आवरण लेख
विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू
“कानै टिन्न पार्ने गरी भएको विस्फोटले मेरो होसहवास नै उड्यो। चारैतिरबाट धुवाँ आइरहेको थियो र क्षणभरमै हाम्रो अफिस बिल्डिङमा हुरहुर आगो दन्कन थाल्यो।”—जोसुआ.
भूकम्प . . . आँधीबेहरी . . . आतङ्ककारी आक्रमण . . . विद्यालयमा गोली प्रहार। आजकल यी घटनाहरू पत्रपत्रिकाको मुख्य हेडलाइन बनेका छन्। विपत्तिबारे पढ्नु र आफै विपत्तिमा पर्नु बीच आकाश जमिनको फरक छ। आफू र आफ्नो परिवारलाई जोगाउन विपत्ति अघि, विपत्तिको दौडान र विपत्ति पछि तपाईं कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?
विपत्ति अघि—तयारी गर्नुहोस्!
विपत्ति कसमाथि पो आइपर्दैन र? त्यसैले विपत्ति आउँदा आफ्नो जीवन जोगाउने सबैभन्दा राम्रो तरिका पूर्व तयारी नै हो। त्यसोभए पूर्व तयारी कसरी गर्न सक्छौं?
-
मनको तयारी गर्नुहोस्। विपत्ति जुनसुकै बेला जुनसुकै ठाउँमा पनि आउन सक्छ। त्यसैले तपाईं र तपाईंको परिवारको ज्यान जोखिममा पर्न सक्छ भन्ने कुरा नबिर्सनुहोस्। विपत्ति आएपछि सोचौंला वा तयारी गरौंला नभन्नुहोस्।
-
विपत्तिबारे जानकारी लिनुहोस्। आफू बसेको ठाउँमा के-कस्ता विपत्ति आइपर्न सक्छन्, थाह पाउनुहोस्। विपत्तिको बेला जोगिन सक्ने सुरक्षित ठाउँ नजिकै कतै छ कि, याद गर्नुहोस्। आफ्नो घर अनि आफू बसेको ठाउँ कत्तिको सुरक्षित छ, पक्का गर्नुहोस्। आगलागी हुन सक्ने खतराहरू हटाउनुहोस्। जस्तै: लामखुट्टेको धूप, मैनबत्ती, सलाई, पेट्रोलियम पदार्थ जस्ता कुराहरू प्रयोग गर्दा होसियार हुनुहोस्। भान्छामा ग्यास वा चुलो बालेर अन्त नजानुहोस्।
-
आपत्कालीन अवस्थामा चाहिने सरसामान तयार पार्नुहोस्। विपत्ति पछि बिजुली, पानी, फोन, यातायात जस्ता कुराहरू बन्द हुन सक्छन्। त्यसैले तपाईंको आफ्नै सवारी साधन छ भने आधा ट्याङ्की जति डिजेल-पेट्रोल सधैं सञ्चय गरेर राख्नुहोस्। अनि पर्याप्त खानेकुरा, पिउने पानी र आपत्कालीन अवस्थामा चाहिने सरसामानहरू पनि तयार गर्नुहोस्।—“ के तपाईंसँग आवश्यक सरसामानहरू छ?” शीर्षकको पेटी हेर्नुहोस्।
-
फोन नम्बर सुरक्षित राख्नुहोस्। नजिकका र टाढाका साथीभाइहरूसँग सम्पर्कमा रहन तिनीहरूको फोन नम्बर सधैं आफूसँगै सुरक्षित राख्नुहोस्।
-
विपत्ति आयो भने सुरक्षित ठाउँसम्म कसरी भाग्ने योजना बनाउनुहोस् र पूर्व अभ्यास गर्नुहोस्। घरबाट सबैभन्दा छिटो निस्कन सकिने बाटो पत्ता लगाउनुहोस्। आफ्नो छोराछोरी पढ्ने विद्यालयले आपत्कालीन अवस्थामा सुरक्षित रहन कस्ता योजनाहरू बनाएको छ, पहिल्यै जानकारी लिनुहोस्। विपत्ति पछि परिवारसँगै कहाँ भेट्ने भन्ने कुरा पनि पक्का गर्नुहोस्। सायद नजिकैको स्कुल वा पार्क अनि अलि परको कुनै ठाउँ छान्न सक्नुहुन्छ। विशेषज्ञहरूले ती ठाउँसम्म जाने पूर्व अभ्यास गर्न सल्लाह दिन्छन्।
-
अरूलाई मदत गर्ने योजना बनाउनुहोस्। वृद्ध तथा अशक्तहरूलाई कसरी मदत गर्न सकिन्छ, पहिल्यै योजना बनाउनुहोस्।
