सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ०३

के तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ?

के तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ?

बाइबलमा धेरै प्रतिज्ञा र सल्लाह पाइन्छ। तपाईँ बाइबलले के सिकाउँछ भनेर जान्‍न उत्सुक हुनुहुन्छ होला। तर तपाईँलाई बाइबलले सिकाउने कुरामा विश्‍वास गर्न गाह्रो पनि लाग्छ होला। के तपाईँ यस्तो पुरानो किताबमा भएका प्रतिज्ञाहरू र सल्लाहहरूमा भरोसा गर्न सक्नुहुन्छ? के तपाईँ अहिले र भविष्यमा आनन्दित जीवन बिताउने विषयमा बाइबलले बताएको कुरामा विश्‍वास गर्न सक्नुहुन्छ? लाखौँ मानिसले विश्‍वास गर्न सकेका छन्‌। तपाईँ पनि विश्‍वास गर्न सक्नुहुन्छ कि सक्नुहुन्‍न, केलाऔँ।

१. बाइबलमा लेखिएका कुराहरू वास्तविक हुन्‌ कि काल्पनिक?

बाइबलले यसमा “सत्य कुराहरू” लेखिएका छन्‌ भनेर दाबी गर्छ। (उपदेशक १२:१०) यसमा उल्लेख गरिएका मानिसहरू वास्तविक हुन्‌ अनि तिनीहरूसित सम्बन्धित घटनाहरू पनि वास्तविक हुन्‌। (लुका १:३; ३:१, २ पढ्‌नुहोस्‌।) धेरै इतिहासकार र पुरातत्त्वविद्‌ले (प्राचीन समयका वस्तुहरूको अध्ययन गर्ने व्यक्‍ति) बाइबलमा भएका खास-खास मितिहरू, मानिसहरू, ठाउँहरू र घटनाहरू सही हुन्‌ भनेर पुष्टि गरेका छन्‌।

२. बाइबल पुरानो किताब भए पनि यो किन भरपर्दो छ?

मानिसहरूले धेरै पछि मात्र पत्ता लगाएका तथ्यहरू बाइबलमा पहिल्यै लेखिएका थिए। उदाहरणको लागि, यसमा विज्ञानसित सम्बन्धित कुराहरूबारे लेखिएको छ। यी कुराहरू बाइबल लेखिएको समयका थुप्रै मानिसले विश्‍वास गर्ने कुराभन्दा बिलकुलै फरक थिए। तर आधुनिक विज्ञानले बाइबलमा भएका कुराहरू सही छन्‌ भनेर पुष्टि गरेको छ। बाइबलमा लेखिएका कुराहरू “सधैँ भरपर्दा छन्‌, अहिले र सदासर्वदा।”भजन १११:८.

३. बाइबलले भविष्यबारे बताएको कुरामा हामी किन विश्‍वास गर्न सक्छौँ?

“पहिला कहिल्यै नभएका कुराहरू”-बारे बाइबलमा भविष्यवाणी a गरिएको छ। (यसैया ४६:१०) थुप्रै ऐतिहासिक घटना घट्‌नुभन्दा धेरैअघि बाइबलमा तीबारे भविष्यवाणी गरिएको थियो, जुन पछि गएर ठ्याक्कै पूरा भयो। यसमा अहिलेको संसारको अवस्थाबारे पनि विस्तृत रूपमा बताइएको छ। यस पाठमा हामी बाइबलका केही भविष्यवाणी केलाउनेछौँ। ती भविष्यवाणीहरूको एकएक कुरा पूरा हुनु अचम्मलाग्दो छ।

अझ खोतल्नुहोस्‌

आधुनिक विज्ञान बाइबलसित कसरी मेल खान्छ, जाँच्नुहोस्‌। साथै बाइबलमा भएका केही उल्लेखनीय भविष्यवाणी केलाउनुहोस्‌।

४. बाइबल विज्ञानसित मेल खान्छ

प्राचीन समयका धेरैजसो मानिसले पृथ्वी कुनै कुरामा अडिएको छ भनेर विश्‍वास गर्थे। भिडियो हेर्नुहोस्‌

लगभग ३ हजार ५ सय वर्षअघि अय्युबको किताबमा लेखिएको कुरा याद गर्नुहोस्‌। अय्युब २६:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अय्युबको किताबमा “पृथ्वी कुनै आडविना झुन्डिरहेको छ” भनेर उल्लेख गरिनु किन अचम्मलाग्दो छ?

मानिसहरूले जलचक्रबारे बुझेको लगभग २०० वर्ष मात्र भयो। तर बाइबलमा यसबारे लगभग ३ हजार ५ सय वर्षअघि लेखिएको कुरा याद गर्नुहोस्‌। अय्युब ३६:२७, २८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अय्युबको किताबमा जलचक्रबारे बताइएको कुरा तपाईँलाई किन रोचक लाग्यो?

