सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २८

यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउनुहोस्‌

यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउनुहोस्‌

साथीबाट एउटा सुन्दर उपहार पाउँदा तपाईँलाई कस्तो लाग्छ? तपाईँलाई एकदमै खुसी लाग्छ होला अनि त्यो उपहार दिएकोमा साथीलाई कृतज्ञता देखाउन चाहनुहुन्छ होला। यहोवा र येसुले हामीलाई सबैभन्दा उत्तम उपहार दिनुभएको छ। त्यो उपहार के हो? त्यसको लागि हामी कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?

१. यहोवा र येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउने एउटा तरिका के हो?

“[येसुमाथि] विश्‍वास गर्ने” सबैले अनन्त जीवन पाउन सक्छन्‌ भनेर बाइबलले प्रतिज्ञा गर्छ। (युहन्‍ना ३:१६) विश्‍वास गर्नु भनेको के हो? यसको मतलब येसुलाई स्विकार्नु मात्र होइन। हामीले आफ्नो छनौट र कामबाट विश्‍वास देखाउनुपर्छ। (याकुब २:१७) आफ्नो काम र बोलीद्वारा विश्‍वास देखाउँदा हामीले येसु र उहाँको बुबासितको मित्रतालाई बलियो बनाइरहेका हुन्छौँ।—युहन्‍ना १४:२१ पढ्‌नुहोस्‌।

२. यहोवा र येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउने एउटा विशेष उत्सव कुन हो?

येसुले आफ्नो मृत्युको अघिल्लो साँझ चेलाहरूलाई उहाँको बलिदानप्रति कृतज्ञता देखाउने अर्को तरिकाबारे बताउनुभयो। उहाँले एउटा विशेष उत्सवको स्थापना गर्नुभयो, जसलाई बाइबलमा “प्रभुको साँझको भोज” भनिएको छ। (१ कोरिन्थी ११:२०) यसलाई ख्रिष्टको मृत्युको स्मरणार्थ उत्सव पनि भनिन्छ। येसुले यो उत्सव किन स्थापना गर्नुभयो? किनभने उहाँले हाम्रो लागि जीवन दिनुभएको कुरा प्रेषितहरू र तिनीहरूपछिका सबै साँचो ख्रिष्टियनले सम्झिरहेको उहाँ चाहनुहुन्थ्यो। त्यसैले उहाँले यो आज्ञा दिनुभयो: “मेरो सम्झनामा यो गर्ने गर।” (लुका २२:१९) तपाईँ स्मरणार्थ उत्सवमा उपस्थित हुँदा यहोवा र येसुले हामीलाई गर्नुभएको अपार प्रेमप्रति कृतज्ञता देखाइरहनुभएको हुनेछ।

अझ खोतल्नुहोस्‌

यहोवा र येसुले हामीलाई गर्नुभएको अपार प्रेमप्रति कृतज्ञता देखाउने अरू तरिका केलाउनुहोस्‌। ख्रिष्टको मृत्युको स्मरणार्थको महत्त्व बुझ्नुहोस्‌।

३. कृतज्ञताले हामीलाई कदम चाल्न उत्प्रेरित गर्छ

कल्पना गर्नुहोस्‌, तपाईँ पानीमा डुब्नै लाग्दा कसैले तपाईँलाई बचायो। के तपाईँ त्यो कुरा सजिलै बिर्सनुहुन्छ र? अथवा उसले तपाईँको लागि जे गरिदियो, त्यसको लागि कसरी कृतज्ञता देखाउन सकिन्छ भनेर सोच्नुहुन्छ?

यहोवाले गर्दा नै हामीले जीवन पाएका हौँ। पहिलो युहन्‍ना ४:८-१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • येसुको बलिदान किन एउटा अनमोल उपहार हो?

  • यहोवा र येसुले तपाईँलाई दिनुभएको त्यस उपहारबारे सोच्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?

यहोवा र येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कसरी कृतज्ञता देखाउन सक्छौँ? दोस्रो कोरिन्थी ५:१५ र १ युहन्‍ना ४:११; ५:३ पढ्‌नुहोस्‌। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यस बाइबल पदअनुसार कृतज्ञता देखाउन हामी के गर्न सक्छौँ?

४. येसुको अनुकरण गर्नुहोस्‌

हामीले कृतज्ञता देखाउन सक्ने अर्को तरिका येसुको अनुकरण गरेर हो। पहिलो पत्रुस २:२१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ येसुको पाइला राम्ररी पछ्याउन के-के गर्न सक्नुहुन्छ?

५. ख्रिष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुनुहोस्‌

प्रभुको साँझको भोज पहिलो चोटि कसरी मनाइएको थियो भनेर थाह पाउन लुका २२:१४, १९, २० पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • प्रभुको साँझको भोज कसरी मनाइयो?

  • रोटी र दाखमद्य कुन-कुन कुराका प्रतीक हुन्‌?—पद १९ र २० हेर्नुहोस्‌।

येसु आफ्नो मृत्युको वार्षिकीमा चेलाहरूले स्मरणार्थ उत्सव मनाएको चाहनुहुन्थ्यो। त्यसैले यहोवाका साक्षीहरू येसुले आज्ञा गर्नुभएझैँ उहाँको मृत्युको सम्झना गर्न हरेक वर्ष एकसाथ भेला हुन्छन्‌। यस महत्त्वपूर्ण सभाबारे अझ धेरै थाह पाउन भिडियो हेर्नुहोस्‌ त्यसपछि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • स्मरणार्थ उत्सवमा के-के हुन्छ?

रोटी र दाखमद्य प्रतीकहरू हुन्‌। रोटीले येसुले हाम्रो लागि बलिदान चढाउनुभएको त्रुटिरहित मानव शरीरलाई अनि दाखमद्यले उहाँको रगतलाई सङ्‌केत गर्छ

कोही-कोही भन्छन्‌: “उद्धार पाउन येसुमाथि विश्‍वास गरे पुगिहाल्छ नि।”

सारांश

येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउन उहाँमाथि विश्‍वास गर्छौँ र उहाँको मृत्युको स्मरणार्थमा उपस्थित हुन्छौँ।

तपाईँले के सिक्नुभयो?

  • येसुमाथि विश्‍वास गर्नुको अर्थ के हो?

  • यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कसरी कृतज्ञता देखाउन चाहनुहुन्छ?

  • ख्रिष्टको मृत्युको स्मरणार्थमा उपस्थित हुनु किन एकदमै महत्त्वपूर्ण छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

ख्रिष्टको मृत्युले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

उहाँले यहोवाको महिमा गर्न आफ्नो शरीर प्रयोग गर्नुभयो (९:२८)

विश्‍वास के हो र विश्‍वास गरेको कसरी देखाउन सक्छौँ, यसबारे अझ धेरै कुरा सिक्नुहोस्‌।

“यहोवाका प्रतिज्ञाहरूमा विश्‍वास गर्नुहोस्‌” (प्रहरीधरहरा, अक्टोबर २०१६)

एउटी स्त्रीले ख्रिष्टको बलिदानबारे सिकेपछि कस्तो महसुस गरिन्‌ भनेर थाह पाउन “म अहिले साँच्चै स्वच्छ, जीवित र पूर्ण भएकी छु” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, अगस्त १, २०११)

स्मरणार्थ उत्सवमा किन थोरैले मात्र प्रतीकहरू खान्छन्‌, बुझ्नुहोस्‌।

“यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?” (jw.org को लेख)