सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हितोपदेशको पुस्तकका विषेशताहरू

हितोपदेशको पुस्तकका विषेशताहरू

यहोवाको वचन जीवित छ

हितोपदेशको पुस्तकका विषेशताहरू

प्राचीन इस्राएलका राजा सुलेमानले “तीन हजार हितोपदेश रचे।” (१ राजा ४:३२) a बुद्धिले भरिएका तिनका ती शब्दहरूबाट के हामी पनि केही लाभ उठाउन सक्छौं? पक्कै सक्छौं। ईसापूर्व ७१७ तिर लेखिसिद्धिएको बाइबलको हितोपदेश भन्‍ने पुस्तकमा सुलेमानका थुप्रै उपदेश छन्‌। उक्‍त पुस्तकका अन्तिम दुई अध्याय—अध्याय ३० याकेका छोरा आगूरले अनि अध्याय ३१ राजा लमूएलले लेखेका हुन्‌। तर सुलेमानकै अर्को नाउँ लमूएल हो भनेर विश्‍वास गर्नेहरू पनि छन्‌।

परमेश्‍वरले लेखाउनुभएको हितोपदेशको पुस्तकमा सङ्‌कलन गरिएका भनाइहरू दुइटा उद्देश्‍य अर्थात्‌ “बुद्धि र अनुशासन प्राप्त” गर्न लेखिएका हुन्‌। (हितोपदेश १:२) यी भनाइले हामीलाई बुद्धि प्राप्त गर्न मदत गर्छ। आफूले पाएको ज्ञानलाई कुनै पनि कुरा राम्ररी बुझ्न अनि समस्याहरू समाधान गर्न प्रयोग गर्ने क्षमतालाई नै बुद्धि भनिन्छ। यी भनाइबाट हामी अनुशासन अथवा नैतिक शिक्षा पनि पाउन सक्छौं। हितोपदेशको पुस्तकमा लेखिएका भनाइहरूमा ध्यान दिंदा र ती सल्लाहहरू पालन गर्दा त्यसले हाम्रो हृदयमा असर पार्छ। फलतः हामी आनन्दित अनि सफल हुन सक्छौं।—हिब्रू ४:१२.

‘बुद्धि प्राप्त गर्‌ र अर्तीलाई समातिराख्‌’

(हितोपदेश १:१–९:१८)

सुलेमान भन्छन्‌, “बुद्धि सडकहरूमा चर्को सोरले कराउँछ।” (हितोपदेश १:२०) हामीले बुद्धिको चर्को अनि स्पष्ट आवाज किन सुन्‍नुपर्छ? अध्याय २ मा बुद्धि प्राप्त गर्दा पाइने थुप्रै फाइदा लेखिएका छन्‌। यहोवासित कसरी घनिष्ठ हुने भन्‍नेबारे अध्याय ३ मा छलफल गरिएको छ। त्यसपछि सुलेमान भन्छन्‌: “बुद्धि अति श्रेष्ठ हो, त्यसैले बुद्धि प्राप्त गर्‌। तँसँग भएका सबै कुराले मूल्य चुकाउनुपरे तापनि, समझशक्‍ति प्राप्त गर्‌। अर्तीलाई समातिराख्‌, त्यसलाई उम्कन नदे, त्यसलाई राम्ररी पालन गर्‌।”—हितोपदेश ४:७, १३.

