सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४३

ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

ख्रिष्टियनहरूले रक्सीप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

रक्सीप्रति संसारभरिका मानिसहरूको भिन्‍नाभिन्‍नै धारणा छ। कसै-कसैलाई आफ्ना साथीहरूसित कहिलेकाहीँ रक्सी पिउन रमाइलो लाग्छ। कतिपयले भने रक्सी पटक्कै नपिउने निर्णय गर्छन्‌। अरू कोही भने मात्तिने गरी पिउँछन्‌। बाइबलले रक्सीप्रति कस्तो दृष्टिकोण राख्छ?

१. के रक्सी पिउनु गलत हो?

बाइबलले रक्सी पिउनु गलत हो भनेर बताउँदैन। बरु ‘मद्यले मानिसको हृदयलाई प्रसन्‍न पार्छ’ भनेर बाइबलमा बताइएको छ र यो परमेश्‍वरले हामीलाई दिनुभएका थुप्रै उपहारमध्ये एक हो। (भजन १०४:१४, १५) केही वफादार पुरुष तथा स्त्रीले रक्सी पिएको विवरण बाइबलमा पाइन्छ।—१ तिमोथि ५:२३.

२. बाइबलले रक्सी पिउने निर्णय गर्नेहरूलाई कस्तो सल्लाह दिन्छ?

रक्सी पिएर मात्तिएको जस्तो नदेखिए तापनि अत्यधिक मद्यपान गर्नुलाई यहोवा गलत ठान्‍नुहुन्छ। (गलाती ५:२१) उहाँको वचनले भन्छ: “रक्सी धेरै पिउने मानिसहरूको सङ्‌गत नगर।” (हितोपदेश २३:२०) त्यसैले यदि हामी रक्सी पिउने निर्णय गर्छौँ भने राम्ररी सोचविचारै गर्न नसक्ने, आफ्नो बोली र व्यवहारलाई काबूमा राख्न नसक्ने वा स्वास्थ्यमा हानि पुग्ने हदसम्म धेरै रक्सी पिउनु हुँदैन। यो कुरा चाहे हामी एक्लै पिउँदा होस्‌ या अरूसित, दुवै अवस्थामा लागू हुन्छ। यदि हामी रक्सी पिउने सन्दर्भमा सीमा तोक्न सक्दैनौँ भने पिउँदै नपिउने निर्णय गर्न तयार हुनुपर्छ।

३. रक्सी पिउने सन्दर्भमा अरूको निर्णयको हामी कसरी कदर गर्न सक्छौँ?

रक्सी पिउने कि नपिउने भनेर प्रत्येकले आफै निर्णय गर्नुपर्छ। यदि कसैले ठिक्क मात्रामा रक्सी पिउने छनौट गर्छन्‌ भने हामीले तिनको आलोचना गर्नु हुँदैन। त्यसैगरि कोही रक्सी पिउन चाहँदैनन्‌ भने हामीले तिनलाई कर गर्नु हुँदैन। (रोमी १४:१०) हामीले रक्सी पिउँदा अरूलाई नकारात्मक असर पर्छ भने हामी रक्सी नपिउने छनौट गर्छौँ। (रोमी १४:२१ पढ्‌नुहोस्‌।) हामी “आफ्नो होइन तर अर्को मानिसको फाइदा” खोज्छौँ।—१ कोरिन्थी १०:२३, २४ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

रक्सी पिउने कि नपिउने अनि पिउने हो भने कति पिउने भनेर निर्णय गर्न मदत दिने बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्‌। साथै तपाईँलाई रक्सीको लत लागेको छ भने के गर्न सक्नुहुन्छ, बुझ्नुहोस्‌।

४. रक्सी पिउने कि नपिउने भनेर निर्णय गर्नुहोस्‌

येसुले रक्सी पिउनुलाई कस्तो दृष्टिकोणले हेर्नुभयो? यसको जवाफ पाउन उहाँले गर्नुभएको पहिलो चमत्कार विचार गर्नुहोस्‌। युहन्‍ना २:१-११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस चमत्कारबाट रक्सी र रक्सी पिउनेहरूप्रति येसुको दृष्टिकोणबारे हामी के सिक्न सक्छौँ?

  • येसुले रक्सी पिउनु गलत हो भन्‍नुभएन। त्यसैले रक्सी पिउन छनौट गर्ने व्यक्‍तिप्रति ख्रिष्टियनले कस्तो दृष्टिकोण राख्नुपर्छ?

हुनत ख्रिष्टियनहरू रक्सी पिउने निर्णय गर्न स्वतन्त्र छन्‌ तैपनि कुनै-कुनै अवस्थामा रक्सी नपिउने निर्णय गर्नु नै बुद्धिमानी हुन्छ। हितोपदेश २२:३ पढ्‌नुहोस्‌। त्यसपछि तल दिइएका अवस्थाहरूले तपाईँको निर्णयमा कस्तो असर पार्न सक्छ, विचार गर्नुहोस्‌:

