सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?

के न्यायको लागि गरिएको पुकाराको सुनुवाइ हुनेछ?

 अन्याय जताततै छ। अन्यायपूर्ण तरिकामा जेल सजाय भोग्नुपरेको दुई वटा उदाहरण विचार गरौँ।

  •   सन्‌ २०१८ को जनवरीमा अमेरिकाको एउटा अदालतले झन्डै ३८ वर्ष जेल सजाय काटिसकेका एक पुरुषलाई रिहा गर्ने आदेश दियो। एउटा डिएनए रिपोर्टको आधारमा तिनी निर्दोष ठहरिए।

  •   सन्‌ १९९४ को सेप्टेम्बरमा अफ्रिकी मुलुकका तीन जना युवकलाई सैन्य सेवामा भर्ती हुन इन्कार गरेकोले जेलमा हालियो। सन्‌ २०२० को सेप्टेम्बरसम्ममा तिनीहरूले २६ वर्ष जेलमा बिताइसकेका थिए। तर अचम्मको कुरा, तिनीहरूविरुद्ध न कुनै मुद्दा दायर गरियो न त तिनीहरूलाई अदालतमा हाजिर नै गराइयो।

 तपाईँले पनि अन्याय भोग्नुभएको छ भने बाइबलकालीन समयका एक पुरुष अय्युबले जस्तै महसुस गर्नुभएको होला। तिनले यसो भने: “‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।” (अय्युब १९:७) हुनत अहिलेको समयमा न्याय पाउनु असम्भव जस्तो देखिएला तर न्यायको लागि गरिएको पुकाराको सुनवाइ हुने समय आउनेछ भनेर बाइबल प्रतिज्ञा गर्छ। साथै यसमा पाइने बुद्धिका कुराहरूले तपाईँलाई अहिले भोग्नुपरेको अन्यायको सामना गर्न मदत गर्छ।

अन्याय हुनुको कारण

 परमेश्‍वरको डोऱ्‍याइअनुसार नचल्ने मानिसहरूले अरूसित अन्यायपूर्ण व्यवहार गर्छन्‌। बाइबलले सही न्याय परमेश्‍वरले मात्र गर्न सक्नुहुन्छ भनी बताउँछ। (यसैया ५१:४) बाइबलमा “न्याय” र “धार्मिकता” भनेर अनुवाद गरिएका शब्दहरू आपसमा सम्बन्धित छन्‌। (भजन ३३:५) परमेश्‍वरको स्तरअनुसार सही र उचित काम गर्दा सही न्याय हुन्छ। तर परमेश्‍वरको धार्मिक स्तरविपरीत चल्दा भने अन्याय हुन्छ। केही उदाहरण विचार गर्नुहोस्‌।

  •   स्वार्थ। स्वार्थी इच्छा र पाप आपसमा सम्बन्धित छन्‌। (याकुब १:१४, १५) थुप्रै मानिस आफ्नो स्वार्थ पूरा गर्न अरूसित अन्यायपूर्ण व्यवहार गर्छन्‌ र तिनीहरूबाट नाजायज फाइदा उठाउँछन्‌। तर परमेश्‍वर हामीले आफ्नो भन्दा अरूको इच्छालाई पहिलो स्थानमा राखेको चाहनुहुन्छ।—१ कोरिन्थी १०:२४.

  •   अज्ञानता। कतिपयले चाहिँ चालै नपाई अरूसित अन्यायपूर्ण व्यवहार गर्ने गर्छन्‌। तर त्यस्तो व्यवहार पनि परमेश्‍वरको नजरमा पाप नै हो। (रोमी १०:३) वास्तवमा अज्ञानताले गर्दा नै इतिहासको सबैभन्दा ठूलो अन्याय हुन पुगेको थियो। त्यो हो, येसु ख्रिष्टको मृत्युदण्ड।—प्रेषित ३:१५, १७.

  •   असफल मानव प्रणालीहरू। सैद्धान्तिक रूपमा संसारका राजनैतिक, व्यापारिक र धार्मिक प्रणालीले सबैसित निष्पक्ष र समान व्यवहार गर्नुपर्ने हो। तर यथार्थमा यी प्रणालीहरू नै अक्सर गल्ती, भ्रष्टाचार, पूर्वाग्रह, लोभ, चरम आर्थिक असमानता र असहिष्णुताका मूल जड हुन्‌ र यस्ता कुराहरूले अन्याय निम्त्याउँछ। केही मानिसले असलै मनसाय राखेर यस्ता प्रणालीहरूलाई समर्थन गर्छन्‌। तर तिनीहरूले जति नै प्रयास गरे तापनि परमेश्‍वरको डोऱ्‍याइलाई बेवास्ता गरेकोले सफल हुन सक्दैनन्‌।—उपदेशक ८:९; यर्मिया १०:२३.