संसारका अरू मानिसजस्तो अनैतिक आचरणको पछि नलागी त्यसलाई तिरस्कार गर्न हामीलाई केले मदत गर्नेछ? हितोपदेशको ५ औं अध्याय यस्तो जवाफ दिन्छ: सोच्ने क्षमता प्रयोग गर्नुहोस्‌ र हामीलाई भ्रष्ट पार्न संसारले प्रयोग गर्ने तरिकाहरू चिन्‍नुहोस्‌। व्यभिचार गर्दा भोग्नुपर्ने डरलाग्दो परिणामबारे पनि विचार गर्नुहोस्‌। छैटौं अध्यायले यहोवासितको हाम्रो सम्बन्धलाई खतरामा पार्ने काम तथा व्यवहार नगर्न सतर्क गराउँछ। अनि ७ औं अध्यायले अनैतिक आचरण भएको व्यक्‍तिको हाउभाउ विस्तृत रूपमा व्याख्या गरेको छ। अध्याय ८ मा बुद्धिको महत्त्व र आकर्षणलाई सुन्दर तरिकामा प्रस्तुत गरिएको छ। त्यसपछि अध्याय १ देखि ८ सम्म छलफल गरिएका कुरालाई अध्याय ९ मा उदाहरणद्वारा सारांशमा प्रस्तुत गरेर हामीलाई बुद्धि प्राप्त गर्न प्रोत्साहित गरिएको छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:७; ९:१०—यहोवाको भय मान्‍नु कसरी “ज्ञानको शुरू हो” र “बुद्धिको शुरूआत हो”? यहोवाको भय मानेको छैन भने ज्ञान पनि पाउन सकिंदैन किनकि उहाँ सम्पूर्ण थोकका सृष्टिकर्ता अनि बाइबलका मूल ग्रन्थकार हुनुहुन्छ। (रोमी १:२०; २ तिमोथी ३:१६, १७) सबै सही ज्ञानको स्रोत पनि उहाँ नै हुनुहुन्छ। त्यसैले यहोवाको श्रद्धेय भय मान्‍नु भनेको ज्ञानको सुरु हो। परमेश्‍वरको भय मान्‍नु भनेको बुद्धिको सुरु पनि हो किनकि ज्ञान छैन भने बुद्धि प्राप्त गर्न सकिंदैन। यसबाहेक, परमेश्‍वरको भय नराख्ने व्यक्‍तिसित जतिसुकै ज्ञान भए तापनि उसले त्यो ज्ञान सृष्टिकर्ताको आदर गर्न प्रयोग गर्दैन।

७:१, २—“मेरा वचनहरू” र ‘मेरा आज्ञाहरूमा’ के समावेश छ? बाइबल शिक्षाको अतिरिक्‍त परिवारको भलाइको लागि आमाबाबुले बनाएका पारिवारिक नीतिनियम पनि यसमा समावेश छ। आमाबाबुले तोकेका नियम अनि बाइबलले सिकाएका शिक्षाहरू छोराछोरीले स्वीकार्नु आवश्‍यक छ।

८:३०—“कारीगर” को हो? बुद्धिले आफैलाई “कारीगर” भनेको छ। बुद्धिको विशेषताबारे कथा-कवितामा वर्णन गर्नुको अलावा बुद्धिलाई व्यक्‍तिजस्तै वर्णन गर्दा यसले लाक्षणिक अर्थमा मानिस भएर पृथ्वीमा आउनुअघिको परमेश्‍वरको जेठो पुत्र येशू ख्रीष्टलाई संकेत गर्छ। पृथ्वीमा मानिस भएर जन्मिनुभन्दा निकै अघि “सृष्टिको प्रारम्भमा नै” उहाँलाई परमेश्‍वरले सृजनुभएको थियो। (हितोपदेश ८:२२) “कारीगर” हुनुभएकोले सबै थोक सृष्टि गर्न उहाँले पितालाई सक्रिय भई मदत गर्नुभयो।—कलस्सी १:१५-१७.

९:१७—“चोरीको पानी” के हो र त्यो किन “मीठो” हुन्छ? बाइबलमा पतिपत्नीबीच हुने यौनसम्बन्धको आनन्दलाई इनारको पानी पिउँदा पाइने आनन्दसित तुलना गरिएको छ। त्यसकारण, चोरीको पानीले लुकीछिपी राखिने अवैध यौनसम्बन्धलाई चित्रण गर्छ। (हितोपदेश ५:१५-१७) चोरेर खाएको पानी मीठो भएझैं पक्राउ नपरेसम्म लुकीछुपी राखेको यौनसम्बन्ध पनि मीठो नै लाग्न सक्छ।

हाम्रो लागि पाठ:

१:१०-१४. पैसाको लोभ देखाएर गलत काम गराउन खोज्नेहरूदेखि हामी परै बस्नुपर्छ।

३:३. हामीले दया र सत्यतालाई अत्यन्त महत्त्वपूर्ण ठान्‍नुपर्छ र यी गुणहरू गलाको हारजस्तै सबैले देख्ने गरी प्रकट गर्नुपर्छ। यसबाहेक, यी गुणहरूलाई हाम्रो व्यक्‍तित्वको अभिन्‍न अंग बनाएर हृदयमा नै कुँदेर राख्नुपर्छ।

४:१८. आध्यात्मिक ज्ञानको ज्योति बिस्तारै बढ्‌दै जान्छ। त्यस्तो ज्योतिमा बस्न चाहन्छौं भने घमन्डी होइन, नम्र भइरहनै पर्छ।

