान्‌ वा श्रीमतीले अब माया गर्दैन जस्तो लाग्ने मात्र होइन, आफू माया पाउन लायककै छैन जस्तोसमेत लाग्न सक्छ। कुरा स्पष्ट छ, जिब्रोलाई तह लगाउनै पर्छ। तर कसरी?

‘जिब्रोमा लगाम लगाउनुहोस्‌’

१०. जिब्रोलाई तह लगाउनु किन जरुरी छ?

१० याकूब ३:८ यसो भन्छ: “जिब्रोलाई भने कुनै मानिसले पनि तह लाउनसक्‍तैन।” तैपनि, घोडसवारले घोडालाई नियन्त्रण गर्न लगाम कसेझैं हामीले पनि आफ्नो जिब्रोमा लगाम कस्न सकेजति गर्नुपर्छ। “यदि कोही मानिसले आफूलाई भक्‍त सम्झेर आफ्नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्नो हृदयलाई धोका दिन्छ भनेता त्यस मानिसको धर्म व्यर्थको हो।” (याकूब १:२६; ३:२, ३) यी शब्दहरूबाट जिब्रो कसरी चलाउने हो, त्यसलाई हलुकासित लिनु हुँदैन भनेर प्रस्टै थाह पाउँछौं। जिब्रो कसरी चलाउँछौं, त्यसले श्रीमान्‌/श्रीमतीबीचको सम्बन्धलाई मात्र होइन, यहोवा परमेश्‍वरसितको सम्बन्धलाई समेत असर पार्छ।—१ पत्रुस ३:७.

११. सानोतिनो मतभेदलाई चर्को भनाभन हुनदेखि कसरी रोक्न सकिन्छ?

११ श्रीमान्‌ वा श्रीमती आपसमा कसरी बोल्दै हुनुहुन्छ, विचार पुऱ्‍याउनु बुद्धिमानी हो। अवस्था तनावग्रस्त हुन लाग्यो भने, तनाव कम गर्ने कोसिस गर्नुहोस्‌। इसहाक र तिनकी पत्नी रिबेकाबारे उत्पत्ति २७:४६–२८:४ मा रेकर्ड गरिएको एउटा विवरण विचार गर्नुहोस्‌। रिबेकाले इसहाकलाई यसो भनेर कचकच गरिरहिन्‌: “हेत वंशी स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले पनि यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गऱ्‍यो भने मैले बाँचेर के फायदा हुन्छ?” यस विवरणमा इसहाकले रिबेकालाई हकारेको छनक कतै पनि पाउँदैनौं। बरु रिबेकाको तनाव कम गर्न इसहाकले छोरा याकूबलाई परमेश्‍वरको डर राख्ने स्त्री खोजेर बिहे गर्न अह्राए। एकछिनको लागि मानिलिनुहोस्‌, श्रीमान्‌/श्रीमतीबीच मतभेद भयो। यतिबेला “तपाईं” अथवा “तिमी” भन्‍नुको साटो होसियार भई “म” अथवा “मलाई” भन्‍नुभयो भने, सानोतिनो मतभेद बढेर चर्को भनाभन हुन पाउँदैन। उदाहरणको लागि, “तपाईंलाई मेरो कुरा सुन्‍ने फुर्सतै छैन” भन्‍नुको साटो “मलाई, हामी सँगै बसेर कुरा गर्न मन लागिरहेको थियो” भन्दा कसो होला? मान्छेलाई मात्र दोष दिने होइन समस्यालाई औंल्याउनुहोस्‌। को सही र को गलत भनेर विवाद नगर्नुहोस्‌। रोमी १४:१९ यसो भन्छ: “हामी शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि लागौं।”

“सबै तीतोपना, क्रोध, रीस” त्याग्नुहोस्‌

१२. जिब्रोलाई नियन्त्रण गर्न हामीले के भनेर प्रार्थना गर्नुपर्छ र किन?