अन्याय देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

 परमेश्‍वर अन्याय अनि अन्यायलाई बढावा दिने मनोवृत्ति र कामलाई घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६-१८) उहाँले भविष्यवक्‍ता यसैयालाई यस्तो लेख्न उत्प्रेरित गर्नुभयो: “म यहोवा a न्यायलाई प्रेम गर्छु; लुटपाट र अन्यायलाई म घृणा गर्छु।”—यसैया ६१:८.

 परमेश्‍वरले प्राचीन इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाले उहाँ तिनीहरूले अरूसित न्यायसङ्‌गत व्यवहार गरेको चाहनुहुन्थ्यो भनेर देखाउँछ। उहाँले इस्राएलका न्यायकर्ताहरूलाई घुस नखान र न्याय बङ्‌ग्याउने कुनै पनि काम नगर्न आज्ञा दिनुभयो। (व्यवस्था १६:१८-२०) साथै उहाँले गरिब र दीनदुःखीहरूको नाजायज फाइदा उठाएर उहाँको आज्ञा तोड्‌ने इस्राएलीहरूलाई हप्काउनुभयो। तिनीहरूले बारम्बार उहाँका स्तरहरू बेवास्ता गरेकोले अन्ततः उहाँले तिनीहरूलाई त्याग्नुभयो।—यसैया १०:१-३.

के परमेश्‍वरले अन्याय हटाउनुहुनेछ?

 पक्कै हटाउनुहुनेछ। उहाँले येसु ख्रिष्टमार्फत अन्यायको मूल जड पापलाई हटाउनुहुनेछ अनि मानिसजातिलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। (युहन्‍ना १:२९; रोमी ६:२३) उहाँले एउटा राज्य स्थापना गर्नुभएको छ अनि त्यसले न्यायले बास गर्ने नयाँ संसार ल्याउनेछ। साथै त्यस राज्यको राजाले न्यायसित शासन गर्नेछ। (यसैया ३२:१; २ पत्रुस ३:१३) स्वर्गको यस राज्यबारे थप कुरा बुझ्न परमेश्‍वरको राज्य के हो? भिडियो हेर्नुहोस्‌।

न्यायले बास गर्ने नयाँ संसारमा जीवन कस्तो हुनेछ?

 पृथ्वीमा न्याय स्थापना भएपछि सबैले शान्ति र सुरक्षा अनुभव गर्नेछन्‌। (यसैया ३२:१६-१८) परमेश्‍वरको नजरमा सबै मानिस बराबर भएकोले त्यतिबेला सबैसित निष्पक्ष व्यवहार गरिनेछ। अन्यायले गर्दा भोग्नुपरेको शोक, रुवाइ र पीडा सबै हट्‌नेछ, यहाँसम्म कि विगतमा भोग्नुपरेको अन्यायको तीतो सम्झना पनि बिस्तारै हराउँदै जानेछ। (यसैया ६५:१७; प्रकाश २१:३, ४) थप जानकारीको लागि “ईश्‍वरको राज्यले के गर्नेछ?” लेख हेर्नुहोस्‌।

के तपाईँ अन्याय नहुने संसारबारे परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गर्न सक्नुहुन्छ?

 पक्कै सक्नुहुन्छ। बाइबल ऐतिहासिक र वैज्ञानिक रूपमा सही छ र यसका भविष्यवाणीहरू भरपर्दा छन्‌। साथै यसमा लेखिएका कुराहरू आपसमा मेल खान्छ। यी कुराहरू विचार गर्दा तपाईँ बाइबलका प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्नुहुन्छ। निम्न भिडियो तथा लेखहरूमा थप जानकारी पाउन सक्नुहुन्छ:

के हामी अन्यायविरुद्ध लड्‌नुपर्छ?

 बाइबलकालीन समयका असल मानिसहरूले अन्यायपूर्ण व्यवहार सहेर बसेनन्‌। उदाहरणको लागि, प्रेषित पावललाई झूटो आरोपमा अदालतसामु खडा गराइएको थियो र त्यसको अन्तिम नतिजा मृत्युदण्ड पनि हुन सक्थ्यो। तर तिनी चुपचाप अन्याय सहेर बसेनन्‌ बरु आफ्नो कानुनी अधिकार प्रयोग गर्दै सिजरलाई अपिल गरे।—प्रेषित २५:८-१२.

 दुःखको कुरा, मानिसहरूले संसारबाट पूर्ण रूपमा अन्याय हटाउन गरेको प्रयास सफल भएको छैन। (उपदेशक १:१५) तर न्यायले बास गर्ने नयाँ संसारबारे परमेश्‍वरको प्रतिज्ञामा विश्‍वास गर्दा अहिले अन्याय भोगिरहेका थुप्रै मानिसले मनोशान्ति पाएका छन्‌।

a परमेश्‍वरको नाम यहोवा हो।—भजन ८३:१८.