५:८. संगीत, मनोरञ्जन, इन्टरनेट अथवा किताब र पत्र-पत्रिकाजस्ता कुनै पनि माध्यमबाट हामीलाई पर्न सक्ने अनैतिक प्रभावहरूबाट हामी टाढा बस्नुपर्छ।

५:२१. परमेश्‍वरलाई माया गर्नेहरूले एकछिनको आनन्दको लागि उहाँसितको असल सम्बन्धलाई गुमाउन चाहन्छन्‌ र? अहँ, कदापि चाहँदैनन्‌! यहोवा हामीले चाल्ने प्रत्येक कदम हेर्नुहुन्छ अनि हामीलाई जिम्मेवार ठहराउनुहुन्छ। त्यसैले, हामी नैतिक तवरमा शुद्ध रहने तीव्र चाहना राख्छौं।

६:१-५. यी पदहरूमा कसैको निम्ति ‘जमानी बसिदिन’ अथवा विचार नपुऱ्‍याईकन कसैलाई आर्थिक सहयोग गर्नु हुँदैन भन्‍ने विषयमा कत्ति राम्रो सुझाव दिइएको छ! होसियार भई छानबीन गर्दा विचार नपुऱ्‍याईकन कदम चालेका रहेछौं भन्‍ने देखियो भने ‘झट्टै गएर छिमेकीसँग’ बिन्ती गरिरहनुपर्छ र परिस्थिति सुधार्न सकेजति गर्नुपर्छ।

६:१६-१९. यी सात आधारभूत श्रेणीमा हर प्रकारको खराबी पर्छ। हामीले यी कुरालाई घृणा गर्न सिक्नुपर्छ।

६:२०-२४. सानैदेखि बाइबलका नियमहरू सिकाइएको छ भने यौन अनैतिकताको पासोमा फस्नदेखि जोगिन सकिन्छ। आमाबाबुले छोराछोरीलाई यसरी तालिम दिन बेवास्ता गर्नु हुँदैन।

७:४. हामीले बुद्धि र समझशक्‍तिलाई माया गर्न सिक्नै पर्छ।

हितोपदेशको प्रत्येक पदले हामीलाई डोऱ्‍याउँछ

(हितोपदेश १०:१–२९:२७)

सुलेमानले लेखेका बाँकी हितोपदेश छोटा-मीठा भनाइहरू हुन्‌। यी भनाइमा विपरीत अर्थ लाग्ने, उस्तै अर्थ लाग्ने अनि तुलना गर्न सकिने शब्दहरू प्रयोग गरेर हाम्रो आनीबानी, बोलीवचन अनि मनोवृत्ति कस्तो हुनुपर्छ, मनमा ठप्प छाप पर्ने गरी सिकाइएको छ।

अध्याय १० देखि २४ ले हामीलाई यहोवाको श्रद्धेय भय राख्न जोड दिएको छ। हितोपदेश अध्याय २५ देखि २९ “यहूदाका राजा हिजकियाहका मानिसहरूले उतारेका हुन्‌।” (हितोपदेश २५:१) यी हितोपदेशले यहोवामाथि भर पर्नुपर्ने आवश्‍यकता र अरू महत्त्वपूर्ण शिक्षा सिकाउँछन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१०:६—कसरी ‘दुष्टको मुखमा हिंसा छिपेको हुन्छ’? दुष्टले चिप्लो कुरा गरेर अरूलाई हानि पुऱ्‍याउने आफ्नो कुटिल विचार लुकाउन खोज्छ। यस पदले त्यही कुरालाई संकेत गरेको हुन सक्छ। अथवा दुष्टप्रति अरूले अक्सर वैरभाव राख्ने भएकोले ऊसित राम्रो व्यवहार नगरेपछि दुष्टको मुखमा बुजो लाग्छ।

१०:१०—कसरी “आँखा झिम्क्याउनेले शोक ल्याउँछ”? “बदमास र दुष्ट मानिस” “भ्रष्ट कुरा गरिहिंड्‌छ।” यसबाहेक, ‘आँखा झिम्क्याएर’ त्यसले हाउभाउद्वारा आफ्नो मनसाय लुकाउन खोज्छ। (हितोपदेश ६:१२, १३) त्यसको यस्तो छली व्यवहारले गर्दा पीडितलाई झन्‌ धेरै मानसिक पीडा हुन्छ।

१०:२९—“परमप्रभुको मार्ग” के हो? यस वाक्यांशले हामीले कस्तो जीवन बिताउनुपर्छ भन्‍ने होइन तर यहोवाले मानिससित कस्तो व्यवहार गर्नुहुन्छ, त्यसलाई संकेत गरिरहेको छ। परमेश्‍वरले मानिससित गर्ने व्यवहारको अर्थ निर्दोषहरूको निम्ति सुरक्षा हो भने दुष्टहरूको विनाश।