१२ जिब्रोलाई तह लगाउनुमा हामी जे भन्दैछौं, त्यसलाई मात्र विचार गरेर पुग्दैन। वास्तवमा, मनमा जे छ त्यही नै मुखबाट निस्कन्छ। येशूले भन्‍नुभयो: “असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्टै थोक निकाल्दछ। किनकि हृदयमा जे प्रशस्त हुन्छ त्यही त्यसको मुखले बोल्दछ।” (लूका ६:४५) त्यसकारण, जिब्रो नियन्त्रण गर्न तपाईंले पनि दाऊदले जस्तै यसरी प्रार्थना गर्नुपर्ने हुन सक्छ: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।”—भजन ५१:१०.

१३. कसरी तीतोपना, रीस र क्रोधले गर्दा घोच्ने गरी बोल्न पुगिन्छ?

१३ एफिससका मसीहीहरूलाई पावलले घोच्ने गरी नबोल्नू मात्र भनेनन्‌। तर घोच्ने गरी किन बोलिन्छ, त्यसको कारण पत्ता लगाएर त्यसलाई पनि त्याग्नू भने। तिनले लेखे: “सबै तीतोपना, क्रोध, रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्‌।” (एफिसी ४:३१) याद गर्नुहोस्‌, पावलले सुरुमा ‘तीतोपना, क्रोध र रीसबारे’ उल्लेख गरेपछि मात्र “हो-हल्ला” र “निन्दा[बारे]” उल्लेख गरे। भित्रभित्रै गुम्सिएको रीस नै घोच्ने बोलीको रूपमा मुखबाट निस्कन्छ। त्यसैले आफैलाई यो प्रश्‍न सोध्नुहोस्‌: ‘के मैले आफ्नो मनभित्र तीतोपना र क्रोध गुम्साएर राखेको छु? के म “गरम-मिजासको” छु?’ (हितोपदेश २९:२२) यदि यी प्रश्‍नको जवाफमा ‘हो म यस्तै छु’ भन्‍नुहुन्छ भने, यस्तो झुकावलाई जित्न र आत्मसंयमी भएर रीसलाई नियन्त्रण गर्न मदतको लागि परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। भजन ४:४ भन्छ: “रीस ता गर, तर पापचाहिं नगर। तिमीहरूको ओछ्यानमा आफ्ना आफ्ना मनमा गुन, र चूपचाप रहो।” तर रीसले चूर हुँदा संयम नै गुम्ने हो कि जस्तो लाग्यो भने चाहिं हितोपदेश १७:१४NW ) मा लेखिएको यो सल्लाह पालन गर्नुहोस्‌: “विवाद चर्कनुअघि नै त्यस ठाउँबाट निस्केर बाहिर जाओ।” त्यसकारण, खतरा नटरेसम्म एकछिन त्यहाँबाट निस्कनुहोस्‌।

१४. मनमा रीस पालिराख्दा वैवाहिक सम्बन्धमा कस्तो असर पर्छ?

१४ पावलले उल्लेख गरेको ‘तीतोपनाले’ गर्दा नै क्रोधित भएको र रीस उठेको हो भने, रीसलाई नियन्त्रण गर्नु सजिलो पक्कै हुनेछैन। ‘तीतोपनाको’ लागि पावलले प्रयोग गरेको युनानी शब्दको अर्थ “मिलाप गर्नै नचाहने गरी रुष्ट हुनु” र “गल्तीहरू हिसाब गरेर राख्नु” भन्‍ने अर्थ लाग्छ। कहिलेकाहीं त श्रीमान्‌/श्रीमतीबीचको शत्रुता बाक्लो कुहिरोजस्तै हुन्छ र महिनौंसम्म यस्तै भइरहन सक्छ। मनमा लागेको घाउ राम्ररी पुरिएको छैन भने पनि सम्बन्ध निकै चिसो हुन सक्छ। तर बितिसकेको कुरा मनमा खेलाएर रीस पालिराख्नु व्यर्थ हो। ‘बगेको खोला र बोलेको बोली फर्काउन सकिन्‍न,’ त्यसैले जे भयो, सो भयो। गल्ती गर्ने श्रीमान्‌ वा श्रीमतीलाई माफी दिएपछि उक्‍त गल्ती बिर्सनुपर्छ। किनकि प्रेमले “खराबीको हिसाब राख्दैन।”—१ कोरिन्थी १३:४, ५, NRV.