  • तपाईँ सवारीसाधन वा कुनै मेसिन चलाउन लाग्नुभएको छ।

  • तपाईँ गर्भवती हुनुहुन्छ।

  • डाक्टरले तपाईँलाई रक्सी नपिउन सल्लाह दिएका छन्‌।

  • तपाईँ कति रक्सी पिउने भनेर आफूलाई नियन्त्रणमा राख्न सक्नुहुन्‍न।

  • कानुनले तपाईँलाई रक्सी पिउन निषेध गरेको छ।

  • तपाईँसँगै भएको व्यक्‍तिले रक्सी नपिउने निर्णय गरेका छन्‌ किनभने विगतमा तिनले धेरै रक्सी पिउने समस्यासित सङ्‌घर्ष गरेका थिए।

कुनै विवाह भोज वा सामाजिक जमघटमा रक्सी राख्ने कि नराख्ने भनेर निर्णय गर्नुपर्दा तपाईँ के गर्न सक्नुहुन्छ? यस सन्दर्भमा मदतको लागि भिडियो हेर्नुहोस्‌

रोमी १३:१३ १ कोरिन्थी १०:३१, ३२ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यो सिद्धान्त लागू गर्दा तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णय गर्न सक्नुहुन्छ?

रक्सी पिउने कि नपिउने भनेर प्रत्येक ख्रिष्टियनले आफै निर्णय गर्नुपर्छ। तिनले कहिलेकाहीँ रक्सी पिए पनि अरू बेलाचाहिँ नपिउने छनौट गर्न सक्छन्‌

५. कति पिउने भनेर निर्णय गर्नुहोस्‌

यदि तपाईँले रक्सी पिउने निर्णय गर्नुहुन्छ भने यो कुरा याद राख्नुहोस्‌: यहोवा रक्सी पिउनुलाई गलत ठान्‍नुहुन्‍न तर धेरै रक्सी पिउनुलाई चाहिँ गलत ठान्‍नुहुन्छ। किन? होसे ४:११, १८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • धेरै रक्सी पिउँदा के हुन सक्छ?

धेरै रक्सी नपिउन हामीलाई कुन कुराले मदत गर्न सक्छ? हामी मर्यादामा रहनुपर्छ अर्थात्‌ आफ्नो सीमितता बुझ्नुपर्छ। हितोपदेश ११:२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • कति रक्सी पिउने भनेर तपाईँले स्पष्ट सीमा तोक्नु किन बुद्धिमानी हो?

६. रक्सीको लत त्याग्नुहोस्‌

एक जना पुरुषलाई रक्सीको लत त्याग्न कुन कुराले मदत गऱ्‍यो, थाह पाउनुहोस्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएका डिमीट्रिले रक्सी पिएपछि कस्तो व्यवहार गर्थे?

  • के तिनले रक्सी पिउन चटक्कै छोड्‌न सके?

  • पछि तिनले कसरी रक्सीको लत त्याग्न सके?

पहिलो कोरिन्थी ६:१०, ११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अत्यधिक मद्यपानबारे बाइबलले के भन्छ?

  • रक्सीको लत लागेको व्यक्‍ति परिवर्तन हुन सक्छ भनेर हामी किन भन्‍न सक्छौँ?

मत्ति ५:३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • एउटा हात काटेर फाल्नु भन्‍ने उदाहरणले यहोवालाई खुसी पार्न कुनै कुरा त्याग्नुपर्ने हुन सक्छ भनेर बुझाउँछ। यदि तपाईँ रक्सीको लत त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? a

पहिलो कोरिन्थी १५:३३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • धेरै रक्सी पिउने व्यक्‍तिहरूसित सङ्‌गत गर्दा त्यसले तपाईँमा कस्तो असर पार्न सक्छ?

कसै-कसैले सोध्लान्‌: “के रक्सी पिउनु गलत हो?”

  • तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

सारांश

यहोवाले हाम्रो आनन्दको लागि दिनुभएको एउटा उपहार रक्सी हो। तर रक्सी पिएर मात्तिएको जस्तो नदेखिए तापनि अत्यधिक मद्यपान गर्नुलाई यहोवा गलत ठान्‍नुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • बाइबलले रक्सीप्रति कस्तो दृष्टिकोण राख्छ?

  • धेरै रक्सी पिउँदा कस्ता खतरा हुन्छन्‌?

  • रक्सी पिउने सन्दर्भमा अरूको निर्णयको हामी कसरी कदर गर्न सक्छौँ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

रक्सी पिउने सन्दर्भमा किशोरकिशोरीले कसरी सही निर्णय गर्न सक्छन्‌?

रक्सी पिउनुअघि सोच्नुहोस्‌ (२:३१)

रक्सीको लत त्याग्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“रक्सीलाई त्यसकै ठाउँमा राख्नुहोस्‌” (प्रहरीधरहरा, फेब्रुअरी १, २०१०)

के ख्रिष्टियनहरूले चियर्स गर्नु उचित हो?

“पाठकहरूका प्रश्‍नहरू” (प्रहरीधरहरा, फेब्रुअरी १५, २००७)

एक जना पुरुषले कसरी धेरै रक्सी पिउन छोडे भनेर थाह पाउन “म कहिल्यै नभरिने घ्याम्पो थिएँ” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, मे १, २०१२)

a रक्सीको लतमा फसेकाहरूलाई त्यस्तो लत त्याग्न डाक्टरको मदत चाहिन सक्छ। धेरैजसो डाक्टरले विगतमा रक्सीको लत त्याग्न सङ्‌घर्ष गरेकाहरूलाई रक्सी पटक्कै नपिउन सल्लाह दिन्छन्‌।