११:३१—ईश्‍वरहीनले कसरी धर्मीले भन्दा बढी प्रतिफल पाउँछ? यस पदमा बताइएको प्रतिफल धर्मी र ईश्‍वरहीन प्रत्येकले पाउने सजाय हो। धर्मीले गल्ती गर्दा पाउने प्रतिफल अनुशासन हो। ईश्‍वरहीनले जानाजानी पाप गर्छ र असल गर्न चाहँदैन। त्यसकारण, त्यसले पाउने प्रतिफल कडा दण्ड हो।

१२:२३—मानिसले कसरी “आफ्नो ज्ञान आफूसँगै राख्छ”? यहाँ, ज्ञान आफूसित राख्छ भन्‍नुको अर्थ, ज्ञान लुकाउनु भनेको होइन। यसको अर्थ आफूसित ज्ञान छ भनेर फूर्ति लगाउनु पनि होइन तर बुद्धिमान्‌ भई ज्ञान प्रकट गर्नु हो।

१८:१९—“किल्लाबन्दी गरिएको शहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु” किन “झन्‌ गाह्रो हो”? किल्लाबन्दी गरिएको शहरले सजिलै हार नस्वीकारेझैं चित्त दुखेको व्यक्‍तिले पनि सजिलै माफी दिंदैन। ऊ र उसलाई चित्त दुखाउने व्यक्‍तिबीचको शत्रुता “आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै” सजिलै हटाउन नसकिने हुन सक्छ।

हाम्रो लागि पाठ:

१०:११-१४. हाम्रो बोली प्रोत्साहनदायी होस्‌ भन्‍ने चाहन्छौं भने, हामीले आफ्नो मन सही ज्ञानले भर्नुपर्छ, हृदय प्रेमले भरिएको हुनुपर्छ र मुखबाट बुद्धिका कुरा निकाल्नुपर्छ।

१०:१९; १२:१८; १३:३; १५:२८; १७:२८. बोल्नुअघि विचार गर्नुपर्छ र बढ्‌ता बोल्नु हुँदैन।

११:१; १६:११; २०:१०, २३. व्यापारिक लेनदेनमा हामी इमानदार भएको यहोवा चाहनुहुन्छ।

११:४. व्यक्‍तिगत बाइबल अध्ययन गर्न, सभामा उपस्थित हुन, प्रार्थना गर्न अनि प्रचारमा जान छोडेर भौतिक सम्पत्ति थुपार्न व्यस्त हुनु मूर्खता हो।

१३:४. मण्डलीमा जिम्मेवारी लिन अथवा नयाँ संसारमा जीवन पाउन “लालसा” गरेर मात्र पुग्दैन। यसको लागि तोकिएका आवश्‍यकताहरू पूरा गर्न लगनशील भई अथक प्रयास गर्नै पर्छ।

१३:२४; २९:१५, २१. मायालु आमाबाबुले आफ्नो छोरा वा छोरीलाई ज्यादै पुलपुल्याउने वा उसको गल्तीलाई वास्तै नगर्ने गर्दैनन्‌। बरु, केटाकेटीको बानी नबिग्रोस्‌ भनेर नराम्रो बानी सुधार्न वा हटाउन आमाबाबुले तुरुन्तै कदम चालिहाल्छन्‌।

१४:१०. मनभित्रको गहिरो भावना ठ्याक्कै व्यक्‍त गर्न कहिलेकाहीं गाह्रो हुने र अक्सर अरूले पनि बुझ्न नसक्ने हुँदा अरूले दिने सान्त्वना सीमित हुन सक्छ। त्यसकारण, कुनै-कुनै कठिनाइ आइपर्दा सम्पूर्ण भरोसा यहोवामा राखेर धैर्य धारण गर्नुपर्ने हुन सक्छ।

१५:७. किसानले एकै ठाउँमा सबै बिऊ छर्दैन। त्यसै गरी, हामीले पनि आफूलाई थाह भएजति सबै कुरा अरूलाई एकैपटकमा बताइहाल्न हतार गर्नु हुँदैन। बुद्धिमान्‌ व्यक्‍तिले आवश्‍यकताअनुसार बिस्तारै-बिस्तारै आफ्नो ज्ञान छर्छ अर्थात्‌ फैलाउँछ।