१५. घोच्ने गरी बोल्ने बानी परिसकेकाहरूलाई आफ्नो बानी सुधार्न केले मदत गर्न सक्छ?

१५ तपाईंको परिवारमा घोच्ने गरी बोल्ने बानी थियो र अहिले तपाईंलाई पनि घोचपेच गर्ने बानी परेको छ भने के गर्न सकिन्छ? तपाईं यसमा पनि छाँटकाँट गर्न सक्नुहुन्छ। किनकि तपाईंले पहिला पनि विभिन्‍न कुरामा ‘अब म यस्तो गर्दिनँ’ भनेर आफ्नो लागि सीमा तोक्नुभएको थियो। त्यसोभए, जिब्रो चलाउनेबारे पनि यस्तै सीमा तोक्नुभए कसो होला? आफूले तोकेको सीमा नाघेर जे पायो त्यही बोल्नुअघि नै के तपाईं आफ्नो जिब्रोमा लगाम कस्न सक्नुहुन्छ? तपाईं पक्कै पनि एफिसी ४:२९ मा तोकिएको यो सीमा पालन गर्न चाहनुहुन्छ होला: “केही कुवाक्य तिमीहरूका मुखबाट ननिस्कोस्‌।” यसको लागि “पुरानो स्वभाव त्यसका चलनसमेत” त्यागेर “नयाँ स्वभाव धारण” गर्नु जरुरी छ “जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।”—कलस्सी ३:९, १०, NRV.

“परामर्श” गर्नै पर्छ

१६. बोलचाल बन्द गर्दा वैवाहिक सम्बन्धमा किन हानि हुन्छ?

१६ “ढुंगा बोल्ला, मान्छे बोल्दैन” भनेझैं चुइँक्क एक शब्द नबोली बस्दा सम्बन्धमा अलि-अलि सुधार त होला तर यसो गर्दा सुधारभन्दा धेरै हानि हुन सक्छ। अर्कोतर्फ, कहिलेकाहीं दिक्क लागेकोले अथवा हतास भएकोले श्रीमान्‌ अथवा श्रीमती चूपो लागेर बस्न सक्छन्‌। त्यसो भन्दैमा उसले सजाय दिएको हो भन्‍न मिल्दैन। तैपनि, आपसमा बोलचालै बन्द गर्दा समस्या समाधान हुनु त कता हो कता झनै चर्किन्छ। यसबारे एउटी श्रीमतीले यसो भनिन्‌: “केही नलागेपछि हामी बोल्न त बोल्थ्यौं, तर समस्या भने ज्यूँका त्यूँ रहन्थ्यो।”

१७. हामी मसीहीहरूको वैवाहिक जीवनमा तनाव भइरहेको छ भने के गर्नुपर्छ?

१७ वैवाहिक जीवनमा हुने तनाव हटाउने सजिलो उपाय छैन। हितोपदेश १५:२२ यसो भन्छ: “परामर्श विनाको योजना विफल हुन्छ, तर धेरै सोचेर गरेको योजना सफल हुन्छ।” त्यसैले श्रीमान्‌/श्रीमती सँगै बसेर समस्याबारे छलफल गर्नु आवश्‍यक छ। श्रीमान्‌ वा श्रीमतीको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌। त्यसो गर्न सकिंदैन जस्तो लाग्यो भने, मसीही मण्डलीका प्राचीनहरूसित मदत माग्नुभए कसो होला? उहाँहरूसित बाइबलको राम्रो ज्ञान हुन्छ र उहाँहरू बाइबलका सिद्धान्तहरू प्रयोग गर्न पनि सिपालु हुनुहुन्छ। यस्ता भाइहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड लिने ठाउँ” जस्तै हुन्छन्‌।—यशैया ३२:२.

जिब्रोमा लगाम कस्न तपाईं सफल हुन सक्नुहुन्छ

१८. रोमी ७:१८-२३ मा कस्तो संघर्षबारे वर्णन गरिएको छ?