विपत्तिको दौडान—तुरुन्तै कदम चाल्नुहोस्
सुरुमा उल्लेख गरिएको जोसुआ यसो भन्छन्, “आगो लाग्न सुरु हुँदा थुप्रै मानिस आलेटाले गर्दै थिए। कोही
कम्प्युटर बन्द गर्दै थिए अनि कोही भने बोतलमा पानी भर्दै थिए। एक जनाले त यस्तो पनि भने, ‘सायद हामीले केहीबेर कुर्नुपर्छ होला।’” अरूले आलेटाले गरेकोले जोसुआ यसो भन्दै कराए, “हामी तुरुन्तै यहाँबाट बाहिर निस्किहाल्नुपर्छ।” यो सुनेपछि सँगै काम गर्ने साथीहरू तुरुन्तै भाग्न थाले र जोसुआको पछि लागे। जोसुआले ठूलो स्वरमा भने, “कोही लड्यो भने उसलाई उठाऊ अनि भागिहाल। हामी जोगिन सक्छौं!”-
आगलागी हुँदा। आगलागी हुँदा प्रायः मानिसको मृत्यु धुवाँले निस्सासिएर हुने गर्दछ। धुवाँले गर्दा देख्न पनि गाह्रो हुन्छ। त्यसैले भुईंतिर निहुरिएर सबैभन्दा नजिकको बाटोबाट तुरुन्तै बाहिर निस्कनुहोस्। आफ्नो सरसामानहरू जहाँ छ त्यहीं छोडिदिनुहोस्। एक सेकेण्डले पनि तपाईंको जीवन जोगिन सक्छ।
-
भूकम्प आउँदा। बलियो फर्निचरमुनि लुक्नुहोस् अथवा कोठामा भित्ताको कुनातिर आड लिनुहोस्। कम्पनहरू आइरहन सक्छ। सकेसम्म छिटो घरबाट बाहिर खुल्ला ठाउँमा जानुहोस्। उद्धारकहरू आउन समय लाग्न सक्छ, त्यसैले सक्नुहुन्छ भने अरूको उद्धार गर्नुहोस्।
-
सुनामी आउँदा। सुनामी आउने छाँट देखियो भने तुरुन्तै अग्लो ठाउँमा जानुहोस्। अझै ठूला-ठूला छाल आउन सक्ने भएकोले होसियार हुनुहोस्।
-
आँधीबेहरी वा तुफानको बेलामा। नजिकैको सुरक्षित ठाउँमा तुरुन्तै जानुहोस्।
-
बाढी आउँदा। बाढीले प्रभावित घरहरूबाट परै बस्नुहोस्। बाढी आइरहेको बेलामा पानीमा हिंड्ने वा सवारी साधन चलाउने नगर्नुहोस्। बाढीले ल्याएको पानीमा ढल मिसिने र टुटेफुटेको टुक्राटाक्री हुने भएकोले खतरा हुन्छ। बिजुलीका पोलहरू ढल्न सक्छन् अनि ठाउँ ठाउँमा खाडलहरू पनि हुने भएकोले होसियार हुनु आवश्यक छ।
-
के तपाईंलाई थाह थियो? दुई फिट (०.६ मिटर) अग्लो पानीले कारलाई बगाउन सक्छ। बाढीमा सवारी साधन चलाउन खोज्दा थुप्रैले आफ्नो ज्यान गुमाउँछन्।
-
सरकारले ठाउँ खाली गर्ने वा छोड्ने निर्देशन दिएमा तुरुन्तै त्यो ठाउँ छोड्नुहोस्। आफू कहाँ अनि कस्तो अवस्थामा छु भनेर आफ्नो साथीहरूलाई खबर गर्नुहोस्। नत्र तिनीहरूले तपाईंलाई खोज्न आफ्नो ज्यान नै जोखिममा पार्न सक्छन्।
-
के तपाईंलाई थाह थियो? विपत्तिको दौडान फोनमा कुराकानी गर्नुभन्दा मेसेज पठाउनु अझै भरपर्दो हुन सक्छ।
-
सरकारले घर भित्रै बस्ने निर्देशन दिएमा भित्रै बस्नुहोस्। यदि रासायनिक, जैविक वा आणविक खतरा छ भने कोठाको झ्याल-ढोका ठप्प बन्द गर्नुहोस्। आणविक विकिरणको खतरा छ भने त्यसको असरबाट जोगिन सकेसम्म घरको सबैभन्दा तल अनि भित्रपट्टि जानुहोस्। टिभी वा रेडियोमा समाचारहरू सुन्नुहोस्। खतरा मुक्त नहोउन्जेल बाहिर ननिस्कनुहोस्।
विपत्ति पछि—सुरक्षित रहनुहोस्!