१५:१५; १८:१४. हामी आशावादी अथवा सकारात्मक छौं भने संकष्टको बेला पनि आनन्दित हुन सक्नेछौं।

१७:२४. ‘मूर्खले’ आफ्नो आँखा र मन महत्त्वपूर्ण कुरामा लगाउँदैन। मूर्खजस्तो नभई बुद्धिमानीसाथ व्यवहार गर्न हामीले समझशक्‍ति खोज्नुपर्छ।

२३:६-८. आफ्नो स्वार्थ पूरा गर्न अतिथि सत्कार गर्नदेखि हामी एकदमै होसियार हुनुपर्छ।

२७:२१. हामी कस्ता मानिस हौं, प्रशंसा पाउँदा प्रस्ट हुन्छ। कसैले हाम्रो प्रशंसा गर्दा त्यसको श्रेय यहोवालाई दिन्छौं र निरन्तर उहाँको सेवा गर्न प्रोत्साहित हुन्छौं भने हामी नम्र छौं भनेर देखिन्छ। तर प्रशंसा पाउँदा आफूलाई श्रेष्ठ सम्झ्यौं भने हामी नम्र छैनौं भनेर देखिन्छ।

२७:२३-२७. गोठालोको जीवनसित तुलना गर्दै हितोपदेशका यी पदहरूले परिश्रमी भयौं भने सामान्य जीवनबाट पनि सन्तुष्टि पाउन सक्छौं भनेर प्रकाश पार्छ। यी पदहरूले परमेश्‍वरमाथि भर पर्नुपर्ने आवश्‍यकतालाई विशेष जोड दिन्छ। b

२८:५. प्रार्थना गरेर अनि बाइबल पढेर ‘यहोवालाई खोज्यौं’ भने उहाँलाई मन पर्ने तरिकामा उहाँको सेवा गर्न सबै कुरा “पूर्ण रूपले” बुझ्न सक्छौं।

प्रभावशाली वचन

(हितोपदेश ३०:१–३१:३१)

बाइबलको पुस्तक हितोपदेश दुइटा ‘नीतिवचनमा’ अर्थात्‌ प्रभावशाली वचन पुगेर समाप्त हुन्छ। (हितोपदेश ३०:१; ३१:१) लोभ कहिल्यै तृप्त पार्न सकिन्‍न र पुरुषले एउटी कन्यालाई फकाउने तरिकाहरू पनि पत्ता लगाउन सकिन्‍न भनेर बुझाउन आगूरले हामीलाई सोच्न बाध्य पार्ने तुलनाहरू प्रयोग गरेका छन्‌। c अध्याय ३० ले हामीलाई आत्म-प्रशंसा नगर्न र रीसको झोकमा नबोल्न पनि सतर्क गराउँछ।

लमूएललाई तिनकी आमाले दिएका प्रभावशाली वचनहरूमा दाखमद्य र मदिरा अर्थात्‌ जाँड-रक्सी पिउनेबारे अनि न्यायसँग फैसला गर्नेबारे उचित सल्लाह छन्‌। असल पत्नीको विवरण यी शब्दहरूमा टुंगिन्छ: “तिनले कमाएको इनाम तिनैलाई दिनू, र तिनका कामले शहरको मूल ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्‌।”—हितोपदेश ३१:३१.

बुद्धि प्राप्त गर्नुहोस्‌, अनुशासन स्वीकार्नुहोस्‌, यहोवाको डर मानिरहनुहोस्‌, यहोवामा भर पर्नुहोस्‌। हितोपदेशले सिकाउने पाठहरू कत्ति महत्त्वपूर्ण छन्‌! त्यसैले आउनुहोस्‌, यी सल्लाहहरू प्रयोग गर्ने अथक प्रयास गरौं र ‘यहोवाको भय’ मान्‍ने मानिसहरूले पाउने आनन्द अनुभव गरौं।—भजन ११२:१. (w 06 9/15)

[फुटनोटहरू]

a यस लेखमा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबलनयाँ संशोधित संस्करण-बाट उद्धृत गरिएका हुन्‌।

b द वाचटावर अगस्त १, १९९१, पृष्ठ ३१ हेर्नुहोस्‌।

c प्रहरीधरहरा अक्टोबर १, १९९२, पृष्ठ ३२ हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएका चित्रहरू]

सबै सही ज्ञानको स्रोत यहोवा हुनुहुन्छ

[पृष्ठ ७-मा भएको चित्र]

ज्ञान छर्नु अर्थात्‌ ‘फैलाउनुको’ अर्थ के हो?