१८ जिब्रोमा लगाम कस्न संघर्ष गर्नुपरेझैं हात-खुट्टालाई वशमा राख्न पनि संघर्ष गर्नुपर्छ। आफूले भोग्नुपरेको द्वन्द्वबारे प्रेरित पावलले यसरी वर्णन गरे: “मलाई थाह छ, कि ममा, अर्थात्‌ मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिं मसित हाजिरै छ, तर असल काम गर्ने भने छैन। किनभने असल काम जो म गर्नचाहन्छु, त्यो म गर्दिनँ, तर खराब काम जो म गर्नचाहन्‍नँ, त्यही म गर्नेगर्छु। तर जो म इच्छा गर्दिनँ, त्यही गर्छु भने, त्यो गर्ने अब म होइनँ, तर मभित्र बास गर्ने पाप हो।” हाम्रा “इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धन[ले]” गर्दा हामी जिब्रो मात्र होइन, हात-खुट्टासमेत चलाउन पुग्छौं। (रोमी ७:१८-२३) तर, यस संघर्षमा सफल हुनै पर्छ र परमेश्‍वरको मदत पाएर हामी सफल हुन सक्छौं।

१९, २०. जिब्रोमा लगाम कस्ने सम्बन्धमा श्रीमान्‌/श्रीमतीले येशूको उदाहरणबाट कसरी मदत पाउन सक्छन्‌?

१९ जहाँ प्रेम र आदर हुन्छ, त्यहाँ घोच्ने गरी प्याच्च बोल्नुपर्ने आवश्‍यकता नै पर्दैन। यसबारे येशूले बसाल्नुभएको उदाहरण विचार गर्नुहोस्‌। येशूले आफ्ना चेलाहरूलाई कहिल्यै पनि खसालेर बोल्नुभएन। येशूको मानव जीवनको अन्तिम रात चेलाहरूले आपसमा को ठूलो भनेर विवाद गरिरहेको बेलासमेत उहाँले तिनीहरूलाई हप्काउनुभएन। (लूका २२:२४-२७) श्रीमान्‌हरूलाई बाइबलमा यस्तो अर्ती दिइएको छ: “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।”—एफिसी ५:२५.

२० अनि श्रीमतीहरूबारे चाहिं के भन्‍न सकिन्छ? उनीहरूले पनि ‘आ-आफ्नो पतिको गहिरो आदर गर्नुपर्छ।’ (एफिसी ५:३३, NW) श्रीमान्‌को गहिरो आदर गर्ने श्रीमतीले मनपरी बोल्दै आफ्नो श्रीमान्‌सित चिच्याउने कराउने गर्छिन्‌ र? पावलले लेखे: “तिमीहरूले यो जान भन्‍ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष हो, र ख्रीष्टका शिर परमेश्‍वर हुनुहुन्छ।” (१ कोरिन्थी ११:३) येशू आफ्नो शिर यहोवाको अधीनमा बस्नुभएझैं श्रीमतीहरू पनि आ-आफ्नो श्रीमान्‌को अधीनमा बस्नुपर्छ। (कलस्सी ३:१८) असिद्ध मानिसहरूले येशूको ठ्याक्कै अनुकरण गर्न नसके तापनि “उहाँको पाइलामा टेकेर हिंड्‌न” कोसिस गर्दा जिब्रोलाई तह लगाउने सङ्‌घर्षमा श्रीमान्‌/श्रीमती सफल हुन सक्नेछन्‌।—१ पत्रुस २:२१. (w 06 9/15)

तपाईंले के सिक्नुभयो?

• तह नलगाएको जिब्रोले वैवाहिक सम्बन्धलाई कसरी भताभुङ्‌ग पार्न सक्छ?

• जिब्रोमा लगाम कस्नु किन गाह्रो हुन्छ?

• आफ्नो बोली नियन्त्रण गर्न हामीलाई केले मदत गर्छ?

• वैवाहिक जीवनमा तनाव भयो भने, तपाईंले के गर्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

प्राचीनहरू बाइबलमा आधारित मदत दिन्छन्‌