खतरा अनि रोगबिमारदेखि जोगिन तलका कुराहरूमा ध्यान दिनुहोस्:
-
साथीभाइसँगै बस्नुहोस्। पाल टाँगेर वा क्याम्पमा बस्नु भन्दा साथीभाइहरूको घरमा बस्नु राम्रो हुन्छ।
-
आफू बस्ने ठाउँको सरसफाइमा विशेष ध्यान दिनुहोस्।
-
सुरक्षा सामाग्री प्रयोग गर्नुहोस्। टुटेफुटेका टुक्राटुक्रीहरू सफा गर्दै हुनुहुन्छ भने आफ्नो सुरक्षामा ध्यान दिनुहोस्। पन्जा, बलियो जुत्ता, सुरक्षित हेल्मेट र मास्क लगाउनुहोस्। बिजुलीको तार अनि आगलागी हुने खतरादेखि होसियार हुनुहोस्।
-
आफ्नो दैनिक तालिकाअनुसार चल्नुहोस्। छोराछोरीलाई तपाईं निश्चिन्त र आशावादी भएको कुरामा विश्वस्त बनाउनुहोस्। छोराछोरीको स्कुलको गतिविधिमा चासो लिनुहोस्। परिवार सबै जना मिलेर कुनै खेल खेल्नुहोस् अनि प्रार्थना गर्नुहोस्। नराम्रो समाचारमा ध्यान नदिनुहोस्। आफ्नो रिस वा आक्रोश परिवारमाथि नपोखाउनुहोस्। अरूको मदत स्विकार्नुहोस् र अरूलाई पनि मदत गर्नुहोस्।
-
विपत्तिले गर्दा थुप्रै कुरा गुमाउनुपर्छ भनेर स्विकार्नुहोस्। सरकार र अरू राहत कार्यले गुमाएका कुराहरू फिर्ता दिने होइन बरु मानिसको जीवन जोगाउनलाई प्राथमिकता दिन्छ। बाँच्नको लागि गाँस, बास र कपास मात्र भए पनि पुग्छ।—१ तिमोथी ६:७, ८.
-
भावनात्मक असरहरूको सामना गर्न अरूको मदत लिनुहोस्। विपत्तिले लामो समयसम्म हामीलाई भावनात्मक रूपमा असर गर्न सक्छ। चिन्ता लाग्ने, डिप्रेसन हुने, मुड परिवर्तन हुने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। राम्ररी सोच्न, काम गर्न वा सुत्न पनि गाह्रो हुन सक्छ। यस्तो बेला आफ्नो नजिकको साथी वा परिवारको मदत लिनुहोस्।
अफिसमा आगलागी हुँदा जोसुआले आफ्नो ज्यान जोगाउन सके तर तिनका थुप्रै साथीले भने ज्यान गुमाए। मण्डलीका एल्डरहरूले र डाक्टरहरूले जोसुआलाई धेरै मदत गरे। जोसुआ भन्छन्, “उहाँहरूले मैले शोक गर्नु स्वाभाविक हो र मनको घाउ बिस्तारै निको हुँदै जान्छ भनेर बताउनुभयो। हुन पनि ६ महिनापछि मेरो डर अनि चिन्ता बिस्तारै कम हुँदै गयो। तर कुनै-कुनै असर भने धेरै समयसम्म रह्यो।”
विपत्तिले हाम्रो सोच्ने बुझ्ने क्षमतालाई असर गर्न सक्छ। त्यसकारण थुप्रैले सबै कुराको लागि परमेश्वरलाई दोष दिन्छन्। जोसुआले जस्तै थुप्रैले आफ्नै आँखाअगाडि साथीभाइ गुमाउनुपर्दा आफूलाई दोष दिन्छन्। जोसुआ भन्छन्: “अरू साथीहरूलाई बचाउन सक्थें कि भनेर अझै पनि सोच्ने गर्छु। छिट्टै परमेश्वरले पृथ्वीमा शासन गर्नुहुनेछ र सबै नराम्रा कुराहरू हटाउनुहुनेछ भन्ने कुराले सान्त्वना दिन्छ। त्यो समय नआउन्जेल म आफ्नो जीवनको हरेक पल अनमोल ठान्छु र जीवन जोगाउन हरेक प्रयास गर्छु।”—प्रकाश २१:४, ५. *
^ अनु. 33 अहिले दुःखकष्ट हुनुको कारण र परमेश्वरले भविष्यको लागि गर्नुभएको प्रतिज्ञाबारे थप जानकारी पाउनको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताब हेर्नुहोस्। यो किताब www.dan124.com/ne मा गएर डाउनलोड गर्न सक्नुहुन्छ।