  • तपाईँले भर्खरै पढ्‌नुभएका पदहरूले बाइबलमाथिको तपाईँको भरोसा कसरी बढायो?

५. बाइबलमा महत्त्वपूर्ण घटनाहरूबारे भविष्यवाणी गरिएको थियो

यसैया ४४:२७–४५:२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • बेबिलोन पतन हुनुभन्दा २०० वर्षअघि बाइबलमा त्यसबारे कस्तो भविष्यवाणी गरिएको थियो?

फारसको राजा कोरेस र तिनको सेनाले ईसापूर्व b ५३९ मा बेबिलोन सहर कब्जा गरे भनेर इतिहासले पुष्टि गर्छ। सहरलाई सुरक्षित राखेको नदीलाई तिनीहरूले अन्तै मोडिदिए। खुल्लै राखिएको ढोकाबाट तिनीहरू सहरभित्र पसे अनि युद्ध नलडीकनै त्यसलाई कब्जा गरे। त्यो घटना घटेको २ हजार ५ सयभन्दा धेरै वर्ष भइसक्यो। तर अहिले पनि बेबिलोन सहर उजाड अवस्थामै छ। त्यसबारे बाइबलमा गरिएको भविष्यवाणी केलाउनुहोस्‌।

यसैया १३:१९, २० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • बेबिलोनबारे गरिएको यो भविष्यवाणी कसरी पूरा भयो?

अहिले इराकमा उजाड अवस्थामा रहेको बेबिलोन

६. हामीले अहिले देखिरहेका कुराहरूबारे बाइबलमा भविष्यवाणी गरिएको थियो

बाइबलमा हामी बाँचिरहेको समयलाई “अन्तको दिन” भनिएको छ। (२ तिमोथि ३:१) अहिलेको समयबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो, याद गर्नुहोस्‌।

मत्ति २४:६, ७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • अन्तको दिनमा घट्‌ने कस्ता उल्लेखनीय घटनाहरूबारे बाइबलमा भविष्यवाणी गरिएको थियो?

दोस्रो तिमोथि ३:१-५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अन्तको दिनमा प्रायजसो मानिसमा हुने कस्ता नराम्रा गुणहरूबारे बाइबलमा भविष्यवाणी गरिएको थियो?

  • तपाईँले यीमध्ये कस्ता नराम्रा गुणहरू याद गर्नुभएको छ?

कोही-कोही भन्छन्‌: “बाइबल काल्पनिक कथाहरू र दन्त्यकथाहरूले भरिएको किताब हो।”

  • तपाईँलाई बाइबलमा भरोसा गर्न सकिने सबैभन्दा बलियो आधार के हो जस्तो लाग्छ?

सारांश

इतिहास, विज्ञान र भविष्यवाणीले तपाईँ बाइबलमा भरोसा गर्न सक्नुहुन्छ भनेर देखाउँछ।

तपाईँले के सिक्नुभयो?

  • बाइबलमा लेखिएका कुराहरू वास्तविक हुन्‌ कि काल्पनिक?

  • बाइबल विज्ञानसित मेल खान्छ भनेर देखाउने केही उदाहरण के-के हुन्‌?

  • के तपाईँलाई बाइबलले भविष्यबारे बताउँछ जस्तो लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

के बाइबलमा विज्ञानसित मेल नखाने कुराहरू छन्‌?

“के बाइबल विज्ञानसित मेल खान्छ?” (jw.org को लेख)

हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनेर कुन कुराले देखाउँछ?

“अहिले पूरा भइरहेका बाइबलका ६ वटा भविष्यवाणी” (प्रहरीधरहरा, मे १, २०११)

ग्रीक साम्राज्यबारे बाइबलमा गरिएका भविष्यवाणीहरू कसरी पूरा भए, थाह पाउनुहोस्‌।

‘भविष्यसूचक वचनद्वारा’ सुदृढ (५:२२)

बाइबलका भविष्यवाणीहरूको अध्ययन गर्दा एक जना मानिसको बाइबलप्रतिको दृष्टिकोणमा कस्तो परिवर्तन आयो, थाह पाउनुहोस्‌।

“मलाई परमेश्‍वर छैन जस्तो लाग्थ्यो” (प्रहरीधरहरा सङ्‌ख्या ५ २०१७)

a भविष्यवाणीमा भविष्यमा घट्‌ने घटनाहरूबारे परमेश्‍वरको सन्देश समावेश छ।

b “ईसापूर्व”-ले येसु पृथ्वीमा आउनुभन्दा अघिको समयलाई र “इस्वी संवत्‌”-ले त्यसपछिको समयलाई जनाउँछ।